बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

ट्रम्पका कारण राजीनामा दिन बाध्य महान्यायाधिवक्ता मृत भेटिइन्

सन्दिग्ध मृत्युमाथि उठिरहेछ प्रश्न
सोमबार, ११ चैत २०८१, १२ : १९
सोमबार, ११ चैत २०८१

वासिङटन डीसी ।  पूर्व अमेरिकी महान्यायाधिवक्ता जेसिका एबरको शङ्कास्पद मृत्यु भएको छ । उनको शव गत शनिवार भर्जिनियाको अलेक्जान्ड्रियास्थित एउटा घरमा फेला परेको थियो । एबरले अमेरिकाको पूर्वी भर्जिनिया विभागमा महान्यायाधिवक्ताको रूपमा काम गरेकी थिइन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्प दोहोर्‍याएर ह्वाइट हाउस छिरेपछि एबरले आफ्नो पदबाट राजीनामा दिएकी थिइन् । राजीनामा दिएको दुई महिनापछि रहस्यमय परिस्थितिमा उनको मृत्युले शंका उत्पन्न गरेको छ । एबरको मृत्युको बारेमा प्रहरीले एक विज्ञप्ति जारी गरेको छ । उनको मृत्युको परिस्थितिबारे अनुसन्धान भइरहेको बताइएको छ । 

स्थानीय समयअनुसार बिहान ९ः १८ बजे अधिकारीहरूलाई एक अचेत महिलाबारे फोन आएको थियो । यसपछि प्रहरी अनुसन्धानको लागि घटनास्थलमा पुग्यो । एबर घटनास्थलमै मृत फेला परिन् ।

भर्जिनियाका प्रमुख चिकित्सा अधिकारीले पोस्टमार्टम मार्फत उनको मृत्युको कारण र तरिका निर्धारण गर्ने प्रहरीले बताएको छ । साथै एबरको शव भेटिएको ठाउँ उनको निवास थियो वा थिएन भन्नेबारे फरक–फरक खबर आइरहेका छन् । भर्जिनिया प्रहरीले एबरको मृत्युको अनुसन्धान जारी रहेको बताएको छ । 

को हुन् जेसिका एबर ?

जेसिका एबरको जन्म भर्जिनियामा भएको थियो । उनी त्यहीँ हुर्किएकी थिइन् । एबरले २००३ मा रिचमन्ड विश्वविद्यालयबाट स्नातक गरिन् र २००६ मा विलियम एण्ड मेरी ल स्कूलबाट कानुनको डिग्री हासिल गरिन् । उनले तत्कालीन मजिस्ट्रेट न्यायाधीश एम.हन्ना लकको लागि कानुन क्लर्कको रूपमा आफ्नो करियर सुरु गरिन् । त्यसपछि न्याय मन्त्रालयमा सामेल हुनुभन्दा पहिले उनले म्याकगुइरवुड्स एलएलपीमा काम गरिन् । 

२००९ मा उनले भर्जिनियाको पूर्वी जिल्लामा सहायक अधिवक्ताको रूपमा काम गरिन् । पछि २०२१ को अगस्टमा पूर्व राष्ट्रपति जो बाइडेनले उनलाई भर्जिनियाको पूर्वी जिल्लाको लागि अमेरिकी महान्यायाधिवक्ता रूपमा मनोनीत गरे । उनको मनोनयनलाई सिनेटले पनि सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु गरेपछि जनवरीमा उनले राजीनामाको घोषणा गरेकी थिइन् । यसअघि उनले करिब तीन वर्ष विभागको नेतृत्व गरेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप