लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्नु सबै नेपालीको कर्तव्य : संविधानसभा परिषद्

काठमाडौँ । संविधानसभा परिषद् नेपालले पछिल्लो समय केही समूहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म र भावना विपरीत गतिविधि गरिरहेको भन्दै त्यस्तो कार्यको घोर भर्त्सना गरेको छ । साथै उसले संविधानको सम्बद्र्धन र संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिएको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै नेपाली जनताको सङ्घर्ष र बलिदानबाट बनेको संविधानसभाबाट निर्मित संविधानलाई सम्बर्धन, प्रवर्द्धन र संरक्षणका लागि सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी एकजुट हुन आवश्यक रहेको पनि परिषद् नेपालले जनाएको छ । पछिल्लो समय भइरहेका व्यवस्था विरोधी गतिविधिप्रति लक्षित गर्दै परिषद्ले त्यस्ता अराजक गतिविधिले राजनीतिक अस्थिरता सिर्जना गर्ने, लोकतान्त्रिक संस्थालाई कमजोर बनाउने जनाएको छ । ‘त्यस्ता गतिविधिले नेपाली समाजलाई विखण्डन गर्ने मात्र नभई संविधानको मर्म र भावना विपरीत संवैधानिक व्यवस्थामाथि नै हमला गर्ने कार्य हो भन्ने ठहर गर्दछ’, विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्नु सबै नेपाली नागरिकहरूको कर्तव्य रहेको स्मरण गराएको छ ।
संविधानसभा परिषद् नेपाल संविधानको रक्षा गर्न प्रतिबद्ध रहेको र लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन निरन्तर लागिरहने भन्दै यसमा नेपाली जनताको सदैव साथ समर्थन पाइरहने विश्वास गरेको छ । ‘भ्रष्टाचार नियन्त्रण, कानुनी शासन र सुशासनको प्रत्याभूति गर्दै नेपाली जनतालाई आश्वस्त र विश्वस्त बनाउने कार्यमा दलहरू जिम्मेवार बन्न जरुरत छ’, संविधानसभा परिषद् नेपालका अध्यक्ष अनन्त पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
साथै संविधानसभा परिषद्ले नेपाली जनताको अपेक्षा आकाङ्क्षा र आवश्यकता अनुसार सबै पक्षसँग बृहत् छलफल गरी संविधानमा रहेका कमी कमजोरीलाई हटाई आवश्यकता अनुसार संविधानमा संशोधन गर्न सकिने जनाएको छ ।
‘संविधानसभाले घोषणा गरेको गणतन्त्र कुनै राजनीतिक दल वा निश्चित समूहको स्वार्थपूर्ण निर्णय थिएन । यो नेपाली जनताको सामूहिक चाहना र विभिन्न समयमा भएका शान्तिपूर्ण र सशस्त्र सङ्घर्षको परिणाम थियो’, विज्ञप्तिमा भनिएको छ, ‘गणतन्त्रले नेपाललाई नागरिक सर्वोच्चता, समानता, समावेशिता र लोकतान्त्रिक प्रणाली मार्फत समृद्धिको यात्रामा अघि बढाउने सुनिश्चितता प्रदान गरेको छ । संविधानसभाबाट पारित यो संविधान नेपालको सर्वोच्च कानुनी दस्ताबेज हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनमा भारी वर्षा, जनजीवन प्रभावित
-
स्ववियु निर्वाचनको माग गर्दै ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेविसंघको रिले अनसन
-
जिल्लाको आदेशविरुद्ध रविको रिट न्यायाधीश खडानन्द तिवारीको इजलासमा
-
ओलाङचुङ्गोलामा सुक्खा बन्दरगाह निर्माणको प्रयास
-
काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम
-
चितवनका सहरी क्षेत्रमा क्षयरोगी बढे