न्युजिल्यान्डसामु निरीह बन्यो पाकिस्तान, शृङ्खला पनि गुमायो

काठमाडौँ । घरेलु टोली न्युजिल्यान्डले आइतबार खेलिएको चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानलाई एक सय १५ रनको फराकिलो अन्तरले हराएको छ । जितसँगै न्युजिल्यान्डले अन्तिम एक खेल अगावै पाँच खेलको शृङ्खला पनि ३–१ ले आफ्नो पक्षमा पारेको छ ।
शृङ्खलाको पहिलो र दोस्रो खेलमा न्युजिल्यान्ड विजयी भएको थियो । तेस्रो खेलमा भने पाकिस्तानले जित हात पारेको थियो । शृङ्खलाको पाँचौँ तथा अन्तिम बुधबार खेलिने छ । त्यसपछि यी दुई टोलीबिच तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेलिने छ ।
आइतबारको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय २० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली पाकिस्तानले भने १६.२ ओभरमै अलआउट हुनुअघि एक सय पाँच रनमात्र बनाउन सक्यो ।
न्युजिल्यान्डको जितमा ओपनर फिन एलनले अर्धशतकीय योगदान गरे । उनले टोलीको खातामा ५० रन थपे । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल २० बलको सामना गरी तीन छक्का र ६ चौका पनि हिर्काए ।
ओपनर ब्याट्सम्यान टिम सिफर्टले पनि ४४ रनको योगदान गरे । उनले पनि आक्रामक पाली खेल्दै केवल २२ बलमा चार छक्का र तीन चौका प्रहार गरे । दुबै ओपनरले पहिलो विकेटका लागि ५९ रनको साझेदारी गरेका थिए ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका मार्क चपम्यानले पनि १६ बलमा दुई छक्का र दुई चौकाको मद्दतले २४ रन बटुले । चौथो नम्बरका ब्याट्सम्यान ड्यारल मिचेलले २९ रन बनाए । उनले २३ बलमा एक छक्का र एक चोका हिर्काए ।
कप्तान माइकल ब्रासवेलले पनि टोलीको जितमा अविजित ४६ रनको योगदान गरे । उनले केवल २६ बलको सामना गरी दुई छक्का र पाँचवटा चौका हिर्काए । न्युजिल्यान्डले अतिरिक्त रूपमा पनि १८ रन पाएको थियो । पाकिस्तानी बलर ह्यारिस रउफले तीन र अबरार अहमदले दुई विकेट लिए ।
जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानी टोलीका कुनै पनि ब्याट्सम्यान लामो समयसम्म क्रिजमा टिक्न सकेनन् । पाकिस्तानी टोलीका ब्याट्सम्यानहरु मैदान प्रवेश गर्ने र लगत्तै पेभेलियन फर्कनेक्रम जारी रह्यो ।
पाकिस्तानका लागि ईरफान खान र अब्दुल समादले मात्र दोहोरो अंकमा रन बनाउन सके । ईरफान खानले १६ बलमा एक छक्का र चार चौकाको मद्दतले २४ रन बनाए । सातौँ नम्बरमा क्रिज समाल्न आएका अब्दुल समादले २८ बलमा दुई छक्का र चार चौकाको मद्दतले अविजित ४४ रन जोडे ।
अन्य ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । किविज टोलीका बलर ज्याकब डफी चार विकेट लिए । उनले चार ओभरमा २० रन खर्चिए । जाकरी फल्कसले पनि तीन विकेट हात पारे । उनले चार ओभरमा २५ रन खर्चिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
आज दासताविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
-
कुलमानमाथि कारबाहीको डण्डा : सत्ता भित्रैबाट आलोचना
-
‘क्याबिनेटले स्वीकृत गरेपछि रूख काट्दा पनि पक्राउ पुर्जी जारी भएको छ’
-
यातायात कार्यालय विराटनगरबाट बिचौलिया काम गर्ने १२ जना पक्राउ