युवराज मैनालीका तीन लघुकथा

१) घरको भूत
आज बिहान पोखरा उपत्यकाको एक सानो गाउँमा अनौठो घटनाको आरम्भ भयो । गाउँको पुरानो घरको आँगनमा रहेको प्राचीन पोखरीको छेउमा एक पुरानो दराज खोलियो । त्यहाँ एउटा घण्टी र एउटा पुरानो कागजको टुक्रा थियो, जसमा लेखिएको थियो, ‘धनको मूल्याङ्कन र त्यसका आधारमा गरिने मापदण्डले समाजलाई अपवित्र बनाइदिएको छ ।’
घण्टीको आवाज सुनिनासाथ गाउँभरि एउटा अनौठो उत्सुकता फैलियो । सबै ज्येष्ठ नागरिकले एकअर्कासँग फुसफुसाउँदै भने, ‘यो दराजको भूत हो, जसले पुराना समयका कसम राखेको छ ।’
यहीबिच एक युवा रामशरण, जसको समग्र सम्पत्ति थुपारिएको थियो, ऊ दराजको अगाडि पुग्यो र भन्यो, ‘म पनि त्यो पुरानो घण्टी बजाउन चाहन्छु ।’ उसले घण्टीलाई बजाउने प्रयास गर्यो, तर घण्टीले कुनै आवाज निकालेन । बरु उसले थुपारेका सबै गहना र सम्पत्ति अस्तित्वहीन बन्न लागे । घण्टी बोल्यो, ‘तिमीले बुझ्न सकेनौ, केवल सम्पत्ति र त्यसको मूल्यले मानिसको कदर गर्न सक्दैन ।’
रामशरण दंग भएर बस्यो, मनको ढोकामा हजारौँ सवाल उब्जिरहेका थिए । उसले त्यो घण्टीलाई हेरेर पागलझैँ भएर एकपटक फेरि बजाउने प्रयास गर्यो, तर यसपटक पनि घण्टी चुप थियो । अचानक घरका अन्य मानिसहरू पनि एकदम चुपचाप उभिए । घण्टीको शान्तिपूर्ण मुस्कानमा के अर्थ लुकेको थियो ? अचानक सबै चुपचाप भए र एउटा सन्नाटा फैलिन थाल्यो ।
रामशरणको आँखा अगाडि संसार अन्धकार हुँदै गयो । उसलाई लाग्न थाल्यो, ऊ जुन मार्गको खोजीमा अघि बढिरहेको थियो, त्यो मार्ग साँच्चै खाली थियो ।
घण्टी बोल्यो, ‘तिमीले बुझ्न सकेनौ, केवल सम्पत्ति र त्यसको मूल्यले मानिसको कदर गर्न सक्दैन ।’
२) सुनौलो भ्रम
एक दिन, एउटा थकित यात्री मरुभूमिमा बाटो बिराइरहेको थियो । पानी र आरामको खोजीमा भौँतारिँदा उसले टाढा एक भव्य सुनौलो दरबार देख्यो । आश्चर्यले ऊ तीव्र गतिमा अघि बढ्यो र दरबारको बगैँचामा बसेको एउटा सानो राजकुमारलाई भेट्यो । ‘तिमी को हौ ?’ यात्रीले जिज्ञासापूर्वक सोध्यो । राजकुमारले गर्वका साथ उत्तर दियो, ‘म यो सुन्दर ग्रहको राजकुमार हुँ । यहाँ सबै कुरा सुनौलो छ, स्वर्गजस्तै !’
यात्रीले वरिपरि हेर्यो— रूखका पातहरू पहेँलिएका थिए, फूलहरू कृत्रिम देखिन्थे, बगैँचाको माटो सुक्खा थियो । उसले अचम्म मान्दै भन्यो, ‘तिमीले सुनौलोपनलाई सुन्दरता भनेका छौ, तर यहाँ जीवन नै छैन !’
राजकुमार फिस्स हाँस्यो, ‘जीवन होइन, देखिने चम्किलो चिजले नै मानिसलाई खुसी बनाउँछ । सत्य तिरस्कृत हुन्छ, भ्रममै प्रेम गरिन्छ ।’
यात्रीले बुझाउने कोसिस गर्यो, ‘तर यस्तो सौन्दर्य व्यर्थ छ, यो केवल बाहिरी आवरण मात्र हो ।’ राजकुमारले दरबारको झ्यालबाट बाहिर हेर्यो, जहाँ अँध्यारो आकाशले अरू ग्रहहरू छोपेको थियो, तर ऊ आफ्नै सुनौलो भ्रमभित्र कैद भएर सन्तुष्ट थियो ।
यात्रीले गहिरो सास फेर्यो र आफ्नो यात्रामा अघि बढ्यो । केही टाढा पुगेपछि उसले पछाडि फर्केर हेर्यो— सुनौलो दरबार बिस्तारै बालुवामा विलय हुँदै थियो । तर राजकुमार अझै मुस्कुराइरहेको थियो, किनकि उसले साँचो सुन्दरता कहिल्यै देख्न चाहेन । यात्रीले मनमनै सोच्यो— ‘झुट कहिल्यै टिक्दैन तर मानिसहरू त्यसैलाई सुन्दर सम्झेर रमाउँछन् ।’
००
३) भगवानको निर्वासन
एक मिर्मिरेमा मन्दिरको ढोका खुल्न थाल्यो— कर्ररर । भित्र छायाजस्तो आकृति प्रवेश गर्यो, दियोको प्रकाशले त्यो आकृतिलाई मानिसमा परिणत गरिदियो । रेशमी पहेँलो धोतीले बेरिएका ती शिष्ट व्यक्तित्वको बोली मन्त्रमुग्ध पार्ने खालको थियो । उनको पछाडि १०–१२ जना सेवक चौरासी व्यञ्जन र मणि–माणिक्य बोकेर झुकेका थिए । दियोको उज्यालोमा उनको औँठीको रत्न चम्कँदा पुजारीको आँखा तिर्मिरायो र उनले हत्तपत्त विशेष पूजा मिलाइदिए ।
ती श्रद्धालुले शिर निहुराएर भगवान्सँग प्रार्थना गरे, ‘हे भगवान् ! मलाई क्षमा गर !’ तर अचम्म, देवता मौन थिए । गर्भगृह रित्तो थियो, न मूर्ति थियो न त प्रकाश, न स्वीकृतिको संकेत थियो न त क्षमाको स्पर्श । सहसा ठुलो गडगडाहटसहित आकाशवाणी भयो, ‘म यहाँ छैन ।’ त्यतिबेला मन्दिरका स्तम्भहरू ध्वस्त भए, घण्टहरू मौन भए । भित्ताहरूमा कुँदिएका श्लोकहरू विलीन भए । धर्मको अन्तिम किल्ला ढलेको थियो । भगवान्ले पृथ्वी त्यागिसकेका थिए ।
ती कुनै साधारण भक्त थिएनन्, संसारकै धनाढ्यमध्येको एक ती महाशयका खातामा हत्या, बलात्कार, मानव बेचबिखन, भ्रष्टाचार लगायत सबै प्रकारका मौज्दातहरू थिए । तर महिला अधिकार, नैतिकता र सदाचारको पक्षमा वकालत गर्ने उनी मुख्य पात्र थिए । आफूलाई मृत्युञ्जय मान्ने उनको क्षमायाचना सुन्दा भगवान् पनि अचम्मित भए । अनि संसारले पहिलोपटक महसुस गर्यो— स्वर्ग र नरकको भय नदेख्ने नास्तिक शिरोमणि समेत भगवान्को शरणमा जाँदा रहेछन् अनि त्यस्ता हरामदेखि राम समेत डराएर भाग्दा रहेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्फाको नियमित साधारणसभामा १ अर्ब ५६ करोड ३२ लाखको बजेट प्रस्तुत गरिने
-
काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम, उत्पादन वृद्धि हुने विश्वास
-
अब सिमेन्ट र फलामे छड एमआरपी मूल्य राखेर बिक्री गरिनुपर्ने
-
जब श्रीमान् फिल हुलवर्कको अस्तु बोकेर पोखरा आइन् लोरेटा...
-
जब श्रीमान् फिल हुलवर्कको अस्तु बोकेर पोखरा आइन् लोरेटा...
-
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतम पक्राउ