१२ बजे, १२ समाचार : स्ववियु घोषणाले आदर्श बहुमुखी क्याम्पसमा चर्कियो विवाददेखि गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौंमा स्वागतसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. आदर्श बहुमुखी क्याम्पसमा चर्कियो विवाद
त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गत धादिङको गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) घोषणा गरेपछि विवाद चर्किएको छ। एक विज्ञप्तिमार्फत अनेरास्ववियु र नेविसंघले स्ववियु निर्वाचन कार्यालयले स्ववियु निर्वाचनको प्रक्रिया पारदर्शी नबनाएको आरोप लगाएका छन्। आफूहरुले स्ववियु निर्वाचनसँग सम्बन्धित मागहरू पूरा गर्न प्रशासनले चासो नदेखाएमा आन्दोलनको चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ।
२. भोलि प्रमुख तीन दलको बैठक बस्ने
सोमबार (भोलि) नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेता सम्मिलित बैठक बस्ने भएको छ । उक्त बैठकमा सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धमा छलफल हुने बताइएको छ ।
३.राप्रपाको सभापति बन्न पूर्वराजालाई देउवाको सुझाव
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको सभापति बन्न सुझाव दिएका छन् । राजतन्त्रको पक्षपाती रहेको राप्रपाले ज्ञानेन्द्र शाहलाई नै पार्टीको नेतृत्व सुम्पिए हुने उनको भनाइ थियो ।
४. उपप्राध्यापक चलाउनेमाथि कुटपिटमा संलग्न नेविसंघ नेता कारागार चलान
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने नेविसंघका नेता योगेन्द्र रावललाई प्रहरीले पक्राउ गरेको छ । रावललाई कीर्तिपुरबाट पक्राउ गरी अदालत उपस्थित गराइको थियो । अदालतको आदेश अनुसार रावललाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
५. चैत १५ मा हुने दुई पक्षीय प्रदर्शनबारे सुरक्षा समितिमा छलफल
चैत १५ मा गणतन्त्रको पक्ष र विपक्षमा काठमाडौँमा प्रदर्शन हुँदैछ । आइतबार गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकमा चैत १५ मा हुने दुई वटा प्रदर्शनबारे छलफल भएको छ ।
६. राजावादी नेताका अवसरवादी चरित्र
अहिले राजावादी देखिएका कयौँ नेताले विभिन्न समयमा आफूलाई त्यो पहिचानबाट अलग राख्न प्रयास गरेका थिए । कुनै बेला राप्रपा नेपालका अध्यक्ष कमल थापादेखि लिएर पशुपति शमशेर राणा, ज्ञानेन्द्र बहादुर शाही, रविन्द मिश्रले समेत आफूलाई राजावादी पहिचानबाट अलग राख्ने प्रयास गरेका थिए ।
७. इन्सपेक्टर सन्तोषी मृत्यु प्रकरणमा हवलदार पनि पक्राउ
सशस्त्र प्रहरी बलमा कार्यरत इन्स्पेक्टर सन्तोषी महतलाई आत्महत्या दुरुत्साहन गर्न बाध्य पारेको आरोपमा हवल्दार पनि पक्राउ परेका छन् । पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा कार्यरत हवल्दार रेशम बहादुर शाहीलाई पनि पक्राउ गरिएको कास्कीका एसपी श्यामबाबु ओलियाले रातोपाटीलाई बताए ।
८. काठमाडौँ महानगरका कर्मचारीको तलब रोकियो
तीन महिनादेखि काठमाडौँ महानगरपालिकाका मेयरदेखि सरसफाइ कर्मचारीको तलब रोकिएको छ । सरकारले तीन महिनासम्म महानगरमा प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा समस्या देखिएको हो ।
९. प्रेस चौतारीको नेतृत्व चयन प्रक्रियामै विवाद
सत्तारुढ नेकपा एमाले निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारीमा विवाद देखिएको छ । विराटनगरमा आजदेखि सुरु भएको दसौँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामै विवाद भएको हो ।
१०. राष्ट्रपति समक्ष प्रधानमन्त्रीले पेस गरे वार्षिक प्रतिवेदन
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक प्रतिवेदन पेस गरेका छन् । आइतबार प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
११. पञ्चायत हल्लाउने स्ववियु अहिले कुन अवस्थामा
कुनै बेला नेपाली विद्यार्थी आन्दोलनले प्रजातन्त्रका लागि संघर्ष गर्ने राजनीतिक दलहरूलाई ठुलो ऊर्जा र ढाडस दिन्थ्यो । विद्यार्थी आन्दोलनले पञ्चायती व्यवस्थालाई समेत हल्लाउने गरेको थियो । अहिले विद्यार्थी आन्दोलन कुन अवस्थामा छ भन्नेबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
१२. गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौँमा स्वागत
गोरखा भ्रमणबाट काठमाडौँ फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँमा स्वागत गरिएको छ । आइतबार साँझ सामाखुसी चोकमा उनको स्वागत गरिएको हो । गोरखाबाट फर्कँदा नुवाकोट शिवपुरी हुँदै काठमाडौँ फर्केका शाहलाई राजावादी समूह शाही युवा शक्ति नेपालका कार्यकर्ताले स्वागत गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विरोधबिच कुलमान आउट, हितेन्द्र इन
-
एएफसी एसिया कप छनोट : मलेसियासँग हार्यो नेपाल
-
अब एनआरएनएलाई रिब्रान्डिङ गर्नुपर्छः शेष घले
-
श्रेयस र शशांकको शानदार ब्याटिङ, गुजरातसामु २ सय ४४ रनको लक्ष्य
-
विश्व समुदाय मिलेर कार्बन उत्सर्जन घटाउनुपर्छः वनमन्त्री शाही
-
कम स्रोतबाट धेरै नागरिक लाभान्वित हुनेगरी काम गरौँ - सहरी विकासमन्त्री