सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लीलबहादुर क्षेत्रीको स्मृतिमा मेरो बसाइँसराइ कथा

आइतबार, १० चैत २०८१, १६ : ३१
आइतबार, १० चैत २०८१

सामाजिक कथावस्तुलाई सरल भाषामा पस्केर आख्यान लेख्ने साहित्यकार लीलबहादुर क्षेत्रीको यो साता निधन भयो । सानै छँदा पढेको उनको उपन्यासले आँखाभरि आँसु बनाएको थियो त्यसबेला । उनको उपन्यासले मलाई पनि विद्रोही बनायो, सामन्तका विरुद्ध लाग्नुपर्छ भन्ने बनायो । 

भर्खर भर्खर २०४६ को परिवर्तन भएको थियो । कम्युनिस्टले समाज परिवर्तन गर्छन् भन्ने ठहर गर्दै तत्कालीन माले हालको एमालेमा लीलबहादुर क्षेत्रीले चित्रण गरेको समाज परिवर्तन गर्न कम्मर कसेर लागेँ म पनि ! 

गाउँबाट बसाइँसराइ रोक्छु, गाउँमै रोजगारी सिर्जना गर्छु, गाउँलाई आशाको केन्द्र बनाउँछु भन्ने लागेर पढाइ सकेर गाउँ फर्कें म । २०५०/२०५१ सम्म गाउँमा राम्रै चहलपहल थियो । गाउँमा जग्गा–जमिन महँगो थियो । चाहेको ठाउँमा जग्गा किन्न कठिन थियो । 

क्याम्पस पढ्ने भन्दै युवाहरू गाउँ छाड्दै थिए । केही युवाहरू रोजगार पाइएन भनेर विदेशतिर हानिदै थिए । श्रीमान् विदेश हुनेहरू बच्चा पढाउन भन्दै जिल्ला सदरमुकाम र सहर छिर्दै थिए ।

२०४६ सालको परिवर्तनले बाटो पक्रिन सकेन । कांग्रेस एमालेबिच सत्ताको फोहोरी खेल सुरु भयो । अहिलेका प्रचण्डको समूह, जसमा बाबुराम भट्टराई पनि थिए । उनीहरूले पुरानो राज्यसत्ता ध्वस्त बनाउने भन्दै सर्वहाराको राज्य निर्माणको अभ्यास सुरु गरे । गाउँमा विद्रोही र सेना पुलिसको गस्ती बढ्न थाल्यो । कुन बेला के हुने हो ? अनिश्चित भयो, अशान्त भयो गाउँ ।

गाउँ झन्झन् पातलिँदै गयो । सेना र पुलिसमा जागिर खानेहरू गाउँ फर्किएनन् । गाउँमा द्वन्द्वको असर र प्रभाव देखिन थाल्यो । त्रासमा गाउँ छाड्नेहरु बढ्न थाले । 
गाउँमा एक्लै पर्दै गएँ म ! गाउँ खालि हुँदै गयो । एक्लो गाउँमा बस्न नसकिने भन्दै श्रीमतीले दिनदिनै कचकच गर्न थालिन् । छोराछोरीले हेरेनन् भने सडकमा मकै पोलेर भए पनि खान सकिन्छ, सहर जाउँ भन्न थालिन् । सधैँको किचकिचले मन परिवर्तन भयो मेरो पनि । मर्दा लास उठाउने मान्छे नभएको ठाउँमा किन बस्ने ! सुन्दर गाउँ उजाडिँदा बसाइँ सर्ने निश्चित भयो हाम्रो पनि ।

खेतबारी बेच्न सकिने थिएन । कौडीको भाउमा त्यो बिक्दैनथ्यो बिकेन, किन्ने नै को थिए र ? गाई र बाख्रा थिए । बाख्रा जेनतेन सस्तो मूल्यमा अलि टाढाका मान्छे आएर किनेर लगे । गाईले दिनको चार माना दुध दिन्थ्यो । सित्तै पनि कसैले लगेनन् ! बिक्ने त कुरै भएन ।

घरमा परेवाका जोडी थिए । परेवालाई चारो पानी हालेँ मैले । गौमातालाई फुकाइदिएँ दाम्लोबाट, पाप नलागोस् भनेर गौमातालाई ढोगेँ । यतै चरेर बस्नु है गौमाता भनेँ उसलाई ! उसले मलाई चाटी । आँसुका धारा छुटे बरर । घरमा भएको अन्न आँगनमा छरछार गरिदिएँ, कचौरामा पानी राखिदिएँ । त्यो परेवा जोडी भोक–प्यासमा नपरोस् भनेर । श्रीमतीले झोला र बोरामा लगाउने लुगा कोचकाच गरिन् । जिन्दगीको दुईतिहाइ समय बितेको घरमा लम्पसार परेर रोएँ म । घर अगाडिको तुलसीलाई पानी हालेँ, मोठलाई ढोगेँ । तुलसीका बिरुवाको झारपात उखेली दिएँ । अन्त्यमा घर र गाउँलाई ढोगेर गाउँबाट बिदा हुने तरखरमा लागेँ म । 

घरमा ताला लाउँ कि भनेर सोधिन् बुढीले मलाई । मैले ढोका खुलै छाडिदिन भनेँ । के छ र घरमा किन ताला लगाउनुपर्‍यो ? घामपानीबाट केही समयका लागि भए पनि चरा, मुसा र परेवाले आश्रय पाउँछन्— हुन्देउ भनेँ मैले । उनले ढोका खुलै छाडिदिइन् । 

झोला, बोरा र पोका–पन्तुरा बोकेर गाडी चढ्न दुई घण्टाको यात्रा तय गर्नै लाग्दा फेरि घरलाई फर्केर हेरेँ मैले, जहाँ म जन्मेको थिएँ । गाई कराई सायद नजा भनेको होली उसले । गाई कराउँदा मन थामिएन । म पनि रोएँ । घर छोड्दा आँखाबाट आँसुका बलिन्द्र धारा झरे । परेवा, तुलसीको मोठ र दुःख गरेर बनाएको घरलाई फेरि नमन गरेँ मैले । कहिल्यै त्यो प्यारो घर नफर्कने गरी हामी सहरतिर लाग्यौँ । त्यसो गर्न रहर थिएन, बाध्यता थियो । छोराछोरी सहरमा थिए, फर्किनै मानेनन् ।

छोराछोरी गाउँ आउन सक्ने वातावरण बनाएन सरकारले । रोगी बुढाबुढी एक्लै बस्न सकेनौँ । जहाँ हामी बसेका थियौँ, त्यो गाउँ पूरै निर्जन भइसकेको थियो, सकेनौँ बस्न । साहुले दिएको हैरानी र गरिबीले पिल्सेर गाउँ छाडेका धने र झुमाभन्दा फरक थियो हाम्रो कथा । राज्य असफल भएर गाउँ छोड्दा देशको चित्र मनमा आयो । कहिल्यै गाउँ नफर्किने गरी बसाइँ सरेँ म । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विदुरप्रसाद दाहाल
विदुरप्रसाद दाहाल
लेखकबाट थप