बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

यूईएफए नेसन्स लिग फुटबल : इटालीलाई स्तब्ध पार्दै जर्मनी अन्तिम चारमा

सोमबार, ११ चैत २०८१, ०९ : ३५
सोमबार, ११ चैत २०८१

काठमाडौँ । बलियो प्रतिद्वन्द्वी इटालीलाई स्तब्धः पार्दै जर्मनी यूईएफए नेसन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । जर्मनी र इटालीबिच खेलिएको क्वार्टरफाइनलको दोस्रो लेग खेल ३–३ गोलको बराबरीमा सकिएको थियो ।

त्यसपछि क्वार्टरफाइनलको पहिलो लेग खेलको नतिजाका आधारमा जर्मनी सेमिफाइनलमा पुग्न सफल भएको हो । क्वार्टरफाइनलको पहिलो लेग खेलमा २–१ ले विजयी भएको जर्मनी ५–४ कुल गोल भिन्नताका आधारमा सेमिफाइनलमा पुग्यो । 

जर्मनी पहिलो पटक यूईएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको हो । दोस्रो लेग खेल जर्मनीको घरेलु मैदानमा खेलिएको थियो । दोस्रो लेग खेलमा जर्मनीले तीनवटै गोल पहिलो हाफमा र इटालीले तीनवटै गोल दोस्रो हाफमा गरेका थिए । 

खेलमा सुरुवाती अग्रता पनि जर्मनीले नै लिएको थियो । खेल सुरु भएको ३०औँ मिनेटमा जर्मनीका लागि जोसुवा किमिचले पहिलो गोल गरेका थिए । किमिचले पेनाल्टीमार्फत गोल गरेका हुन् । त्यसको ६ मिनेटपछि नै जमाल मुसियालाले जर्मनीको अग्रता दोब्बर बनाएका थिए । 

पहिलो हाफको खेल सकिनुभन्दा ठिकअघि टिम क्लाइन्डिन्स्टले जर्मनीका लागि तेस्रो गोल थपेका थिए । दोस्रो हाफमा भने घरेलु टोली जर्मनी रक्षात्मक बन्न पुगेको थियो । निर्धारित समयको ४९औँ मिनेटमा इटालीका लागि मोइसे किनले पहिलो गोल गरेका थिए ।

यसैगरी, ६९औँ मिनेटमा उनले नै इटालीका लागि दोस्रो गोल थपेका थिए । दोस्रो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा इटालीका लागि जाइकोमो रास्पाडोरीले अर्को गोल गरेका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । 

जर्मनीले सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी पोर्चुगलको सामना गर्नेछ । पोर्चुगल भने क्वार्टरफाइनलमा डेनमार्कलाई हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । सेमिफाइनल खेल आगामी जुन ४ तारिखमा खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप