राष्ट्रिय सहमतिको सरकारको चर्चा : के भन्छन् प्रमुख तीन दलका नेता ?

काठमाडौँ । सत्ताधारी नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबिच सोमबार सिंहदरबारमा संवाद हुने भएको छ । सरकार परिवर्तन वा राष्ट्रिय सहमतिको सरकार बनाउन लागिएको चर्चाबिच हुन लागेको बैठकलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।
एमाले र माओवादीका नेताहरूले भने शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने विषयमा छलफल हुन लागेको दाबी गरेका छन् । बाहिर चर्चामा आएजस्तो सरकार परिवर्तन वा सहमतिको सरकार बनाउने विषयमा शीर्ष नेताहरूबिच कुनै संवाद नभएको नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नै विपक्षी दलका नेतासँग भेट्ने चाहना राखेको उनको जिकिर छ । ‘सरकार परिवर्तन वा राष्ट्रिय सहमतिको सरकार बन्न लागेको हल्ला निराधार हो । हामी सरकारमा जाने वा ओली सरकारलाई विस्थापित गर्ने कुनै योजनामा छैनौँ,’ रातोपाटीसँग उनले भने ।
कांग्रेस वा एमालेका कुनै शीर्ष नेतासँग आफूहरूको सम्पर्क नरहेको पनि सापकोटाले प्रस्ट पारे । ‘प्रतिपक्षमा पुगेपछि माओवादीको जनमत बढ्दै गएको छ । अझै हामी जनता केन्द्रित कार्यक्रम बनाउँदै जान्छौँ । अध्यक्षले पनि २०८४ सम्म सरकारमा जाँदैनौँ भनिसक्नुभएको छ,’ उनले भने ।
टीआरसीको विषयमा छलफल हुने तर सत्ता सहकार्य गर्ने विषयमा कांग्रेस र एमालेसँग छलफलको एजेण्डा बन्न नसक्ने सापकोटाले बताए । प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष दलको नेतासँग सम्पर्क गर्न खोजेको आफूले सुने पनि माओवादीको तर्फबाट सम्पर्क नगरेको उनको दाबी छ ।
प्रधानमन्त्री ओलीले प्रचण्डसँग पटकपटक सम्पर्क गर्ने प्रयास गर्दा स्वास्थ्यमा केही समस्या भएकाले सम्पर्क हुन नसकेको भन्ने जवाफ पाएको चैत ६ गते संसद्मा जानकारी गराएका थिए । ओलीले यसो भनिरहँदा प्रचण्ड पार्टी काममै व्यस्त थिए । सोही दिन दिउँसो तराई मधेस जागरण अभियानमा भाग लिन उनी सिमरा उडेका थिए ।
बारा, पर्सा र चितवनको अभियान सम्पन्न गरेको माओवादीले चैत १५ गतेसम्म बाँकी अभियानलाई स्थगित गरेको छ । तीन दलको बैठकमा भाग लिन उनी सोमबार दिउँसो काठमाडौँ आउने प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । उनले पनि माओवादी सत्तामा जान लागेको हल्ला निराधार भएको जिकिर गरेका छन् ।
‘माओवादी गठबन्धनमा जान लागेको वा राष्ट्रिय सहमतिको सरकार बनाउन लागिएको विषयमा बाहिर हल्ला चलाइएको छ, त्यसमा कुनै सत्यता छैन,’ आचार्यले भने, ‘टीआरसीको विषयमा प्रधानमन्त्रीको सचिवालय तथा प्रमुख नेताहरूसँग हामी नियमित सम्पर्कमै छौँ । सबै विषयमा प्रमुख तीन दलबिच छलफल हुन लागेएको हो ।’
आइतबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा संविधान संशोधन तथा समसामयिक विषयमा छलफल भए पनि सत्ता सहकार्यको विषयमा चर्चा नभएको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
‘सत्ता परिवर्तन गर्ने वा सहमतिको राष्ट्रिय सरकार गठन गर्ने विषयमा छलफल नै भएन । संविधान संशोधन र पार्टीको आन्तरिक विषयमा छलफल भयो । भविष्यमा के हुन्छ भनेर अहिले नै भन्न सकिँदैन तर अहिले सत्ता सहकार्यको विषयमा भइरहेको चर्चा बाहिरी हल्लामात्र हुन्’, उनले भने ।
एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पनि राष्ट्रिय सरकार गठन वा सरकार परिवर्तनको विषयमा छलफल नभएको जिकिर गरे । यद्यपि प्रतिगामी शक्तिविरुद्ध विपक्षी दलहरूसँग सहकार्य हुनसक्ने उनले प्रस्ट पारे ।
‘व्यवस्था परिवर्तका लागि सडकमा प्रतिगामी शक्तिहरूले सक्रियता बढाइरहेका छन् । पार्टीको तर्फबाट सबै वडामा एकसाथ आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ’, उनले भने, ‘विपक्षी मोर्चाहरूले पनि आ–आफ्नै ढंगले विरोधका कार्यक्रम घोषणा गरेका छन् । प्रतिगामी शक्तिविरुद्ध गणतन्त्र पक्षधरसँग सहकार्य हुन्छ । सत्ता सहकार्य वा सरकार परिवर्तको विषयमा छलफल हुँदैन ।’
गठबन्धन सरकारलाई छिमेकी मुलुक भारतले नपत्याएको र सडकमा राजावादीहरूले सक्रियता बढाइरहेको अवस्थामा सत्ताधारी कांग्रेस, एमाले र विपक्षी माओवादीबिच सत्ता सहकार्य हुन लागेको चर्चा चलेको छ । विशेष गरी प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच भेटवार्ता भएपछि यस प्रकारको आशंकालाई बल पुगेको हो ।
खासमा खरेल टीआरसीको विषयमा शीर्ष नेताबिच छलफल गराउने हिसाबले चैत ४ गते प्रचण्ड निवास खुमलटार पुगेका थिए । लगत्तै माओवादीका केही नेताले गणतन्त्र पक्षधर एक ठाउँमा आउने वातावरण बन्दै गएको बताएका थिए ।
खासगरी भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिरसहित राजावादीले काठमाडौँमा प्रदर्शन गरेपछि कतै भारत नै नेपालमा विद्यमान व्यवस्था परिवर्तनका लागि भूमिका निर्वाह गरिरहेको त छैन भन्ने आशंका पनि उब्जिएको थियो । परराष्ट्रमन्त्री डा. आरजु राणाले भारत भ्रमणबाट फर्केलगत्तै यसबारे प्रस्ट पार्दै भारतको संस्थापन पक्षमा त्यस्तो कुनै भावना नरहेको बताएकी थिइन् ।
रायसिना डायलगको लागि फागुन २६ गते भारतको दिल्ली पुगेकी राणाले चैत ८ गते स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग भनेकी थिइन्, ‘यहाँको पोलिटिकल गतिविधिका बारेमा हामीले खासै कुराकानीचाहिँ गरेनौँ । तर, उहाँहरूको सपोर्ट यो डेमोक्रेटिक सिस्टमलाई नै छ भन्ने हरेक गतिविधिबाट हामीले बुझ्न जरुरी छ । अहिलेको गभर्मेन्टसँग एकदमै इन्गेज्ड हुनुहुन्छ । यो गभर्मेन्ट र सिस्टम नै चेन्ज हुने भन्नेजस्तो उहाँहरूको आशय मैले देखिनँ ।’
यद्यपि, भारतका लागि नेपाली पूर्वराजदूत तथा विश्लेषक नीलाम्बर आचार्यले दुई देशबिचको सम्बन्ध चिसिएको विश्लेषण गरेका छन् ।
दुई ठुला दल कांग्रेस र एमाले मिल्दासम्म छिमेकी मुलुक भारत वा चीनले चाहँदैमा सरकार परिवर्तन हुन नसक्ने आचार्य बताउँछन् । अहिलेकै अवस्थामा राष्ट्रिय सहमतिको सरकार बन्न नसक्ने दाबीसमेत उनले गरे । उनले भने, ‘किनकि दुई ठुला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा त प्रतिपक्षविहीन भयो भनेर आलोचना भइरहेको छ । प्रतिपक्ष नै नहुने गरी राष्ट्रिय सरकार बन्छजस्तो मलाई लाग्दैन ।’
अर्को सरकार बनाउन कांग्रेस र एमालेमध्ये एकले साथ छोड्नुपर्ने उनको भनाइ छ । ‘अहिलेसम्म सत्ताधारी यी दुई दल मिलेरै बसेका छन् । यी दुई ठुला दल मिल्दासम्म उत्तरी वा दक्षिणी छिमेकी देशसँग सम्बन्ध चिसियो भन्दैमा सरकार परिवर्तन हुन सक्दैन,’ उनले भने ।
राष्ट्रिय मुद्दामा तीन दलबिच छलफल हुनु राम्रो भएको आचार्यको भनाइ छ । संविधान संशोधनको कुरा पनि आएको र टीआरसीको विषय पनि टुङ्ग्याउनु पर्ने अवस्था रहेकाले सत्तापक्ष र प्रतिपक्षबिच बेलाबेला छलफल हुनुलाई सकारात्मक रूपमा लिनुपर्ने उनले बताए ।