मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय

आखिर के चाहन्छन् आजका नारी ?

आइतबार, १० चैत २०८१, १९ : ३०
आइतबार, १० चैत २०८१

‘सबै महिला र बालिकाका लागि अधिकार, समानता र सशक्तीकरण’ नाराका साथ भर्खरै ११५औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । नारीका हकहित र अधिकारका लागि सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला सङ्गठनले आ–आफ्नो क्षेत्रबाट पहल गरिरहेका छन्, आवाज उठाइरहेका छन् । आफू एक नारी भएकै नाताले पनि नारीका विषयमा कलम चलाउनु आफ्नो दायित्व ठानी यो आलेख लेख्ने जमर्को गरेकी छु ।

नारी दिवसले नारीका हक र अधिकारकोे माग गरेर एक शताब्दी बिताइसकेकोे छ । उडाउने सपना देखाएर पखेटा काटिदिने वास्तविक विडम्बना भएको र पितृसत्तात्मक मान्यताले गाँजेको हाम्रो समाजमा महिला सशक्तीकरणकोे सवालमा जति आवाज उठाइए पनि कमै हुनेछ, जबसम्म नारीले खोजेको सुख के हो, केमा छ आजका नारीको वास्तविक खुसी ? अर्थात् आखिर के चाहन्छन् आजका नारी ? यस्ता भावनात्मक पक्ष वा प्रश्नसँग सम्बन्धित सवालमा ध्यान दिइँदैन । 

कोमल हृदयकी प्रतिमूर्ति वा ममताकी खानी मानिन्छन् नारी । नारीका लागि यस्ता कैयौँ उपमा छन् जसले नारित्वकोे प्रतिनिधित्व गरेका छन् । नारीलाई हक–अधिकार दिनु भनेकै खुसी दिनु हो । खुसी एक त्यस्तो भावनात्मक स्थिति हो, जसको परिभाषा व्यक्तिपिच्छे र समाज सन्दर्भपिच्छे भिन्न–भिन्न हुन्छ । हामी सबैलाई थाहा छ, खुसी बाहिरी चिजहरूसँग मात्र होइन, मानसिक र आध्यात्मिक अवस्थासँग पनि सम्बन्धित छ । आर्थिक, सामाजिक, राजनीतिक र मानसिक अवस्थाले पनि मानिसको सुखदुःखलाई निर्धारण गरेको हुन्छ — नारीको हकहितको कुरा गरिरहँदा यी पक्षलाई पनि हेरिनु र विश्लेषण गरिनुपर्छ । 

आजका नारीले समानता र समान अधिकारकोे चाहना राख्छन् । समाजमा आफूलाई पुरुषसँग बराबरीको दर्जा चाहन्छन् । उनीहरू स्वतन्त्र र आत्मनिर्भर हुन चाहन्छन् । आफ्ना जीवनका निर्णयहरू लिने अधिकार केवल आफैँमा निहित होस् भन्ने चाहन्छन् ।

भौतिक वस्तुहरू प्रगतिका प्रतीक मानिन्छन् र यसले खुसीको आधार पनि तय गर्छ । यद्यपि मानसिक शान्तिको सन्दर्भलाई विभिन्न आयाममा हेरिनुपर्छ । नारीका वास्तविक खुसीलाई विभिन्न पक्षले प्रभाव पारेका हुन्छन् । ती पक्षसँग परिवार, साथीभाइ, समाज, कार्यक्षेत्र वा पेसोको क्षेत्र र सरकारका नीति तथा कार्यक्रम सम्बन्धित हुन्छन् । एक स्वस्थ पारिवारिक र सामाजिक वातावरणमा मात्र नारीले मानसिक शान्ति, आत्मविश्वास र खुसीकोे अनुभव गर्न सक्छन् । परिवार, समाज र सहकर्मीले बाध्यता र जिम्मेवारीको डोरीले बाँधिएकी नारीको भावना बुझिदिनुपर्छ ।

आजका नारीले समानता र समान अधिकारकोे चाहना राख्छन् । समाजमा आफूलाई पुरुषसँग बराबरीको दर्जा चाहन्छन् । उनीहरू स्वतन्त्र र आत्मनिर्भर हुन चाहन्छन् । आफ्ना जीवनका निर्णयहरू लिने अधिकार केवल आफैँमा निहित होस् भन्ने चाहन्छन् । 

आजका नारी चाहन्छन्, उनीहरूको पनि स्वास्थ्यकोे ख्याल राखियोस् । उनीहरूका तनाव, उदासीपन, रिस, आवेग, चिढचिढाहट र  मुडस्विङ्सलाई बुझिदिने कोही होस् । उनीहरू केवल बाहिरी भौतिक वस्तुहरूको प्राप्तिलाई मात्र सफलताकोे प्रतीक मान्दैनन्, व्यक्तिगत विकास र स्वावलम्बी हुन चाहन्छन् । यस्तै उनीहरु चाहन्छन्— आफ्ना कार्य र योगदानप्रति सम्मान र प्रोत्साहन होस् । 

आजका कतिपय नारी सबल छन्, अब्बल छन्, यति हुँदाहुँदै पनि सुरक्षित छैनन् । तसर्थ यौनहिंसा, उत्पीडन, घरेलुहिंसा र अन्य हिंसाका विरुद्ध सुरक्षा र न्याय चाहन्छन् । 
यसर्थ, आजका नारीको चाहना केवल भौतिक सुख–सुविधा र आराममा सीमित छैन । उनीहरूले समानता, स्वतन्त्रता, असल स्वास्थ्य, सन्तुलित पारिवारिक वातावरण, व्यक्तिगत विकासका लागि साथ र सहयोगी हात चाहन्छन् । त्यस्तै सम्मानपूर्वक, सुरक्षित र न्यायोचित जीवनयापन गर्न चाहन्छन् । आजका नारीको वास्तविक खुसी मानसिक सन्तुष्टिमा अडेको छ । तसर्थ राज्यसँग आम नारीको खुसीलाई सम्बोधन गर्ने कार्यक्रम हुनुपर्छ । अर्थात् नारीलाई आर्थिक, सामाजिक, सांस्कृतिक र लैंगिक रूपमा सुरक्षा र खुसी दिने कार्यक्रम ल्याइनुपर्छ । समाजमा पनि नारीको सुरुक्षा, शान्ति र समृद्धिलाई स्पष्ट बुझाइ हुनुपर्छ । 

(लेखक ढकाल मनोसामाजिक परामर्शविद् हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशीला ढकाल
सुशीला ढकाल
लेखकबाट थप