आफैँ सहभागी ओली सरकारका कामप्रति कांग्रेस असन्तुष्ट

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका कामप्रति नेपाली कांग्रेस असन्तुष्ट देखिएको छ । आफैँ प्रमुख साझेदार रहेको सरकारको कामप्रति कांग्रेस असन्तुष्ट देखिएको हो ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकमा कांग्रेस नेताहरूले सरकारको कामप्रति असन्तुष्टि जनाएका हुन् । बैठकमा धारणा व्यक्त गरेका नेताहरू फरमूल्लाह मन्सुर, महेन्द्र यादव, जीवन परियार, विमलेन्द्र निधि, अर्जुननरसिंह के.सी., डा.प्रकाशशरण महत, डा.शेखर कोइराला, बलबहादुर के।सी।, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, सुजाता कोइराला र एनपी साउदमध्ये अधिकांशले सरकारका कामको विरोध गरेका हुन् ।
सरकारको कामकारबाहीबारे विरोध भएपनि पार्टीले जनताका मन छुने कार्यक्रम ल्याउन तथा कांग्रेस र एमाले सम्मिलित सरकार सञ्चालन कार्यदलसँगको समन्वयमा नयाँ कार्यक्रम ल्याउन पार्टीका मन्त्रीहरूलाई निर्देशन दिएको पूर्वउपसभापति गोपालमान श्रेष्ठले जानकारी दिए ।
नेताहरूको असन्तुष्टिपछि सभापति शेरबहादुर देउवाले बैठकमा कार्यसम्पादन समिति सदस्यका हैसियतमा सहभागी उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई कार्यदलसँग समन्वय गरी जनताको मन छुने नयाँ कार्यक्रम ल्याउन निर्देशन दिएको उनको भनाइ छ ।
‘सरकारमा काममा व्यापक सुधार गर्नुपर्ने आवश्यकता देखियो । बैठकमा सहभागी उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई कार्यदलसँग समन्वय गरी नयाँ जनताको मन छुने, देखिने गरी जनतालाई विकासको अनुभूति हुने कार्यक्रम ल्याउन निर्देशन भएको छ,’ श्रेष्ठले रातोपाटीसँग भने, ‘जनतामा काम भएन भन्ने आक्रोश छ । दुई ठूला दलको सरकार भएपछि जनताले अनुभूत गर्ने विकास दिनुपर्छ । त्यसका लागि कार्यदलसँगको सहकार्यमा नयाँ कार्यक्रम घोषणा गर्नू भनेर भनेका छौँ ।’
सरकार सञ्चालनका लागि गठित संयन्त्रमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा छन् । एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष एवं उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल तथा उपमहासचिव एवं प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् ।
कांग्रेसबाट संयन्त्रमा रहेका र बैठकमा उपस्थित भएका नेताहरूलाई पनि बैठकले विकासको नयाँ मोडलसहितका योजना जनताले अनुभूति गर्नेगरी ल्याउन प्रस्ताव तयार गरेर विकासे मन्त्रालयलाई दिन निर्देशन दिएको छ ।
महामन्त्री थापाले नेताहरूले सरकारको कामबाट जनता सन्तुष्ट नरहेको धारणा राखेको बताए । उनले रातोपाटीसँग भने, ‘नेताहरूले धारणा राख्ने क्रममा सरकारका कामप्रति जनताको सन्तुष्ट नरहेको कुरा आए । त्यसपछि जनताको असन्तुष्टि सरकारको डेलिभरीले कम गर्न सकिन्छ भन्ने कुरा भएको छ ।’
व्यवस्थाप्रतिको असन्तुष्टि पनि केही हदसम्म सरकारको डेलिभरीले कम गर्न सकिने नेताहरूको भनाइ थियो । बैठकले मन्त्रीहरूलाई निर्मम भएर बदमास, भ्रष्टाचारी र तस्करहरूलाई कारबाही गर्न पनि निर्देशन दिएको छ । ‘मन्त्रीहरूलाई बदमास, भ्रष्टाचारी र तस्करहरूलाई आफ्नो र अर्काको नहेरी निर्मम भएर कारबाही गर्न निर्देशन दिएका छौँ,’ श्रेष्ठले भने ।
बैठकले औपचारिक रूपमै भ्रष्टाचार र सुशासनले असन्तुष्टि सम्बोधन गर्न सक्ने निर्णय गरेको छ । बैठकपछि पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखिएको छ, ‘संविधानको संरक्षण, सम्वर्द्धन र कार्यान्वयन मार्फत मुलुकलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त, सामाजिक विकृति र विसङ्गतिबाट मुक्त बनाउँदै जनताको निरन्तर प्रगतिको अपेक्षा र आवश्यकता सम्बोधन गर्न सकिन्छ भन्नेमा नेपाली कांग्रेसको दृढ विश्वास छ । यही विश्वास साथ अघि बढ्नु नै आजको मुख्य राष्ट्रिय जिम्मेवारी ठान्दै नेपाली कांग्रेस यसका निम्ति आवश्यक अग्रसरता लिने निर्णय गर्दछ ।’
मुख्यगरी नेताहरूले मन्त्रीहरूले कार्यसम्पादनमा पाएको नम्बरले आशा होइन, निराशा थपेको बताएका थिए । माघसम्मको कार्यसम्पादन मूल्याङ्कनमा चार मन्त्रीले मात्रै ५० भन्दा बढी नम्बर ल्याएका थिए । कांग्रेसबाट मन्त्री भएका प्रकाशमान सिंह, तेजुलाल चौधरी, ऐनबहादुर शाही र रामनाथ अधिकारीको कार्यसम्पादन मूल्याङ्कन औसतभन्दा कम रहेको थियो ।
सबैभन्दा कम चौधरीले १५.३, सिंहले २६.२५, अधिकारीले २९.४ र शाहीले ३६.६५ नम्बर ल्याएका थिए । चौधरीले युवा तथा खेलकुद, सिंहले सहरी विकास, शाहीले वन तथा अधिकारीले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
बैठकमा कार्यसम्पादनको विषय उठाएर अर्जुननरसिंह केसी, डा. शेखर कोइराला र डा. नारायण खड्काले मन्त्रीहरूको कार्यशैलीमाथि प्रश्न उठाएका एक नेताले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगरमा कुलमानको पुनर्वहाली माग गर्दै प्रदर्शन
-
मन्त्रिपरिषद्को २७ निर्णय सार्वजनिक (सूचीसहित)
-
कुलमानको ठाउँमा हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कमाण्ड (तस्बिरसहित)
-
कर्णालीमा एकै दिन तीन सवारी दुर्घटनाः १४ जना घाइते
-
बुबालाई थाहै नदिई सानोबुबाले प्लेन हाइज्याक गर्नुभयो : शशांक
-
प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक भएन : प्रधानमन्त्री ओली