कसरी पछाडि पर्यो देश ?

आज केही राष्ट्रहरू तीव्र गतिमा आर्थिक, सामाजिक र प्राविधिक रूपले सम्पन्न साथै शक्तिशाली बन्न सक्नुको पछाडि उनीहरुले अवलम्बन गरेका नीति तथा कार्यक्रम नै जिम्मेवार छन् । देशलाई समृद्ध बनाउन यथार्थपरक, सन्तुलित, वस्तुवादी र दूरदर्शी नीति तथा कार्यक्रम र त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व आवश्यक हुन्छ ।
राणाशासन हटाउनेदेखि आजसम्म नेपाली जनताले थुप्रैपटक आन्दोलन र संघर्ष गरे । आज व्यवस्था बदलिए पनि जनताको आधारभूत आवश्यकता अझै बदलिन नसकेको तितो यथार्थ हामीबिच छर्लङ्गै छ । विज्ञान र प्रविधिमा विश्वले निकै फड्को मारिसक्दा पनि नेपाली समाज शताब्दियौँ पछाडि रुमलिन बाध्य छ । अस्थिर राजनीति, असन्तुलित वा अस्वस्थ शक्ति संघर्ष र केही राजनीतिक नेतृत्वहरूमा देखिएको संकीर्णता र अदूरदर्शिताका कारण नेपाली समाज अगाडि बढ्न सकेको छैन ।
अझै पनि कतिपय दलमा पुरातनवादी, गुटवादी, फुटवादी, आत्मकेन्द्रित व्यक्तिवादी प्रवृत्ति देखिन्छ । कतिपय नेताले वैदेशिक शक्तिकेन्द्रहरूसँग हारगुहार गरिरहेको पनि सुन्नमा आउँछ । उनीहरूको स्वार्थ अनुकूलको गोटी बन्दा मुलुक यो अवस्थामा रहेको मेरो बुझाइ छ । यतिसम्म कि सुनसान अँध्यारो रातमा वैदेशिक जासुसी संस्थाका प्रमुखलाई राज्य सञ्चालनको निकायभित्र भव्य स्वागत गर्दै अन्ततः उज्यालो हुन नपाउँदै राष्ट्रियतामा आँच पुग्ने गोप्य तथा महत्त्वपूर्ण सूचना बेचेर आफू र आफ्नो झुन्डको दैनिकी चलाउने कथित राष्ट्रवादी शासकले राज्य चलाएको मुलुक हो हाम्रो मुलुक । त्यति मात्र होइन माफिया र खतरनाक वैदेशिक जासुसी संस्थाहरूले मासिक रूपमा उपलब्ध गराउने दानापानी र दान–दक्षिणाले आफ्नो दैनिकी चलाएर बिहान–दिउँसो चियापसलमा त राति भट्टी पसलभित्र पसेर राष्ट्रवादको डंका पिट्ने भलादमी स्वघोषित राष्ट्रवादी, बुद्धिजीवी, राजनीतिक विश्लेषकले भरिपूर्ण मुलुक हो हाम्रो मुलुक ।
सामन्तवादको प्रतीकका रूपमा रहेको निरंकुश राजसंस्था फालेर फेरि नौरङ्गी राजा–रजौटा र सामन्त, नवसामन्तहरूको मध्ययुगीन दासत्त्वलाई स्वीकार गर्नकै निम्ति हजारौँ नेपाली आमाका होनहार सन्तानले आफ्नो जीवन बलिदान गरेर व्यवस्था परिवर्तन गरेको होइन । विडम्बना त्यस्तै भइरहेको छ ।
पछिल्लो चरणसम्म आइपुग्दा राजनीति, शासनसत्ता, न्यायप्रणाली, ऐन–कानुन सबैतिर समाजका मुठीभर पहुँचवालाको हालीमुहाली छ । मुलुकमा गणतन्त्र, संघीयता, समावेशिता र धर्म निरपेक्षताको घोषणा भइसके पनि व्यवहारमा अझै ठोस र मूर्त रूपमा त्यसको कार्यान्वयन हुन सकिरहेको छैन । आधारभूत वर्ग तथा समाजका वास्तविक भुइँमान्छेलाई आफ्नो दैनिक जीवनयापनमा एकपछि अर्को समस्या र सास्ती थपिँदै छ ।
यसो हुनुको प्रमुख कारण हो— राजनीतिक दलहरूमा देखिएको उही पुरातनवादी, पश्चगामी राजनीतिक चेतना । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको खोलभित्र लुकेका परिवर्तनविरोधी, जनविरोधी शक्तिहरूको गलत चलखेल; संस्थागत र नीतिगत भ्रष्टाचार; बिचौलिया, माफिया र राजनीतिक नेतृत्वबिच अवैधानिक साँठगाँठका कारण आज देश यो अवस्थामा पुगेको छ । आज कतिपय नेताको मुखमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता, सामाजिक न्याय भन्ने शब्द त छन् तर उनीहरुले भित्रभित्रै उही पुरानो निरंकुश एकदलीय सामन्ती व्यवस्था चाहेको आभास हुन्छ । आफूलाई प्रगतिशील विचारको वाहक तथा अग्रगामी चेतनाको मसिहा ठान्ने राजनीतिक दलका कैयौँ नेता–कार्यकर्ता समेत यही मनोदशाद्वारा ग्रसित देखिन्छन् ।
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको खोलभित्र लुकेका परिवर्तनविरोधी, जनविरोधी शक्तिहरूको गलत चलखेल; संस्थागत र नीतिगत भ्रष्टाचार; बिचौलिया, माफिया र राजनीतिक नेतृत्वबिच अवैधानिक साँठगाँठका कारण आज देश यो अवस्थामा पुगेको छ ।
समकालीन राजनीतिमा नेपाली जनताको नाङ्गो आँखाले प्रस्ट देख्न र अनुभूति गर्न सक्ने गरी छताछुल्ल छरिएका यस्ता विकृतिका भद्दा नमुनाहरूले अन्ततः राजनीति अत्यन्तै तीव्र गतिमा फोहोरी र प्रदूषित हुँदै गइरहेको छ भन्ने संकेत गर्छ ।
नेपाली राजनीतिमा त्याग, निष्ठा, समर्पण, इमानदरिता छँदै छैन भन्ने होइन तर यतिबेला ती निरीह र दबिएको अवस्थामा छन् । बेइमानहरूको बदमासीको छायाभित्र हराउन खोजिरहेको जस्तै फिक्का छन् । राजनीतिको उच्च ओहोदामा सामान्य नागरिकको पहुँच पुग्न सकेको छैन । बरु जाली, झेली, षड्यन्त्रकारी, भ्रष्ट, बेइमान, फन्टुसहरूको एकछत्र हालीमुहाली चलिरहेको छ । लाभका पदहरूमा उनीहरूकै मिलोमतो छ । तल तिनका आसेपासे र पछुवाहरूको एकछत्र दादागिरी चलिरहेको छ । जब राजनीतिक नेतृत्वले राजनीतिक धर्म र न्यूनतम मानवीय संवेदना समेत गुमाउँछ तब देश पछाडि पर्छ र जनतामा निराशा, आक्रोश, उत्तेजना, वितृष्णा मात्रै हो । हाल मुलुकमा त्यस्तै भइरहेको छ । वर्तमान नेपाली समाजको विद्यमान लाजनीतिको नौटङ्की देखेर आधुनिक विज्ञान समेत लजाएको आभास हुन्छ । वर्तमान राजनीतिले देश र जनताको भलो होइन फगत आफू, आफ्नो परिवार, नातागोता, आफ्ना सन्तान र दर–सन्तानको भविष्यलाई सुनिश्चित गर्दै गरेको अनुभूति हुन्छ ।
देश र जनताको हितको नारा त कसैको निम्ति पद र पावर हात पार्ने गतिलो माध्यम मात्र बनिरहेको छ । अकुत सम्पत्ति जोड्नका लागि ठगी, तस्करी, झुट, बेइमान, छलछाम, षड्यन्त्र, बदमासी, लुट, पद र पावरको दादागिरी आदि कार्य नै यतिबेला नेपाली राजनीतिको चरित्र बनिरहेको छ । नातावाद, कृपावाद, फरियावादको फेर समातेर, नेताको चाकरी गरेर राजनीतिमा अगाडि बढ्ने पनि यतिबेलाको प्रवृत्ति देखिन्छ । वर्तमान नेपाली राजनीतिक रंगमञ्च र भुँइमान्छेहरूको जिन्दगीलाई गहिरो गरी नियाल्दा यस्तै देखिन्छ । राजनीतिमा त्याग, निष्ठा, समर्पण, इमान, नैतिकता आदि हराएको आभास हुन्छ ।
अकुत पैसा कमाएर पदीय हैसियत खरिद गर्नु र चुनाव जित्नु सामान्य भइसकेको छ । कुनै निर्वाचन क्षेत्रको अनुमानित चुनावी खर्च र निर्वाचन आयोग परिसर बहादुर भवनको भौतिक मूल्य उस्तै–उस्तै भइसकेको अनुभूति हुन्छ । राजनीतिमा इमानदार, निष्ठावान् नेता तथा कार्यकर्ताको कुनै मूल्य र महत्त्व छैन । इमानदारहरुले त सधैँ हेपिएको, दबिएको अनुभूतिसहित जीवन बाँचिरहेका हुन्छन् । बेइमानहरुकै हालीमुहाली हुँदा इमानदारहरुको प्रगति र उन्नतिको ढोकामा चुकुल लाग्दै जान्छ । यसरी इमानदारहरु सबै पाटापक्षबाट पलायन हुन बाध्य हुन्छन् । कुनै लेखक तथा पत्रकारले पलायन भएका इमानदार नेता तथा कार्यकर्ता र थुप्रै भुइँमान्छेहरूको दयनीय कहानी लेखेर आफैँ सम्भ्रान्त बन्ने क्रम चलिरहन्छ ।
भनिन्छ, राजनीति जोगी हुनलाई गरिएको होइन तर जबसम्म राजनीति सेवा नभई पेसा व्यवसाय बन्छ, त्यसको आशय वा लक्ष्य नाफा अनि मुनाफा कमाउने भन्नेतिर जान्छ । हाम्रो समाज र टोलछिमेकमा हाल यही भइरहेको छ । यो अवस्थालाई नबुझी नयाँ पुस्ता राजनीतिमा नपसेकै वेश ।
वर्तमान नेपाली राजनीतिमा इमानदारिता, त्याग, निष्ठा, समर्पण, क्रियाशीलता, निरन्तरता र प्रतिबद्धताको आवश्यकता छ । राजनीतिक दलहरुले देशको उत्पादन बढाउनतिर ध्यान दिइरहेका छैनन् । आत्मनिर्भर अर्थतन्त्र र अग्रगामी राजनीतिक चेतनासँग जोडिएको आर्थिक समृद्धि नै आजको आवश्यकता हो । अग्रमनको विकल्प प्रतिगमन तथा पश्चगमन अनि क्रान्तिको विकल्प प्रतिक्रान्ति कहिल्यै हुन सक्दैन । सुशासन, समृद्धि र सामाजिक न्याय सहितको सम्मुनत समाजवाद अबको आवश्यकता हो । नेपाली समाजले युगौँसम्म झेल्दै आएको एक दलीय निरंकुशता होइन । बरु नेपाली राजनीतिका गुरु–शिष्यले राजनीतिलाई बुझ्ने र समसामयिक रूपमा समाजलाई हेर्ने, बुझ्ने र ठम्याउने सामाजिक चेतना सोहीअनुरूप बदलिन जरुरी छ ।
अन्त्यमा समाजका असली भुइँमान्छेले राष्ट्र, जनता र समाजप्रति कहिल्यै घात गर्न सक्दैनन् । उनीहरुले आफ्नो भौतिक जिन्दगीभन्दा राष्ट्र र समाजलाई नै माथि देख्छन्, ठुलो ठान्छन् । यसप्रति सबैले समयमै महसुस गर्न जरुरी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी