बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय
आईपीएल प्रिभ्यू

इन्डियन प्रिमियर लिग : पूर्वकप्तान आफ्नै पूर्वटोलीविरुद्ध मैदानमा

सोमबार, ११ चैत २०८१, १३ : ००
सोमबार, ११ चैत २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा सोमबार एकमात्र खेल हुँदैछ । जारी आईपीएलको चौथो खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सको सामना गर्नेछ । उक्त खेल विशाखापट्टनममा नेपाली समय अनुसार, राति १९ :४५ बजे सुरु हुनेछ । 

जारी आईपीएलमा दिल्ली र लखनउ दुवैले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् । दिल्ली र लखनउ दुवैले हालसम्म आईपीएलको उपाधि जित्न सकेका छैनन् । त्यसैले यो सिजन यी दुवै टोली पहिलो उपाधिको खोजीमा छन् । 

यो सिजन यी दुवै टोलीसँग एउटा रमाइलो संयोग पनि जोडिएको छ । १८औँ संस्करणमा यी दुवै टोलीका पूर्वकप्तान आफ्नै पूर्वटोलीविरुद्ध मैदानमा ओर्लने छन् । अघिल्लो सिजन ऋषभ पन्त दिल्लीको र केएल राहुल लखनउको कप्तान थिए ।

तर, १८औँ संस्करणमा ऋषभ पन्त लखनउमा र केएल राहुल दिल्लीमा आबद्ध भएका छन् । मेगा अक्सनमा ऋषभ पन्तलाई लखनउले २७ करोड भारतीय रुपैयाँमा खरिद गरेको हो । आईपीएलको इतिहासमै ऋषभ पन्त सबैभन्दा महँगा खेलाडी पनि बन्न पुगेका छन् । केएल राहुललाई भने दिल्लीले मेगा अक्सनमा १४ करोड भारतीय रुपैयाँमा खरिद गरेको हो । 

  • हेड टु हेडमा लखनउ अगाडि

लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्सबिच आईपीएलमा हालसम्म कुल पाँच खेल खेलिएको छ । त्यसमध्ये तीन खेलमा लखनउले दिल्लीलाई हराएको छ । दुई खेलमा दिल्लीले लखनउलाई पराजयको स्वाद चखाएको छ । विशाखापट्टनममा भने यी दुई टोली पहिलो पटक आपसमा भिड्न लागेका हुन् ।

398278

  • दिल्लीको सबल पक्ष  : सन्तुलित टोली

यो सिजनको आईपीएलमा दिल्ली क्यापिटल्सको टोली निकै सन्तुलित छ । दिल्लीको ब्याटिङ र बलिङ दुवै पक्ष बलियो देखिन्छ । नयाँ बलले चमत्कार गर्न मिचेल स्टार्क र मुकेश कुमार खप्पिस छन् । डेथ ओभरमा भने मोहित शर्मा र टी. नटराजनको प्रदर्शन अब्बल देखिन्छ । कुलदीप यादव र अक्षर पटेलले पनि धेरै रन खर्चने गरेको पाइँदैन । यसका अतिरिक्त दिल्ली क्यापिटल्सको ब्याटिङ पनि उत्कृष्ट छ । 

  • लखनउको सबल पक्ष : उत्कृष्ट फिनिसरहरु

जारी आईपीएलमा लखनउ सुपर जायन्ट्सको सबैभन्दा सबल पक्ष भनेको फिनिसरहरु हुन् । निकोलस पुरन, डेभिड मिल्लर, शाहबाज अहमद, अब्दुल समादजस्ता प्रभावशाली खेलाडी उत्कृष्ट फिनिसिङका लागि चर्चित छन् । ऋषभ पन्त पनि आईपीएलमा आक्रमक रुपमा रन बनाउन खप्पिस छन् । तर, लखनउको ओपनिङ जोडी कस्तो हुन्छ, त्यसले पनि टोलीको भविष्य निर्धारण गर्नेछ ।

397998

  • केएल राहुलको उपस्थिति अन्योलमा

दिल्ली क्यापिटल्सका प्रभावशाली विकेटकिपर ब्याट्सम्यान केएल राहुल लखनउ सुपर जायन्ट्सविरुद्धको खेलमा सहभागी हुने सम्भावना निकै कम छ । उनी अघिल्ला दुई टोलीमा अनुपस्थित रहने समाचारमा जनाइएको छ । केएल राहुलकी पत्नी अथिया शेठ्ठी आमा बन्न लागेकाले उनी अघिल्ला दुई खेलमा अनुपस्थित रहने बताइएको छ ।   

  • ब्याट्सम्यानलाई माया गर्ने पिच

दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबिचको खेल विशाखापट्टनमस्थित राजशेखर रेड्डी क्रिकेट स्टेडियममा खेलिने छ । यो दिल्ली क्यापिटल्सको दोस्रो घरेलु मैदान हो । यो स्टेडियमको पिच खासगरी ब्याट्सम्यानहरुका लागि निकै उपयुक्त मानिन्छ । 

356531

यो स्टेडियममा हालसम्म आईपीएलको कुल १५ खेल खेलिएको छ । त्यसमध्ये आठ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएको छ । सात खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । 

यो स्टेडियममा हालसम्म खेलिएको आईपीएल खेलमा बनेको उच्च स्कोर सात विकेट गुमाएर दुई सय ७२ रन हो । उक्त स्कोर आईपीएलको अघिल्लो सिजनमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सविरुद्ध बनाएको थियो ।

  • वर्षाले खेल बिथोल्ने सम्भावना

लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्सबिच खेल हुने दिन सोमबार विशाखापट्टनमको मौसम प्रतिकुल रहने बताइएको छ । सोमबार विशाखापट्टनममा ६१ प्रतिशत वर्षाको सम्भावना रहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार विशाखापट्टनमको तापक्रम २६ देखि ३१ डिग्री सेल्सियसको बिचमा रहने अनुमान गरिएको छ ।

सम्भावित टोली 

दिल्ली क्यापिटल्स  : अक्षर पटेल (कप्तान), ज्याक फ्राजर म्याकगर्ग, फाफ डु प्लेसिस, अभिषेक पोरेल, केएल राहुल, ट्रिस्टन स्टब्स, आशुतोष शर्मा, मिचेल स्टार्क, कुलदीप यादव, मुकेश कुमार, टी. नटराजन र मोहित शर्मा ।

लखनउ सुपर जायन्ट्स  : ऋषभ पन्त (कप्तान), अर्शिन कुलकर्णी, मिचेल मार्श, निकोलस पुरन, आयुष बडोनी, डेभिड मिल्लर, अब्दुल समाद, शार्दुल ठाकुर, राजवर्धन हंगरगेकर, रवी बिश्नोई, शामर जोसेफ र शाहबाज अहमद । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप