बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय
प्रदेश

पर्यटक लोभ्याउँदै शुक्लाफाँटा : जङ्गल प्रवेश गर्ने बित्तिकै देख्न सकिन्छ विभिन्न जीवजन्तु

सोमबार, ११ चैत २०८१, ०६ : ००
सोमबार, ११ चैत २०८१

धनगढी । कञ्चनपुरको महेन्द्रनगरमा पुनः सञ्चालनको चरणमा रहेको मझगाउँ विमानस्थलको किनारैकिनार कालोपत्रे सडक हुँदै केही मिनेट हिँडेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार पुगिन्छ ।

गेट अगाडि बाह्रसिंगेको मुर्ति राखिएको छ । बाह्रसिंगे शुक्लाफाँटाको मुख्य आकर्षण हो ।

निकुञ्जभित्र घुम्न जाने नेपाली नागरिकका लागि एक सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । यहाँ आउने पर्यटकले जङ्गल सफारीको आनन्द लिन सक्छन् ।

जङ्गल सफारी गर्न आउनेले कारको एक हजार पाँच सय, १२ जनासम्म भए जिपको दुई हजार पाँच सय र १६ जनासम्म भए भ्यानको तीन हजार प्रवेश शुल्क तिर्नुपर्छ । आफ्नै गाडी वा भाडाको गाडी पनि यहाँ लान मिल्छ ।

निकुञ्ज कार्यालयका प्रमुख वरिष्ठ संरक्षण अधिकृत मनोज कुमार साहले निकुञ्जभित्र पर्यटकको सुविधाका लागि गाडी हिँड्ने बाटो ग्राभेल गरिएको बताए । उनले खोल्सा र कुला परेका ठाउँमा सुन्दर देखिने काठे पुल बनाइएको जानकारी दिए ।

1

‘मझगाउँदेखि शुक्लाफाँटासम्म २५ किलोमिटर जङ्गल सफारी गर्न मिल्छ । शिलालेख हुँदै त्यहाँबाट बर्कौला भएर रिङ बनाएर फर्किन मिल्छ । अहिले यो रुटमा धेरैले सफारी गर्न रुचाएका छन्,’ साहले भने ।

२५ किलोमिटर गाडी सफारी गर्न २ घण्टाजति समय लाग्छ । यहाँ नेचर गाइड पनि छन् । उनीहरू दिनभरि घुमाएको २ हजार र आधा दिनको एक हजार शुल्क लिन्छन् ।

यहाँ पुग्ने पर्यटकले सस्तोमै हात्ती सफारी पनि गर्न सक्छन् । निकुञ्ज कार्यालयका प्रमुख साहले नेपाली नागरिक भए पाँच सय रुपैयाँमै पिपरियादेखि शुक्लाफाँटासम्म हात्ती सफारी गर्न मिल्ने बताए ।

शुक्लाफाँटाभित्र जङ्गल सफारी गर्दा वन्यजन्तुहरू नजिकैबाट अवलोकन गर्न सकिन्छ । ‘वाइल्डलाइफ भ्यू यहाँको महत्त्वपूर्ण विशेषता हो । अरु निकुञ्जभन्दा यहाँ जङ्गल प्रवेश गर्ने बित्तिकै जीवजन्तुहरू देख्न थालिन्छ,’ उनले भने ।

शुक्लाफाँटाभित्र पस्नासाथ हरिण, मृग, रतुवा, जङ्गली बँदेलका ठुला झुण्ड देखिन थाल्छन् । बाटोमै मयुर, तित्रा भेटिन्छन् ।

‘अहिले भित्र पुगेपछि बाटोमै बाघ पनि देखिन्छ,’ उनले भने ।

गाडी हिँड्न बनाइएका बाटामा बाघका पञ्जाका निसान त जहिल्यै हुन्छन् । शुक्लाफाँटामा अहिले १९ वटा बाघ छन् ।

बाटामै रानीताल, बाबाताल, बठनिया ताल, सिकारीताल लगायतका एक दर्जनभन्दा बढी ताल हेर्न मिल्छ । ती तालमा एकैठाउँमा ८ किसिमका लोपोन्मुख प्रजातिका चरा पनि देखिन्छन् ।

बाटामा सिंहपाल बाबाको मन्दिर पनि छ । यहाँ मानिसहरू दर्शनका लागि पनि आउँछन् ।

2

घाँसे मैदानतिर जानेबेला बाटोमा पर्ने बाहुनीखोलामा मगर गोही देख्न सकिन्छ । बाहुनीखोलामाथिको काठेपुलबाट गोही हेर्नेबेला गैंडाको अवाज सुन्न सकिन्छ । यहाँ अहिले २३ वटा गैंडा छन् ।

घाँसे मैदानमा पुग्दा छुट्टै शान्ति र आनन्द महसुस हुन्छ । आँखाको नजर पुगेसम्म हरियो र रातो रङको घाँसे मैदान देखिन्छ । अवलोकनका लागि ठाउँठाउँमा मचान बनाइएका छन् ।

यही घाँस चर्ने बाह्रसिंगेका झुण्ड मैदानमा देखिन्छन् । शुक्लाफाँटामा अहिले २ हजार तीन सय बाह्रसिंगे छन् ।

५४.५ वर्ग किलोमिटर ठुलो घाँसे मैदान तथा चिस्यान क्षेत्र भएकाले शुक्लाफाँटा बाह्रसिंगेको रोजाइ बनेको छ ।

शुक्लाफाँटा तराई भू–परिधिलाई जोड्ने मध्यवर्ती क्षेत्र पनि हो । यसले दक्षिणतिर भारतको लग्गाबघासहित दुई देशका ११ वटा संरक्षित क्षेत्र जोड्ने हुनाले यहाँ जैविक मार्ग पनि पर्दछन् ।

शुक्लाफाँटामा यतै बस्ने १० वटा रैथाने हात्ती छन् । वर्षौंदेखिको बाटो हुँदै भारतबाट पनि ठुलो संख्यामा एशियन हात्ती नेपाल आउँछन् ।

4

‘हात्ती आफ्ना पुर्खा हिँडेको बाटो हुँदै वर्षौंदेखि यहाँ पुग्छन्, उनीहरू यता घुम्छन् । फेरि फर्किन्छन्,’ साहले भने ।

नेपालका राष्ट्रिय निकुञ्जहरू यहाँ आउने तेस्रो मुलुकका पर्यटकहरूका लागि मुख्य गन्तव्य हुन् । वन्यजन्तुहरूको प्रत्यक्ष अवलोकन गर्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पनि त्यस्ता गन्तव्यमध्येको एक हो ।

३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ११८ प्रजातिका वनस्पति पाइन्छन् ।

यहाँ घस्रने जन्तुका १२ प्रजाति पाइन्छन् । उभयचरका २० प्रजाति, माछाका २४ प्रजाति, पुतलीका ३५ प्रजाति र सबैभन्दा बढी ४५० प्रजातिका चरा पाइन्छन् ।

निलगाई, बाघको आहार प्रजाति, अजिंगर पनि यहाँ पाइन्छन् ।

२०२६ सालमा सिकार आरक्षका रूपमा खुलेको शुक्लाफाँटा २०३३ मा वन्यजन्तु आरक्षका रूपमा स्थापना भएको थियो । २०७३ सालमा यो राष्ट्रिय निकुञ्ज बनेको हो ।

कोरोनाको महामारीपछि एक चौथाइको संख्याले घटेका पर्यटक फेरि शुक्लाफाँटा आउन थालेका छन् ।

7

२०७५ सालमा शुक्लाफाँटामा १२ हजार पर्यटक भित्रिएका थिए । पहिलो चरणको कोरोना भाइरसको प्रभाव भएको २०७६ सालमा यहाँ आउने पर्यटक संख्या घटेर आधा भएको थियो । त्यस वर्ष चैतपछि निकुञ्ज बन्द रह्यो । त्यसपछि ९ हजारभन्दा बढी पर्यटक आएका थिए । पछिल्लो समय टिकटक बनाउन, सामाजिक सञ्जालमा तस्बिरहरू राख्न पनि मानिस शुक्लाफाँटामा पुग्न थालेका छन् ।

कञ्चनपुरमा अवस्थित १.४ किलोमिटर लम्बाई भएको महाकालीमाथिको झोलुङ्गे पुल नेपालमै प्रख्यात छ । अहिले त्यही पुल नजिकै चार लेनको मोटरेवल पक्की पुल बनिरहेको छ । महाकाली पारीको दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरगाह बनाउने विषय सरकारी योजनामै परेपछि कञ्चनपुरमा थप चहलपहल बढ्नु स्वाभाविकै हो ।

स्थानीय रमेश चन्दले झोलुङ्गे पुल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, पूर्णागिरीसँग जोडिएको सिद्धनाथ मन्दिर लगायतले बर्सेनि लाखौँ मानिस महेन्द्रनगर र आसपासका क्षेत्रमा आउने गरेको बताए ।

यहाँ आउने मानिसलाई लक्षित गरेर महेन्द्रनगरमा सानाठुला होटल पनि धेरै खुलेका छन् ।

‘अहिले त सस्तोमा अर्ग्यानिक र स्थानीय परिकारसहित बस्न मिल्ने होमस्टे पनि ठाउँठाउँमा छन्,’ चन्दले भने ।

शुक्लाफाँटाका आसपासमै रानाथारु होमस्टे, मगरगाउँ होमस्टे, थारु होमस्टे खुलेका छन् ।

6

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप