बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय
सन्दर्भः विश्व क्षयरोग दिवस

क्षयरोगका ४० प्रतिशत बिरामी उपचारको दायरा बाहिर

सोमबार, ११ चैत २०८१, ०७ : २८
सोमबार, ११ चैत २०८१

काठमाडौँ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौँ । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइँदै छ । नेपालमा भएका क्षयरोगका बिरामीमध्ये ४० प्रतिशत बिरामी उपचारको दायरा बाहिर रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको अनुमान छ ।

केन्द्रका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ४० हजार ७७६ जना क्षयरोगका बिरामी उपचाररत छन् । नेपालमा वार्षिक ६८ हजार क्षयरोगका बिरामी हुने गरेको केन्द्रको तथ्याङ्क छ । उपचारको दायरामा नआउने र लुकेर बस्ने बिरामीको खोजी गर्न केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गरेको केन्द्रकी सूचना अधिकारी तथा नर्सिङ अधिकृत थुमा पुनले बताइन् । यसमध्ये क्षयरोगी बिरामीमा पुरुषको संख्या ६१ प्रतिशत तथा महिलाको संख्या ३९ प्रतिशत छ ।

क्षयरोगका लागि १ अर्ब १५ करोड २० लाख बजेट छुट्ट्याए पनि हाल केन्द्रसँग करिब ९० करोडमात्रै छ । यस्तै, क्षयरोग उपचारमा देशभरका बिरामीको समान पहँुच नहुनु, क्षयरोग उपचार र व्यवस्थापनमा निजी क्षेत्रको अर्थपूर्ण सहभागिता नहुनु लगायत चुनौती रहेको पुनले बताइन् ।

स्वास्थ्य क्षेत्रभित्र र बाहिर रणनीतिक साझेदारहरूबिच सीमित संलग्नता लगायत चुनौती पाइएको छ । नेपालमा क्षयरोगको उपचार निःशुल्क गरिए पनि स्वास्थ्य संस्थासम्म पुग्नका लागि यातायात खर्च आवश्यक पर्ने भएकाले कतिपयले औषधि उपचारमा लापरबाही गरेको विज्ञ बताउँछन् । यो सरुवा रोग भएकाले उपचारविना घरमा बस्दा परिवारका अन्य सदस्यलाई सर्ने सम्भावना बढ्ने छाती रोग विशेषज्ञ डा.दीर्घसिंह बम बताउँछन् । ‘जहाँ गरिबी छ, त्यहाँ टीबी (क्षयरोग) छ,’ उनले भने । गरिब मान्छेलाई खान–लाउनकै सकस हुने भएकाले समयमै रोग पहिचान गर्न नसक्दा यो रोग फैलिने गरेको उनको भनाइ छ ।

  • के हो क्षयरोग ?

क्षयरोग ‘माइकोबेक्टेरियम ट्युबरक्लोसिस’ नामक कीटाणुको सङ्क्रमणबाट लाग्ने सरुवा रोग हो । यो रोगलाई सामान्य भाषामा टीबी भनेर पनि बुझिन्छ । प्रायःजसो यो रोग श्वासप्रश्वासबाट सर्ने छातीरोग विशेषज्ञ डा.दीर्घसिंह बमले बताए ।

‘सामान्यतया क्षयरोग औषधि खायो भने निको हुन्छ,’ उनले भने, ‘यदि कुनै पनि व्यक्तिको खकारमा कीटाणु देखिएको छ भने आफ्नै शरीरभित्र अन्य भागमा पनि सर्न सक्छ । फोक्सोको टीबी लागेको छ भने छालामा, दिमागमा, पेटमा वा हड्डीमा सर्न सक्छ । अर्थात् शरीरको सम्पूर्ण भागमा जान सक्छ ।’

कसरी सर्छ ?

सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा नजिक बस्ने व्यक्तिलाई यो रोग सर्न सक्ने डा. बम बताउँछन् । श्वासप्रश्वासबाट कणहरू हावामा निस्कने र त्यसको माध्यमबाट अन्य व्यक्तिमा सर्ने उनले सुनाए ।

‘कुनै व्यक्तिलाई फोक्सोको टीबी छ भने त्यो व्यक्तिले जहाँ–जहाँ थुक्छ, त्यहाँ–त्यहाँ टीबीको कीटाणु हुन्छ,’ उनले भने, ‘हावाको माध्यमबाट त्यो कीटाणु अरूलाई सर्छ ।’

क्षयरोगले शरीरको अङ्गमध्ये सबैभन्दा बढी फोक्सोमा सङ्क्रमण गर्ने उनले बताए । उपचार नपाएमा शरीरको अरू अङ्गमा पनि सर्न सक्ने उनको भनाइ छ । फोक्सोबाहेक शरीरको अन्य भागमा ग्रन्थी, आन्द्रा, पेट, मेरुदण्ड, हाड, प्रजनन, छाला, आँखा र टाउको आदिमा पनि टीबीले सङ्क्रमण हुने उनले उल्लेख गरे ।

लक्षण के ?

क्षयरोगको लक्षण अङ्ग अनुसार फरक हुन्छ । तर सामान्यतया मान्छे दुब्लाउँदै जानु, मन्द गतिको ज्वरो आउनु र खानमा रुचि नहुनु लगायत क्षयरोगको लक्षण हुने डा. बमले बताए । ‘खोकी लाग्ने, रगत आउने यो पछिको लक्षण हो,’ उनले भने, ‘फोक्सोको क्षयरोग भएमा खोकी लाग्ने, दिमागको क्षयरोग भएमा टाउको दुख्ने, पेटको टीबी भएमा दिसा लागिरहने, पेट दुख्ने, दुब्लाउँदै जाने हुन्छ । त्यस कारणले क्षयरोगले कुन अङ्गमा सङ्क्रमण गरेको हुन्छ, सो अनुसार फरक लक्षण हुन्छ ।’

  • उपचार

क्षयरोग लागेको शङ्का लाग्नासाथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखी निःशुल्क खकार–रगत परीक्षण गर्न सकिन्छ । क्षयरोगको उपचार गरेमा ९५ प्रतिशत निको हुने डा. बमले सुनाए ।

‘क्षयरोग नियमित रूपमा एन्टीबायोटिक औषधि खाँदा पूर्ण रूपमा निको हुन्छ,’ उनले भने, ‘उपचार अवधि भने सङ्क्रमित अङ्ग, रोगको प्रकृति हेरी फरक हुन्छ । समयमा उपचार नहुँदा परिवारका अन्य सदस्य र त्यसबाट अन्त सर्ने सम्भावना अत्यधिक हुन्छ ।’

नेपाल सरकारले ७७ जिल्लामा समुदायस्तरका स्वास्थ्य चौकी, अस्पताल, स्वास्थ्य क्षेत्रका युनिभर्सिटी लगायतमा निःशुल्क औषधि उपलब्ध गराएको डा. बमले बताए । ‘बालबालिकादेखि वृद्धसम्मका लागि औषधि निःशुल्क छ,’ उनले भने ।

औषधि खाएर आफूलाई ठिक भएको महसुस गर्ने बित्तिकै बिचमै औषधि छाड्ने गर्दा केही समयको लागि निको भएको जस्तो भए पनि पछि जटिल समस्या देखा पर्ने उनले उल्लेख गरे । ‘शरीरको भित्री भागमा भएको ब्याक्टेरिया नास भैसकेको हुँदैन । त्यसको परिणामस्वरूप झन् कीटाणुहरू एन्टीबायोटिकविरुद्ध बलियो भएर आउँछ,’ उनले भने, ‘प्रयोग गरिरहेको औषधिले समेत काम नगर्ने हुन्छ । त्यस्ता बिरामीको लागि लामो समयसम्मका लागि कडा औषधि चलाउन पर्ने अवस्था सिर्जना हुन्छ ।’

  • क्षयरोगका बिरामीले औषधि कति समय खानुपर्छ ?

सरकारले क्षयरोग लागेका बिरामीलाई पूरा मात्रामा औषधिहरू निःशुल्क वितरण गर्छ । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी यी औषधि नियमित रूपमा बिचमा नछुटाई ६ देखि ८ महिनासम्म सेवन गरेमा क्षयरोग पूर्ण रूपमा निको हुने डा. बमले सुनाए । औषधि खाँदै गर्दा बिचमा छोडेमा जटिल समस्या आउन सक्ने उनको भनाइ छ ।

यो रोग लागेमा सुर्तीजन्य पदार्थ, लागु औषध वा पदार्थ र मादक पदार्थ सेवन गर्नु नहुने डा. बमले सुझाए ।

नेपालमा क्षयरोगका बिरामी उपचारका पहुँचको दायरामा ल्याउन संघ, प्रदेश र स्थानीय तहको महत्त्वपूर्ण भूमिका हुन्छ । तीनै तहका सरकारले एकअर्कामा समन्वय गरी उपचारको सहज पहुँच पुर्‍याउनु पर्ने विज्ञ बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप