मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय
राजनीति

घिमिरेलाई गलपासो बन्दै ‘यौन व्यवसाय खुला गर्ने’ प्रस्ताव

माफी मागे पनि प्रमुख सचेतकबाट राजीनामा दिनुपर्ने माग
आइतबार, १० चैत २०८१, १६ : ४६
आइतबार, १० चैत २०८१

काठमाडौँ । प्रमुख सचेतक श्यामकुमार घिमिरेले चैत ३ गते प्रतिनिधिसभा बैठकमा व्यक्त गरेको नेपालमा यौन व्यवसाय खुला धारणाबारे नेपाली कांग्रेसभित्र अझै पनि चर्को बहस भइरहेको छ । 

घिमिरेले प्रतिनिधिसभाको विशेष समयमा घिमिरेले भनेका थिए, ‘मदिरा र मनोरञ्जन क्षेत्रको पनि विकास गर्नुपर्छ । मैले बारम्बार भन्ने गरेको छु, यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौँ । जसले यो मुलुकमा पर्यटकको संख्या बढाउनेछ,’ घिमिरेले भनेका थिए, ‘धार्मिक पर्यटकहरूले कम खर्च गर्छन् । साहसिक पर्यटक थोरै मात्र हुन्छन् । संसारमै सबैभन्दा धेरै पर्यटक भनेको मनोरञ्जन क्षेत्रको लागि हो । त्यसलाई आकर्षित गर्न सकियो भने यो मुलुकमा आर्थिक विकास हुन्छ । विपक्षीले यी कुरा उठाइदिएको भए कति काइदा हुन्थ्यो !’

उनको यो अभिव्यक्तिको प्रतिनिधिसभा, राष्ट्रियसभा र कांग्रेसभित्र चर्को आलोचना भयो । चैत ५ गते सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा घिमिरेको अभिव्यक्तिबारे बहस भयो । 

सभापति देउवासहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ प्रवक्ता डा.प्रकाशशरण महतसहितका अधिकांश नेताहरूले घिमिरेको अभिव्यक्तिको विरोध गरे । उपसभापति पूर्णबहादुर खड्का र पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले मात्र उनको बचाउ गरेका थिए । 

पार्टीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने महिला सांसदहरू ईश्वरी न्यौपाने, सीता गुरुङ, अम्बिका बस्नेत, सरिता प्रसाईंलगायतले घिमिरेको अभिव्यक्तिले पार्टी बदनाम भएको बैठकमा बताएका थिए । अन्य पार्टीका महिला सांसदले चैत ६ गतेको प्रतिनिधिसभामा बेल घेर्ने तयारी गरेको जानकारी गराउँदै आफूहरू पनि सहभागी हुने बताएपछि उपसभापति पूर्णबहादुर खड्काले घिमिरेलाई अभिव्यक्ति फिर्ता लिन निर्देशन दिए । 

आफ्नो सिफारिसमा सभापति देउवाले प्रमुख सचेतक नियुक्त गरेका घिमिरेका कारण लफडा हुने अवस्था आएपछि उपसभापति खड्काले फिर्ता लिन निर्देशन दिएका थिए । सो निर्देशन बमोजिम नै घिमिरेले चैत ६ गतेको प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै ‘यौन व्यवसाय’ बारे आफ्नो धारणा व्यक्तिगत भएको प्रष्टीकरण दिँदै क्षमायाचना गरे ।

उनले भने, ‘मैले व्यक्त गरेको धारणा एउटा संसद्को हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणा हो । यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा पनि होइन । यो विचारले सम्मानित संसद्का सदस्यहरू एवम् अन्य जनसमुदायमा समेत केही नकारात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै क्षमायाचना गर्दछु ।’

तर, क्षमायाचना पछि पनि यो विवाद सेलाएको छैन । कांग्रेसमा प्रमुख सचेतकले सदनमा विशेष समय लिएर बोल्ने अनि विवाद भएपछि व्यक्तिगत धारणा भन्न नमिल्ने बहस जबरजस्त रूपमा बाहिर आएको छ । 

कांग्रेस नेता डा. मीनेन्द्र रिजालले चैत ८ गते शुक्रबार काठमाडौँमा मोरङ–काठमाडौँ सम्पर्क मञ्चले गरेको कार्यक्रममा पार्टीको जिम्मेवार पदमा बसेर गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिन नमिल्ने बताए । घिमिरेको भूमिकाबारे प्रश्न उठाउँदै डा. रिजालले संसद्मा व्यक्तिगत धारणा राख्न प्रमुख सचेतक पदबाट अलग हुनुपर्ने बताए । 

उनले प्रमुख सचेतकले धारणा राख्दा पार्टीको प्रतिनिधित्व हुने बताए । ‘पार्टीका प्रमुख सचेतकले नै यौन व्यवसायको वैधानिकताबारे बोल्नुभयो । निर्वाचित सांसदको बोल्ने अधिकारप्रति मेरो टिप्पणी छैन,’ डा. रिजालले भने, ‘तर, प्रमुख सचेतकबाट राजीनामा दिएर बोले भयो नि ! बोल्ने अनि माफी माग्ने, प्रमुख सचेतकले दलीय आधारमा समय लिने अनि माफी माग्दा मेरो व्यक्तिगत धारणा हो भन्ने ? भोलि उहाँले रोष्ट्रममा बोल्दा तपाईंको व्यक्तिगत धारणा कि पार्टीको भनेर सोध्नुपरेन ? त्यसबेला पार्टीको विश्वासनीयता के हुन्छ ?’

घिमिरेको यो अभिव्यक्तिबारे मात्रै होइन, यसअघि अध्यादेश ल्याउने व्यवस्था बन्द गरौँ भनेर दिएको अभिव्यक्तिको पनि डा. रिजालले आलोचना गरे । ‘श्याम घिमिरेले अध्यादेश ल्याउन नपाउने भए संविधान संशोधन गरेर अध्यादेश ल्याउने व्यवस्था नै बन्द गरौँ भनेर बहस गर्नुहुन्छ । अध्यादेश ल्याउने व्यवस्था रोक्न कसैले बहस गरेको छैन । जति मन लाग्यो त्यति कानुन संशोधन गर्न अध्यादेशको प्रावधान संविधानमा राखिएको होइन । एकैपटक धेरैवटा कानुन संशोधन गर्न र धेरैवटा अध्यादेश जारी गरेर बस्न संविधानमा अध्यादेशको प्रावधान राखिएको होइन । त्यसो भए संसद्को कुनै एकाउन्टिबिलिटी हुँदैन ? लोकतन्त्रमा अध्यादेशबाट होइन विधायिकाले बनाएको कानुनबाट शासन गर्ने हो । अध्यादेश जारी गरे पनि अहिले संसद्मा तिनै अध्यादेशका प्रतिस्थापन विधेयकमा छलफल चलिरहेको छ,’ डा. रिजालले भने । 

डा. रिजाल मात्रै होइन, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ पार्टीको जिम्मेवार पदमा बसेको व्यक्ति सदनमा बोलिसकेपछि मेरो व्यक्तिगत धारणा भनेर उम्किन नमिल्ने बताउँछिन् । सहमहामन्त्री उपाध्यायले रातोपाटीसँग भनिन्, ‘पार्टीको जिम्मेवार पदमा बसेको व्यक्तिले सदनमा बोलिसकेपछि मेरो व्यक्तिगत धारणा हो भनेर उम्किन मिल्दैन ।’ 

घिमिरेले संसद्मा मात्रै होइन पार्टी केन्द्रीय समिति बैठकमा धारणा राख्ने बेलामा पनि ध्यान नपुर्‍याउँदा आलोचना खेपेका थिए । साउन २८ गते बसेको केन्द्रीय समिति बैठकमा पार्टीको मूल आदर्शका रूपमा रहेको ‘समाजवाद’ शब्दलाई हटाउनुपर्ने प्रस्ताव राखेपछि उनको आलोचना भएको थियो । ‘कम्युनिस्ट र कांग्रेस भिन्न पार्टी रहेको देखाउन पनि ‘समाजवाद’ पार्टीको सिद्धान्तबाट हटाउनुपर्छ,’ घिमिरेले भनेका थिए ।

कांग्रेसमा प्रमुख सचेतक नियुक्तिको अधिकार संसदीय दलको नेतालाई छ । सभापति देउवा नै दलको नेता भएकाले घिमिरेलाई हटाउन दबाब नेताहरूले उनीमाथि दिइरहेका छन् । महिला नेतृत्वहरूले पार्टीको बेइज्जत भएको भन्दै दबाब दिएपछि देउवाले पनि आन्तरिक तयारी गरिरहेको बताइन्छ । 

‘परराष्ट्रमन्त्रीज्यू, सहमहामन्त्रीसहितका महिला नेतृ र पार्टीका पदाधिकारीहरूमा उपसभापतिबाहेक सबै विपक्षमा रहेकाले सभापतिज्यूले पनि परिवर्तन गर्ने मनसायमा पुग्नुभएको हो कि जस्तो देखिन्छ,’ एक नेताले भने । 

पछिल्लो समय उपसभापति खड्कासँग सभापतिको सम्बन्ध पहिलाजस्तो नभएकाले पनि घिमिरेलाई परिवर्तन गर्न सक्ने निकटस्थहरू बताउँछन् । वर्तमान सरकार निर्माण भएपछि देउवासँग खड्काको सम्बन्ध पहिलाजस्तो घनिष्ठ नरहेको एक नेताले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप