बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

बाढीपहिरोको छ महिना : स्थानीय तहद्वारा तथ्याङ्क पठाउन आलटाल

सोमबार, ११ चैत २०८१, ०६ : १९
सोमबार, ११ चैत २०८१

काभ्रेपलाञ्चोक । छ महिनासम्म स्थानीय तहले प्रभावितको तथ्याङ्क नपठाउँदा जिल्लाका बाढिपहिरोपीडितले अझै सरकारी राहत रकम तथा अनुदान पाउन सकेका छैनन् । जिल्लास्थित विपद् व्यवस्थापन समितिले छ महिनादेखि बैठकमार्फत स्थानीय तहलाई पटकपटक ‘गाँस–बास–कपास गुमाएका’लाई राहत दिन प्रभावितको तथ्याङ्क पठाउन ताकेता गरिरहेको छ । 

राहत तथा अनुदानका लागि स्थानीय तहले लाभग्राहीको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् ‘पोर्टल’मा तथ्याङ्क अनिवार्य प्रविष्ट गरेपछि मात्रै राहत अनुदान आउनेछ । 

गत असोज १०–१२ मा परेको अविरल वर्षातले पुर्‍याएको क्षतिका विवरण सङ्कलन गरी जिल्लास्थित विपद् व्यवस्थापन समितिमा बुझाउन केही स्थानीय तहले आलटाल गरेका छन् । पोर्टलमा विपद्सम्बन्धी  विवरण भर्ने गरी स्थानीय सरकारलाई दिएको समयसीमा भित्र पाँचवटा स्थानीय तहले अझै विवरण उपलब्ध गराएका छैनन् ।  

काभ्रेपलाञ्चोकको १३ मध्ये पाँच स्थानीय तहले विवरण नबुझाएका हुन् । क्षति भएका घरहरूको विवरण सङ्कलन गरी स्थानीय विपद् व्यवस्थापन समितिबाट निर्णय गरी जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको निर्णयका आधारमा सरकारले पीडितहरूलाई रु २५ हजार राहत दिने छ । विपद्को ६ महिनासम्म बनेपा, पनौती, तेमाल, भुम्लु र मण्डनदेउपुरले विवरण सङ्कलन गरी पोर्टलमा दर्ता गरेका छैनन् भने दर्ता भएका विवरणहरू पनि स्थानीय तहमा रहेको विपद् व्यवस्थापन समितिबाट जिल्लास्थित समितिमा बुझाएका छैनन् । 

जिल्ला प्रशासन कार्यालयले पोर्टलमा दर्ता भएका र स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिबाट निर्णय भई आएका नमोबुद्ध नगरपालिकाका ८२४ घर, बेथानचोक गाउँपालिकाका २३९ घर र महाभारत गाउँपालिकाका १७ घर परिवारका लागि रु २५ हजारका दरले अस्थायी आवासका लागि राहत उपलब्ध गराउन गृह मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन समितिलाई निकासा माग गरेको छ । निकासा माग गरेको तीन हप्तासम्म पनि मन्त्रालयले अस्थायी आवासका लागि रकम निकासा नगरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिलो चरणमा रु दुई करोड ७० लाख अस्थायी आवास निर्माणका लागि निकासा माग गरिएको छ ।

धुलिखेल नगरले ८६, रोशीले ५४८, चौरीदेउरालीले २८०, खानीखोलाले ५३ र पाँचखालले १२५ घर परिवारका लागि अस्थायी आवास निर्माण गर्न सिफारिस गरेको भए पनि स्थानीय विपद् व्यवस्थापन समितिबाट निर्णय नगरेकाले मन्त्रालयमा रकम माग गर्न नमिलेको जनाइएको छ । “तीव्र रुपमा वडागतरुपमा प्राप्त विवरण छानबिन भइरहेको छ, अब केही दिनमै सक्नेछौँ”, पनौतीका प्रमुख रामशरण भण्डारीले भने । प्राधिकरणबाट निकासा भएलगत्तै स्थानीय विपद् व्यवस्थापन समितिमा रकम निकासा भएपछि लाभग्राहीलाई वितरण गरिने जनाइएको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले स्थानीय तहलाई पटकपटक लाभग्राहीको विवरण प्रविष्ट गर्न पत्राचार गरिएको बताए । “स्थानीय तहले ढिलाइ गर्दा बाढीपहिरोपीडितले अस्थायी आवास निर्माणको रकम पाउन ढिलाइ भइरहेको हो”, उनले भने । समितिको बैठकले सबै विषयगत क्लस्टरहरुलाई पीडितको अपडेट र पूर्वतयारीका कार्यहरू यही फागुन २० गतेभित्र टुङ्ग्याउन निर्देशन दिने निर्णयसमेत गरेको छ । 

समितिद्वारा अस्थायी आवास निर्माणका लागि रु ५० हजार उपलब्ध गराउने मापदण्ड अनुसारको विवरणसमेत स्थानीय तहसँग माग गरिएको हो । गत असोजको  वर्षाको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा ७९ को मृत्यु भएको थियो भने छ जना अझै बेपत्ताको अवस्थामा छन् । कार्यालयको प्रारम्भिक विवरणअनुसार भने जिल्लामा दुई हजार ८४४ घर पूर्ण र छ हजार ४६ घरमा आंशिक क्षति पुगेको छ । तीन हजारदेखि तीन हजार पाँच सय घर पुनर्निर्माण गर्नुपर्ने देखिएको प्रारम्भिक विवरणमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप