काभ्रेपलाञ्चोकको भकुण्डे र नारायणस्थानमा चौकी निर्माण गर्न प्रहरीलाई १२ रोपनी जग्गा
_0zgB3azsAF.jpg)
काठमाडौँ । काभ्रेपलान्चोकको भकुण्डेवेशी र तेमाल गाउँपालिका वडा नम्बर–५ स्थित पोखरी नारायणस्थानमा चौकी निर्माण गर्न प्रहरीलाई जग्गा प्रदान गरिएको छ । २०८१ चैत ४ मा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार नमोबुद्ध नगरपालिका–४ स्थित भकुण्डेवेशीमा चौकी निर्माण गर्न ६ रोपनी र तेमाल गाउँपालिका–५ नारायणस्थानमा चौकी निर्माण गर्न ६ रोपनी जग्गा दिने निर्णय गरिएको छ ।
चौकीको लागि जग्गा प्राप्त गर्न इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले करिब १ वर्षदेखि पहिले गरिरहेका थिए । प्रहरी प्रधान कार्यालयको अनुरोधमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले १२ रोपनी जग्गा प्रहरीलाई दीर्घकालीन प्रयोग गर्न दिनुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो । मन्त्रिपरिषद्को निर्णय अनुसार मालपोत कार्यालय काभ्रेपलान्चोकले प्रहरीलाई १२ रोपनी जग्गाको भोगाधिकार प्रदान गरेको छ ।
साविक मेथिनकोट गाविसमा पर्ने (हाल नमोबुद्ध नपा–४) मा रहेको कित्ता नम्बर ८५ मा भकुण्डेवेशीको चौकी निर्माण गर्ने प्रहरीको योजना छ । काभ्रेपलान्चोकको चौंथो ठुलो बजार भकुन्डेमा २०५५ मा प्रहरी चौकी स्थापना भए पनि हालसम्म जग्गा प्राप्त भएको थिएन । भवन निर्माण गर्दा अन्तर्राष्ट्रिय मापदण्ड सहितको हिरासत कक्ष निर्माण गर्न सकिने इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर गिरीले जानकारी दिए । दुवै प्रहरी चौकी मंगलटारको मातहतमा पर्छ ।
आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा थुनुवालाई मापदण्ड विपरीत हिरासतमा राखेको बारे प्रश्न उठेको थियो । स्थायी संरचना बनेसँगै मापदण्ड अनुसारको हिरासत कक्ष निर्माण गर्न सकिने प्रहरी अधिकृतहरू बताउँछन् ।
तेमाल गाउँपालिका–५ (साविक पोखरी नारायणस्थान–३) मा जग्गा प्राप्त भएसँगै गाउँपालिकाले चौकी भवन बनाउन १० लाख रुपैयाँ विनियोजन गर्ने भएको छ । जंगलमा बसिरहेका पोखरी नारायणस्थानका प्रहरीलाई आगामी आर्थिक वर्षभित्र भवनमा सार्नेगरी काम अघि बढेको इन्स्पेक्टर गिरीले बताए ।