बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

फिल्मकर्मी भन्छन्– ‘प्रदर्शनमा हुने विभिन्न झमेला निर्माताकै कारण हो’

सोमबार, ११ चैत २०८१, १५ : २४
सोमबार, ११ चैत २०८१

काठमाडौँ । नेपाली फिल्मको प्रदर्शन समयमा हुने विभिन्न झमेला निर्माताकै कारण हुने गरेको फिल्मकर्मीहरूले नै बताएका छन् । काठमाडौँमा जारी आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘फिल्म प्रदर्शनमा किन सधैँ झमेला’ विषयक छलफलमा फिल्मकर्मीले फिल्म क्षेत्रमा एक–अर्कोलाई दोष थुपार्ने परिपाटी बढ्दै गएको धारणा समेत राखे ।

अभिनेत्री, निर्माता र निर्देशक रेखा थापा, निर्माता रवीन्द्रसिंह बानियाँ, वितरक, निर्माता गोपालकाजी कायस्थ र प्रदर्शक भास्कर ढुङ्गाना वक्ता रहेको कार्यक्रमको सहजीकरण पत्रकार रिना मोक्तान गरेकी थिइन् । कार्यक्रममा फिल्म निर्माण निर्माताबाट सुरु हुने भएकोले यसभित्रका सबै पक्ष बुझेर मात्र निर्माता अगाडि बढ्नुपर्ने वक्ताहरूले जोड दिए ।

अभिनेत्री रेखा थापाले प्रदर्शनको सुरुमा सबै फिल्मले बराबर शो पाउनुपर्नेमा जोड दिइन् । उनले फिल्म नहेरी प्रदर्शकले यो सिंगल थिएटरमा चल्ने नचल्ने कसरी भन्न सक्नुहुन्छ ? भन्दै प्रश्न उठाइन् । उनले फिल्म क्षेत्रमा हलवालासँग भन्दा पनि सहपाठीसँग बढी झमेला गर्नुपर्ने बताइन् ।

‘फिल्म निर्माण व्यावसायिक हिसाबले गरिन्छ । हामीलाई हल वा वितरणले बनाउन भनेको पनि होइन । व्यावसायिक, रचनात्मक होस् वा सृजनात्मक हिसाबले । कारण जे भए पनि निर्माताले आफ्नो इन्टेसमा फिल्म बनाउने हो’, रेखाले भनिन् ‘फिल्ममा म करिब २५ वर्ष हुन लाग्यो । मैले अहिलेसम्म झमेला हलवालासँग भन्दा पनि सहपार्टीसँग भोगेकी छु’ प्रदर्शक र हलवालालाई दोष दिनुभन्दा निर्माता निर्देशकले आफ्नो नियत के भन्नेमा विचार गर्नुपर्ने उनको भनाई थियो । 

‘फिल्म हामीले दर्शकको आवश्यकता अनुसार बनाएको छ, कि छैन भन्ने हो । दर्शक हलमा आएपछि कुरा सकियो’ उनले थपिन् । कलाकार, वितरक, निर्माता सबैले एक–अर्कोलाई टेवा पुग्ने गरेर अगाडि बढ्नुपर्ने उनको धारणा छ । 

कलाकार तथा निर्माता रवीन्द्रसिंह बानियाँले फिल्म चल्नु र नचल्नुको दोष अरूलाई दिनु भन्दा पनि निर्माताले लिनुपर्ने बताए । 

‘फिल्म निर्माताको कारण बन्ने हो । निर्माताले निर्माणदेखि प्रदर्शनसम्म प्लान गर्न सकेन भने फिल्म बिग्रन्छ’, उनले भने– ‘निर्देशकले निर्माता र कलाकारमा, कलाकारले निर्माता, निर्देशकमा र निर्माताले कलाकार र निर्देशकमा दोष थुपार्ने परिपाटी छ । त्यो वितृष्णा हो ।’ एउटा फिल्म निर्माणदेखि प्रदर्शनसम्म आउँदा निर्माता निर्देशक धेरै थाकिसकेको हुने भएकोले यस्तो वितृष्णा देखिनु स्वाभाविक भएको बानियाँको भनाई छ ।

‘हामी इमोसनले चल्छौ । समयसँगै जसले जे जे भन्यो, त्यो त्यो पत्याउँछौ । त्यो कामको प्लान नभएर हो’ बानियाँले थपे ।

वितरक गोपालकाजी कायस्थले एक दुई जना दर्शक हुँदा हलवालाहरूले कसरी शो चलाउने ? भनेर प्रश्न उठाए । शो दिएन भनेर वितरण तथा हलवालालाई आरोप लगाउनु गलत भएको उनको भनाई थियो ।

‘व्यवसायको हिसाबले हरेक भाषाका फिल्म आउँछ । हिन्दी चल्दा नेपाली निर्माताले डुबायो, सो दिएन भन्ने कुरो आउँछ । आफ्नो फिल्म नचलेपछि वितरण र प्रदर्शकलाई दोष थुपार्ने गरिन्छ’, कायस्थले भने– ‘केही निर्माता यस्ता छन् । पहिले रिलिज मिति तोकेर बनाउन थाल्छन् । रिलिज मिति आउँदा पनि फिल्म सकिएको हुँदैन । फिल्म बनाउन लाग्नेनी, प्रचार प्रसारमा लाग्ने नि, हलको शो तिर लाग्ने ।’ केही गर्न नसक्दा फिल्म चल्दैन । दोष अरूमा थुपार्छन् ।’ पहिले भन्दा अहिले नेपाली फिल्म राम्रो चलेकोले यसमा खुसी हुँदै अझ राम्रो बनाउन लाग्नुपर्ने कायस्थको धारणा रहेको छ ।

क्यूएफएक्सका प्रबन्ध निर्देशक भास्कर ढुङ्गानाले नेपाली फिल्मलाई शो बाँडफाँटमा  विभेद नगरेको बताए । उनले डेटाका आधारमा कुन फिल्म चल्छ चल्दैन भन्ने निर्णयसहित शो बाँडफाँट गरिरहेका हुन्छौँ । त्यसैले पनि फिल्म निर्माताहरुले हलवालाहरूले शो कम दियो भनेर आरोप लगाउनु व्यर्थ रहेको धारणा राखे ।

‘सामाजिक सञ्जाल होस् वा मिडिया निर्माताको समस्या जहिले पनि चर्चामा आउँछ । प्रदर्शकको समस्या के हो भनेर कसलाई थाहा छ’, ढुङ्गानाले थपे, ‘विगत ५ वर्षयता प्रदर्शनको समस्या के हो भनेर कसैले कुरा गरेको छैन । छलफल भएको पाइन्न । प्रदर्शन भनेको व्यवसाय हो । व्यवसायमा भोलुम बढ्यो वा घट्यो भने समस्या आउँछ ।’

‘पहिले कलाकारलाई गाली गर्‍यो भने त्यसको फिल्म प्रदर्शक गर्न प्रदर्शकले पाउँदैन थियो । अहिले हामी हामीलाई गाली गर्ने कलाकार, निर्माता निर्देशकको पनि फिल्म व्यवसाय भन्दै प्रदर्शन गरिरहेका छौँ’, ढुङ्गाना अगाडि भन्छन्, ‘हामी व्यावसायिक हिसाबले लामो समय सोचिरहेका हुन्छौ । निर्माता आफ्नो फिल्मको समय इमोसनल भएर कुरा गर्छन् ।’ उनले नेपाल बनेको फिल्म अनुसार हलको सङ्ख्या थोरै भएको सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप