मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय

बाढीपहिरो : छ महिनामा पनि स्थानीय तहले तथ्याङ्क नपठाउँदा पीडितले पाएनन् सरकारी राहत र अनुदान

सोमबार, ११ चैत २०८१, ०५ : २६
सोमबार, ११ चैत २०८१

काभ्रेपलाञ्चोक । बाढीपहिरोको छ महिनासम्म पनि स्थानीय तहले प्रभावितको तथ्याङ्क नपठाउँदा पीडित परिवारले अझै सरकारी राहत रकम तथा अनुदान पाउन सकेका छैनन् । जिल्लास्थित विपद् व्यवस्थापन समितिले छ महिनादेखि बैठकमार्फत स्थानीय तहलाई पटक-पटक ‘गाँस–बास-कपास गुमाएका’लाई राहत दिन प्रभावितको तथ्याङ्क पठाउन ताकेता गरिरहेको छ । 

राहत तथा अनुदानका लागि स्थानीय तहले लाभग्राहीको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् ‘पोर्टल’मा तथ्याङ्क अनिवार्य प्रविष्ट गरेपछि मात्रै राहत अनुदान आउनेछ । 

गएको असोज १०–१२ मा परेको अविरल वर्षातले पुर्‍याएको क्षतिका विवरण सङ्कलन गरी जिल्लास्थित विपद् व्यवस्थापन समितिमा बुझाउन केही स्थानीय तहले आलटाल गरेका छन् । पोर्टलमा विपद्सम्बन्धी  विवरण भर्ने गरी स्थानीय सरकारलाई दिएको समयसीमा भित्र पाँचवटा स्थानीय तहले अझै विवरण उपलब्ध गराएका छैनन् ।  

काभ्रेपलाञ्चोकको १३ मध्ये पाँच स्थानीय तहले विवरण नबुझाएका हुन् । क्षति भएका घरहरुको विवरण सङ्कलन गरी स्थानीय विपद् व्यवस्थापन समितिबाट निर्णय गरी जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको निर्णयका आधारमा सरकारले पीडितहरुलाई रु २५ हजार राहत दिने छ । विपद्को ६ महिनासम्म बनेपा, पनौती, तेमाल, भुम्लु र मण्डनदेउपुरले विवरण सङ्कलन गरी पोर्टलमा दर्ता गरेका छैनन् भने दर्ता भएका विवरणहरु पनि स्थानीय तहमा रहेको विपद् व्यवस्थापन समितिबाट जिल्लास्थित समितिमा बुझाएका छैनन् । 

जिल्ला प्रशासन कार्यालयले पोर्टलमा दर्ता भएका र स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिबाट निर्णय भई आएका नमोबुद्ध नगरपालिकाका ८२४ घर, बेथानचोक गाउँपालिकाका २३९ घर र महाभारत गाउँपालिकाका १७ घर परिवारका लागि रु २५ हजारका दरले अस्थायी आवासका लागि राहत उपलब्ध गराउन गृह मन्त्रालय अन्र्तगतको विपद् ब्यवस्थापन समितिलाई निकासा माग गरेको छ । 

निकासा माग गरेको तीन हप्तासम्म पनि मन्त्रालयले अस्थायी आवासका लागि रकम निकासा नगरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिलो चरणमा रु दुई करोड ७० लाख अस्थायी आवास निर्माणका लागि निकासा माग गरिएको छ ।

धुलिखेल नगरपालिकाले ८६, रोशीले ५४८, चौरीदेउरालीले २८०, खानीखोलाले ५३ र पाँचखालले १२५ घर परिवारका लागि अस्थायी आवास निर्माण गर्न सिफारिस गरेको भए पनि स्थानीय विपद् व्यवस्थापन समितिबाट निर्णय नगरेकाले मन्त्रालयमा रकम माग गर्न नमिलेको जनाइएको छ । प्राधिकरणबाट निकासा भएलगत्तै स्थानीय विपद् व्यवस्थापन समितिमा रकम निकासा भएपछि लाभग्राहीलाई वितरण गरिने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप