१० बजे १० समाचार : भोलि प्रमुख तीन दलको बैठक, पूर्वराजालाई देउवाको सुझाव

आज २०८१ चैत १० गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा भोलि प्रमुख तीन दलको बैठक बस्ने, राप्रपाको सभापति बन्न पूर्वराजालाई देउवाको सुझाव, उपप्राध्यापक चलाउनेमाथि कुटपिटमा संलग्न नेविसंघ नेता कारागार चलान, चैत १५ मा हुने दुई पक्षीय प्रदर्शनबारे सुरक्षा समितिमा छलफल, राजावादी नेताका अवसरवादी चरित्र, इन्सपेक्टर सन्तोषी मृत्यु प्रकरणमा हवलदार पनि पक्राउ, काठमाडौँ महानगरका कर्मचारीको तलब रोकियो लगायत छन् ।
१. भोलि प्रमुख तीन दलको बैठक बस्ने
सोमबार (भोलि) नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेता सम्मिलित बैठक बस्ने भएको छ । उक्त बैठकमा सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धमा छलफल हुने बताइएको छ ।
२. राप्रपाको सभापति बन्न पूर्वराजालाई देउवाको सुझाव
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको सभापति बन्न सुझाव दिएका छन् । राजतन्त्रको पक्षपाती रहेको राप्रपाले ज्ञानेन्द्र शाहलाई नै पार्टीको नेतृत्व सुम्पिए हुने उनको भनाइ थियो ।
३. उपप्राध्यापक चलाउनेमाथि कुटपिटमा संलग्न नेविसंघ नेता कारागार चलान
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने नेविसंघका नेता योगेन्द्र रावललाई प्रहरीले पक्राउ गरेको छ । रावललाई कीर्तिपुरबाट पक्राउ गरी अदालत उपस्थित गराइको थियो । अदालतको आदेश अनुसार रावललाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
४. चैत १५ मा हुने दुई पक्षीय प्रदर्शनबारे सुरक्षा समितिमा छलफल
चैत १५ मा गणतन्त्रको पक्ष र विपक्षमा काठमाडौँमा प्रदर्शन हुँदैछ । आइतबार गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकमा चैत १५ मा हुने दुई वटा प्रदर्शनबारे छलफल भएको छ ।
५. राजावादी नेताका अवसरवादी चरित्र
अहिले राजावादी देखिएका कयौँ नेताले विभिन्न समयमा आफूलाई त्यो पहिचानबाट अलग राख्न प्रयास गरेका थिए । कुनै बेला राप्रपा नेपालका अध्यक्ष कमल थापादेखि लिएर पशुपति शमशेर राणा, ज्ञानेन्द्र बहादुर शाही, रविन्द मिश्रले समेत आफूलाई राजावादी पहिचानबाट अलग राख्ने प्रयास गरेका थिए ।
६. इन्सपेक्टर सन्तोषी मृत्यु प्रकरणमा हवलदार पनि पक्राउ
सशस्त्र प्रहरी बलमा कार्यरत इन्स्पेक्टर सन्तोषी महतलाई आत्महत्या दुरुत्साहन गर्न बाध्य पारेको आरोपमा हवल्दार पनि पक्राउ परेका छन् । पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा कार्यरत हवल्दार रेशम बहादुर शाहीलाई पनि पक्राउ गरिएको कास्कीका एसपी श्यामबाबु ओलियाले रातोपाटीलाई बताए ।
७. काठमाडौँ महानगरका कर्मचारीको तलब रोकियो
तीन महिनादेखि काठमाडौँ महानगरपालिकाका मेयरदेखि सरसफाइ कर्मचारीको तलब रोकिएको छ । सरकारले तीन महिनासम्म महानगरमा प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा समस्या देखिएको हो ।
८. प्रेस चौतारीको नेतृत्व चयन प्रक्रियामै विवाद
सत्तारुढ नेकपा एमाले निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारीमा विवाद देखिएको छ । विराटनगरमा आजदेखि सुरु भएको दसौँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामै विवाद भएको हो ।
९. राष्ट्रपति समक्ष प्रधानमन्त्रीले पेस गरे वार्षिक प्रतिवेदन
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक प्रतिवेदन पेस गरेका छन् । आइतबार प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
१०. पञ्चायत हल्लाउने स्ववियु अहिले कुन अवस्थामा ?
कुनै बेला नेपाली विद्यार्थी आन्दोलनले प्रजातन्त्रका लागि संघर्ष गर्ने राजनीतिक दलहरूलाई ठुलो ऊर्जा र ढाडस दिन्थ्यो । विद्यार्थी आन्दोलनले पञ्चायती व्यवस्थालाई समेत हल्लाउने गरेको थियो । अहिले विद्यार्थी आन्दोलन कुन अवस्थामा छ भन्नेबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्का २७ निर्णय : हितेन्द्र शाक्यलाई नियुक्तिदेखि प्रधानमन्त्रीको थाइल्यान्ड भ्रमण स्वीकृत
-
कुलमानको ठाउँमा हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कमाण्ड (तस्बिरसहित)
-
कर्णालीमा एकै दिन तीन सवारी दुर्घटनाः १४ जना घाइते
-
बुबालाई थाहै नदिई सानोबुबाले प्लेन हाइज्याक गर्नुभयो : शशांक
-
प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक भएन : प्रधानमन्त्री ओली
-
बालेनले ‘गलत भए मलाई जेल हाल’ भन्दै पेश गरेको डकुमेन्टमा के छ ?