शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय
अटो

बीवाईडीको चार्जिङ क्रान्ति : ईभी चार्ज गर्न कति समय लाग्थ्यो, अब कति लाग्छ ?

चिनियाँ इतिहाससँग जोडिएको बीवाईडीका दुई मोडलमा यस्ता छन् विशेषता
सोमबार, ११ चैत २०८१, १० : ०५
सोमबार, ११ चैत २०८१

काठमाडौँ । विद्युतीय सवारी (ईभी) प्रति आम मान्छेको एउटा भाष्य छ– यसलाई चार्ज गर्न लामो समय लाग्छ र रेञ्ज पनि धेरै दिँदैन ।

ईभीको आविष्कारदेखि नै रहँदै आएको यो भाष्य अब भने परिवर्तन हुने निश्चित भएको छ । विश्वप्रसिद्ध चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीले केही दिनअघि मात्रै लञ्च गरेको नयाँ चार्जिङ स्टेशन प्रणालीले नयाँ क्रान्ति गर्न सफल भएको हो ।  

गत साता बीवाईडीले ‘अल्ट्रा फास्ट इलेक्ट्रिक भेहिकल चार्जिङ सिस्टम’ घोषणा गरेको छ । उक्त चार्जिङ प्रणालीले १००० किलोवाटको अधिकतम चार्जिङ स्पिड प्रदान गर्न सक्ने कम्पनीको दाबी छ । उक्त चार्जिङ प्रणालीसँग आबद्ध हुन सक्नेगरी बीवाईडीले दुई मोडल ‘बीवाईडी हान एल ईभी’ र ‘बीवाईडी टाङ एल ईभी’ सार्वजनिकसमेत गरेको छ ।

उक्त चार्जिङ स्टेशन प्रणालीबाट ती मोडेलका गाडी ५ देखि ८ मिनेटसम्ममा फूल–चार्ज हुनसक्ने उल्लेख गरिएको छ । यो अहिलेसम्मकै उच्च क्षमतायुक्त ईभी चार्जिङ प्रणाली हो, जो गाडीमा पेट्रोल भर्न लाग्ने समयभन्दा पनि कम रहेको बताइएको छ ।

उक्त कम्पनीले लञ्च गरेको दुई सवारी साधनले चीनको इतिहास र संस्कृतिलाई समेत आबद्ध गरेको बीवाईडीका संस्थापक वँग चुआनफू बताउँछन् । हान चीनको एउटा राजवंश हो, जसले ईशापूर्व २०६ देखि इस्वी संवत् २२० सम्म शासन गरेको इतिहास छ । त्यस्तै, टाङ साम्राज्य इस्वी सम्वत् ६१८ देखि ९०७ सम्म चलेको इतिहास छ ।

बीवाईडीको यो क्रान्तिले उक्त कम्पनीलाई विश्व बजारमा अन्य प्रतिस्पर्धीभन्दा निकै माथिल्लो स्तरमा पुर्‍याउने अनुमान गरिएको छ । खासगरी, बजार हिस्साको आधारमा हालसम्म पहिलो रहेको अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लालाई यसले ठुलो धक्का दिएको छ । यसको पहिलो प्रभाव सम्बन्धित कम्पनीको मूल्यमा परेको छ । नयाँ प्रणाली सुरुवातसँगै बीवाईडीको स्टक मूल्य उच्च रूपमा बढेको छ भने टेस्लाको मूल्य घटेको छ ।

बीवाईडीको यो चार्जिङ सिस्टम लञ्च हुनुअघि सबैभन्दा उच्च क्षमताको चार्जिङ स्टेशन टेस्लाकै थियो । उक्त कम्पनीले हाल अधिकतम ५०० किलोवाट क्षमतासम्मको चार्जिङ प्रदान गर्दै आएको छ । त्यसको दोब्बर क्षमतामा बीवाईडीको नयाँ चार्जिङ सिस्टम आएको हो । यो सुधारका कारण पेट्रोलियम सवारी साधन नै प्रयोग गरिरहेका ग्राहकलाई समेत ईभीमा रुपान्तरण गर्ने सम्भावना बढाएको छ ।

त्यसो त, चीनमा विद्युतीय गाडीको प्रयोग तीव्र गतिमा बढेको छ । गत वर्ष यस्तो वृद्धिदर ४० प्रतिशत थियो । अब यो वृद्धिले थप उचाइ लिने अपेक्षा गरिएको छ । चीनमा मात्रै नभएर विश्व बजारमा समेत यो गति विस्तार हुने देखिएको छ ।

कस्ता छन् बीवाईडीका नयाँ ईभी ?

यहाँ हामीले बीवाईडीले सार्वजनिक गरेका दुवै मोडलका ईभीको बारेमा चर्चा गरेका छौँ । 

  • बीवाईडी हान एल ईभी

‘बीवाईडी हान एल ईभी’ स्लिक सेडान हो जसले ब्रान्डको विशेष प्रकारको डिजाइनलाई कायम राखेको छ । यसमा क्रोम प्लेटेड एलिमेन्टसहित तिखो हेडलाइट छन् ।  जसमा चिनियाँ लिपीमा ‘हान’ अङ्कित गरिएको छ । यो गाडीको डाइमेन्सन ५०५०/१९६०/१५०५ मिलिमिटर छ भने ह्वीलबेस २९७० मिलिमिटर छ ।

बीवाईडी हान एल ईभीको भित्री भागमा फरक खालका दुई रङको सजावट छ । अंग्रेजी डी–आकारको स्टीयरिङ ह्वीलमा अङ्कित चिनियाँ लिपीमा लेखिएको ‘हान’ प्रतीकले गाडीको पहिचान जनाउँछ । यसको सेन्टर कन्सोलमा १५.६ इन्चको व्यास भएको ठुलो फ्लोटिङ स्क्रिन छ ।

BYD Han L EV

हान एल ईभीमा १००० भोल्ट क्षमताको उच्च भोल्टेज प्लेटफर्म र ८३.२ किलोवाट आवरको एलएफपी ब्याट्री उपलब्ध छ । यसले ६०१ देखि ७०१ किलोमिटरसम्मको रेञ्ज प्रदान गर्ने जनाइएको छ । बीवाईडी मेगावाट पाइलमार्फत १०–सी ब्याट्री प्याकको चार्जिङलाई सपोर्ट गर्दछ । यसले ५ मिनेटमा ४०० किलोमिटर गुड्नको लागि पर्याप्त ब्याट्री चार्ज गर्न सक्छ । त्यसैले, यो चार्जिङ प्रविधि पेट्रोलबाट चल्ने कारमा इन्धन भर्नुजस्तै हो ।

इन्ट्री–लेभल हान एल ईभी मा ५०० किलोवाटको पीक पावर आउटपुटको साथ सिङ्गल इलेक्ट्रिक मोटर छ । यस सेडानको फोरडब्ल्यूडी भेरियन्टले ८१० किलोवाटको पीक पावर उत्पादन गर्छ । हान एल ईभीले २.७ सेकेन्डमा १०० किमी प्रतिघण्टाको गति लिनसक्ने बताइएको छ । त्यस्तै १०० देखि २०० किमी प्रतिघण्टा एक्सेलेरेशनका लागि ४.७४ सेकेन्ड समय लगाउँछ । यसको उच्च गति ३०५ किमि प्रतिघण्टासम्म छ ।

BYD Han L interior

हाल बीवाईडी हान एल ईभी चीनमा २ लाख ७० हजारदेखि ३ लाख ५० हजार युआन अर्थात् ३७ हजार ३०० देखि ४८ हजार ३५० अमेरिकी डलरको प्राइस रेञ्जका साथ प्रि–अर्डरका लागि उपलब्ध छ ।

  • बीवाईडी टाङ एल ईभीको स्पेसिफिकेसन र मूल्य

बीवाईडी टाङ एल ईभी २+३+२ सिट लेआउट भएको ठुलो एसयूभी हो । यो गाडीमा थिन रनिङ लाइट, अगाडिपट्टिको बम्पर जोडिएको हेडलाइट र आकर्षक बोनेट छन् । पछाडिपट्टि बीवाईडी टाङ एल ईभीमा सिङ्गल टेललाइट स्ट्रिप छ । यस क्रसओभरको डाइमेन्सन ५०४०/१९९६/१७६० मिलिमिटर छ भने ह्वीलबेस २९५० मिलिमिटर छ ।

BYD Tang L 1

बीवाईडी टाङ एल ईभी भित्री भागमा डुअल कलर स्किम अवलम्बन गरिएको छ । यसको इन्टेरियर्स दुई रङको प्लानिङमा आधारित छ । जसमा धेरैजसो क्षेत्रमा ओरेञ्ज कलर प्रयोग गरिएको छ र म्याट ग्रे कलर राखिएको छ । यसको सेन्ट्रल कन्ट्रोल स्क्रिनको आकार १५.६ इन्च रहेको अनुमान गरिएको छ । यसले एआरएचयूडी डिस्प्ले सपोर्ट गर्छ । अंग्रेजी डी–आकारको स्टीयरिङ ह्वीलको पछाडि इन्स्ट्रुमेन्ट प्यानल छ, जुन एयर कन्डिसनिङ आउटलेटसँग जोडिएको छ ।

टाङ एल ईभीको पावरट्रेन पनि हान एल ईभीकै बराबर छ । त्यसैले यसको स्ट्यान्डर्ड भेरियन्टले ५०० किलोवाट र फोरडब्ल्युडी भर्सनले ८१० किलोवाटको पिक पावर उत्पादन गर्छ । तर, यसले १००.५ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक प्रदान गर्छ ।  टाङ एल ईभीले ३.६ सेकेन्डमा १०० किमी प्रतिघण्टाको गति लिनसक्ने बताइएको छ । यसले ५६० देखि ६७० किलोमिटरसम्मको रेञ्ज लिनसक्ने बताइएको छ । त्यस्तै १०० देखि २०० किमी प्रतिघण्टा एक्सेलेरेशनका लागि ६.१९ सेकेन्ड समय लगाउँछ । यसको उच्च गति २८७.४ किमि प्रतिघण्टासम्म छ ।

BYD Tang L EV interior

हाल बीवाईडी टाङ एल ईभी चीनमा २ लाख ८० हजारदेखि ३ लाख ६० हजार युआन अर्थात् ३८ हजार ६९० देखि ३९ हजार ७४० अमेरिकी डलरको प्राइस रेञ्जका साथ प्रि–अर्डरका लागि उपलब्ध छ ।

  • यसअघि कस्तो थियो चार्जिङको अवस्था ?

यसअघि टेस्लासँग ५०० किलोवाटसम्मको चार्जिङ स्टेशन थियो । यद्यपि यो निकै कम प्रचलित थियो । टेस्लाको २५० र ३५० किलोवाटका चार्जिङ स्टेशन बढी प्रचलित थिए । यो हिसाबले अहिलेको बीवाईडीकै क्षमताको ब्याट्री चार्ज गर्न १०० किलोवाटको ब्याट्रका लागि ३५० किलोवाटको स्टेशनबाट करिब १८ मिनेट, २५० किलोवाट क्षमताको स्टेशनबाट चार्ज गर्न करिब २४ मिनेट लाग्थ्यो । बीवाईडीसँग १८० किलोवाटको भएकाले १०० किलोवाटलाई फूल चार्ज गर्न करिब ३३ मिनेट लाग्थ्यो । 

८३.२ किलोवाटको ब्याट्री चार्ज गर्न ३५० किलोवाटको स्टेशनबाट करिब १८ मिनेट, २५० किलोवाट क्षमताको स्टेशनबाट चार्ज गर्न करिब २४ मिनेट लाग्थ्यो । १८० किलोवाटको स्टेशनबाट ८३.२ मेगावाटको लागि करिब २७ मिनेट समय लाग्थ्यो । घरमा राखिने चार्जरको भने क्षमता कम हुने भएकोले यसबाट फूल चार्ज हुन लामो समय लाग्ने गर्छ ।

(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप