बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

समाजवादी मोर्चा :  यस्तो छ चैत १५ गते शक्ति प्रदर्शनको तयारी

सोमबार, ११ चैत २०८१, १५ : १४
सोमबार, ११ चैत २०८१

काठमाडौँ । विपक्षी चारदलीय समाजवादी मोर्चाद्वारा चैत १५ गते काठमाडौँमा आयोजित विरोध प्रदर्शनमा एक लाख कार्यकर्ता तथा समर्थक आउने दाबी गरिएको छ । 

 पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र गरेकाले त्यसविरुद्ध बागमती प्रदेश तथा आसपासका जिल्लाबाट कार्यकर्ता तथा समर्थक उतार्न लागिएको मोर्चाको भनाइ छ । 

 मोर्चाका सदस्य तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्रराय यादवले आ–आफ्नै दलले जुलुस निकाल्ने र एक ठाउँमा आएर मिसिने गरी भागबन्डा गरिएको जानकारी दिए । यादवका अनुसार कुन दलले कुन क्षेत्रको नेतृत्व गर्ने विषयमा मंगलबार बस्ने सचिवालय बैठकले निर्णय गर्नेछ । 

‘विरोध सभामा एक लाख मानिस काठमाडौँ आउने अनुमान गरेका छौँ । दलीय हिसाबले आ–आफ्नै हिसाबले जुलुसको नेतृत्व गर्नुहुन्छ । प्रतिगमनविरुद्धको लडाइँ भएकाले विशेषगरी बागमती प्रदेश र त्यस आसपासबाट कार्यकर्ता र समर्थक आउनुहुन्छ । त्यसबाहेक अन्य प्रदेशको हकमा आफूखुसी विरोध प्रदर्शनमा भाग लिनेछन्’, उनले सोमबार रातोपाटीसँग भने । 

अर्का एक नेताका अनुसार मोटामोटी चार दलीय क्षमता अनुसार नेकपा माओवादी केन्द्रले ५० हजार, नेकपा एकीकृत समाजवादी पार्टीले २५ हजार, नेपाल कम्युनिस्ट पार्टीले १५ हजार र नेपाल समाजवादी पार्टीले १० हजार मानिस उतार्ने भाग परेको छ । 

फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले देश बचाउन आफूलाई साथ दिन आह्वान गरेपछि नेपालको राजनीति तरङ्गित भएको छ । 

सोहीअनुसार राजावादीहरूले फागुन २५ गते पोखराबाट फर्किँदा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरी निजी निवास निर्मल निवाससम्म पुर्‍याएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप