बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

चन्द्रवीरले खनेको त्यो बाटो...

सोमबार, ११ चैत २०८१, ०६ : २४
सोमबार, ११ चैत २०८१

दाङ । श्रीमतीसँगै छोराहरू पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो । राप्ती लोकमार्ग नजिकै भए पनि त्यही लोकमार्गसम्म पुग्ने बाटो नभएपछि तुलसीपुर उपमहानगरपालिका–३ साततलेका चन्द्रवीर वलीले बुढेसकालमा दुई वर्ष लगाएर बाटो खने । 

न त कसैले बाटो खन्न सहयोग गरे, न त कसैले चासो दियो । एक्लै दुई वर्ष लगाएर दुई किलोमिटर बाटो खनेका चन्द्रवीरलाई अहिले भने निकै सहज भएको छ । चन्द्रवीरले खनेको गोरेटो बाटोमा तुलसीपुर उपमहानगरपालिकाले सडक नै निर्माण गरिदिएको छ ।  

विसं २०७३ मा वलीले दुई वर्ष लगाएर खन्नुभएको गोरेटो बाटो सडकमा परिणत भएको हो । अहिले गाडी, अटो, मोटरसाइकल त्यही बाटोमा गुड्छन् । त्यहाँबाट खमारी जान त्यही छोटो बाटो प्रयोग हुने गरेको छ । चन्द्रवीरले दृष्टिविहीन श्रीमती र चार छोराका लागि बाटो खनेका हुन् । “श्रीमती पनि आँखा नदेख्ने, छोराहरू पनि आँखा नदेख्ने थिए, बजार जानलाई बाटो थिएन”, उनले भने, “श्रीमती र छोरा लड्लान् भनेर त्यो बाटो खनेको थिएँ, अहिले यही बाटोमा गाडी चल्ने भए ।”

उनका पाँच छोरा र एक छोरी थिए । एउटा छोरा र छोरीको सानैमा मृत्यु भयो । अहिले भएका चार छोरामध्ये कान्छो छोराले मात्रै आँखा देख्छन्, अन्य तीन छोराले आँखा देख्दैनन् । 

अहिले उनका जेठो छोरा काठमाडौँमा दोहोरी साँझमा काम गर्छन् भने माइलाले तुलसीपुर बजारमा गीत गाएर आम्दानी गर्छन् । कान्छो छोरा काठमाडौँमै छन्, उनले पनि दृष्टिविहीनलाई बाटो देखाउने काम गर्छन् । 

चन्द्रवीरका लागि अहिले घरैमा कसै कसैले सहयोग दिन्छन्  । त्यही सहयोगबाट उनको दैनिकी चलेको छ । “कहिले मास्टर आउनुहुन्छ, कहिले इन्जिनियर आउनुहुन्छ”, उनले भने, “यसरी नै आउने सबैले चामल, दाल ल्याइदिनुहुन्छ, हाम्रो जीवन यसरी चलेको छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप