अब स्ववियु निर्वाचन यसरी गरौँ

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हाम्रा विश्वविद्यालयको एउटा महत्त्वपूर्ण लोकतान्त्रिक निकायका रूपमा स्थापित छ । स्ववियु विद्यार्थी हकहित र शैक्षिक सुधारका लागि आवाज उठाउने मात्र नभएर देशको राजनीतिक एवं सामाजिक सुधारको अग्रमोर्चा हो । पञ्चायती कालरात्रिमा पनि स्ववियु कालो बादलभित्र चाँदीको घेराजस्तै चम्किलो ढंगले प्रजातन्त्र आउने आशाको दियोका रूपमा बलिरहेकै थियो ।
नयाँ पुस्तालाई लोकतान्त्रिक अभ्यास सिकाउने परम्परा बोकेको यस संस्थाको इतिहास गर्विलो नै छ । स्ववियुको स्थापना कालदेखि नै यो निर्वाचनले प्रजातन्त्रको आवश्यकता र प्रजातान्त्रिक अभ्यासको महत्त्वलाई बलियो बनाएको थियो । २०४६ सालको जनआन्दोलनदेखि २०६२/६३ को लोकतान्त्रिक आन्दोलनसम्म विद्यार्थी राजनीतिको एक सशक्त थलोका रूपमा स्ववियु अत्यन्तै आकर्षक केन्द्र बनेर रह्यो ।
पछिल्ला वर्षमा स्ववियु निर्वाचन अनेकौँ विकृतिहरूको अखडामा परिणत भएको छ । त्रिभुवन विश्वविद्यालयका विद्यार्थी संख्या धेरै हुन, आंगिक तथा सामुदायिक क्याम्पसहरूमा विद्यार्थी संगठनबिच झगडा हुनु, बाहुबलको प्रयोग हुनु, फर्जी मतदाता हुनु, निर्वाचन कार्यालयमा तालाबन्दी हुनु, खुलेआम बाहिरी हस्तक्षेप हुनु, शैक्षिक संस्था विभिन्न राजनीति दलको कठपुतली बन्ने आदि जस्ता कारणले निर्वाचन नै स्थगित हुने वा बिथोलिने अवस्था आएको छ । स–साना समस्या वा कुनै संगठन र नेताको लहडका कारण पनि हजारौँ विद्यार्थीको लोकतान्त्रिक हक खोसिएको छ । जसबाट स्ववियुको प्रतिष्ठामा आँच आउनुका साथै यसको आवश्यकता माथि नै प्रश्न उठाउन थालिएको छ, जुन दुःखद छ । यसकारण अब विश्वविद्यालयले स्ववियु निर्वाचनलाई चुस्त–दुरुस्त ढंगले सम्पन्न गर्न आफ्नो चुनावी पद्धतिमा पुनर्विचार गर्नुपर्ने देखिन्छ । विद्यार्थी राजनीतिलाई सकारात्मक दिशामा लैजान अब डिजिटल क्रान्ति हुन जरुरी छ ।
स्ववियु निर्वाचन सहज रूपमा सम्पन्न गर्ने एक मात्र उपाय भनेको वर्तमान निर्वाचन प्रणालीको पुनर्संरचना गर्दै यसलाई पूर्ण प्रविधिमैत्री बनाउनु नै हो । यस्तो प्रविधिमैत्री, यस्तो एउटा चुनावी पद्धति ताकि जो–कोहीले कसै गरी चुनाव बिथोल्न नसकुन् ।
२१औँ शताब्दीको विश्वविद्यालयले विद्यार्थीलाई व्यावहारिक रूपमा लोकतान्त्रिक पथमा अगाडि बढाउनुपर्ने हो तर वर्तमान प्रणालीले त्यसो गर्न सकिरहेको छैन । यस्तो अवस्थामा स्ववियु निर्वाचन सहज रूपमा सम्पन्न गर्ने एक मात्र उपाय भनेको वर्तमान निर्वाचन प्रणालीको पुनर्संरचना गर्दै यसलाई पूर्ण प्रविधिमैत्री बनाउनु नै हो । यस्तो प्रविधिमैत्री, यस्तो एउटा चुनावी पद्धति ताकि जो–कोहीले कसै गरी चुनाव बिथोल्न नसकुन् र विद्यार्थी राजनीति समयसापेक्ष सुधार भएर स्वच्छ, पारदर्शी एवं प्रभावकारी बन्न सकोस् ।
- ‘वर्तमान समस्या र तिनको समाधान’
१) निर्वाचनमा हुने झगडा र बाहुबलको प्रयोग
विद्यार्थी संगठनहरूबिच हिंसात्मक झडपले लोकतान्त्रिक अभ्यासलाई बदनाम गरिरहेको छ । त्यसैले पूर्ण रूपमा डिजिटल मतदान प्रणाली अपनाइनुपर्छ । क्याम्पस परिसरमा मतगणना वा निर्वाचन कार्यालय नराखी प्रत्येक विद्यार्थीले आफ्नो स्मार्टफोन वा विश्वविद्यालयको अनलाइन पोर्टलबाट मतदान गर्ने व्यवस्था गरिनुपर्छ ।
२) फर्जी मतदाता नामवली र धाँधली
अवैध मतदाता थप्ने, नक्कली परिचयपत्र प्रयोग गर्ने, बाहिरी व्यक्तिहरूलाई मतदान गराउने लगायत समस्या छन् ।
त्यसैले बायोमेट्रिक प्रमाणीकरण अनिवार्य गरिनुपर्छ । विश्वविद्यालयले आफ्ना सबै विद्यार्थीको बायोमेट्रिक डाटा (औँठाछाप वा अनुहार पहिचान) राखेर अनलाइन मतदान प्रणाली लागु गर्न सकिन्छ । जसले गर्दा वास्तविक विद्यार्थी बाहेक कसैले पनि मतदान गर्न सक्दैनन् ।
३) तालाबन्दी र बिथोल्ने प्रवृत्ति
संगठनहरूले आफ्नो प्रभाव नपुग्ने देखेमा वा पराजय हुने अवस्था अनुमान गरेमा निर्वाचन नै हुन नदिने गर्छन् । यस्तै निर्वाचन समितिलाई दबाब दिने र कार्यालयमा तालाबन्दी गर्ने प्रवृत्ति समेत मौलाएको छ ।
त्यसैले निर्वाचन कार्यालयलाई भौतिक रूपमा कहीँकतै राखिनु हुँदैन । सम्पूर्ण निर्वाचन प्रक्रिया डिजिटल माध्यमबाट हुने भएमा कार्यालयमै तालाबन्दी गरेर निर्वाचन अवरुद्ध पार्ने सम्भावना रहन्न ।
४) पुराना नेताको हस्तक्षेप
विद्यार्थीको संस्था स्ववियुलाई अधिकांश ठाउँमा पुराना राजनीतिक नेताहरूले आफ्नो स्वार्थका लागि प्रयोग गर्छन् । त्यसैले उम्मेदवार बन्ने योग्यता कडाइका साथ निर्धारण गरिनुपर्छ । विद्यार्थी नेताहरूले क्याम्पसमा नियमित उपस्थित भएको प्रमाणित गर्नुपर्ने, विश्वविद्यालयमा नाम दर्ता भएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने, एकपटक मात्र उम्मेदवारी दिन पाउने जस्ता नियम लागु गर्न सकिन्छ ।
५) चुनाव रोक्न कसैले नसकोस्
जब कोही चुनाव जित्ने सम्भावना देख्दैन, उसले निर्वाचन प्रक्रियामै बाधा पुर्याउने प्रयास गर्छ ।
त्यसैले ब्लकचेन प्रविधि प्रयोग गरेर अनलाइन मतदान गर्दा एकपटक सुरु भइसकेपछि चुनाव रोक्न कोही सक्षम हुँदैन । प्रत्येक विद्यार्थीको मतदान गोप्य हुने र कुनै बाहिरी हस्तक्षेपले प्रणाली परिवर्तन गर्न नसक्ने सुनिश्चित गर्न सकिन्छ ।
- प्रविधिमैत्री र अवरोधरहित निर्वाचन प्रणाली
अब समय आइसकेको छ कि हामी कागजी प्रक्रियालाई पूर्ण रूपमा हटाएर ‘डिजिटल विद्यार्थी निर्वाचन प्रणाली’ लागु गरिनुपर्छ, जहाँ निर्वाचन कार्यतालिका बमोजिम मतदानसहित सबै गतिविधि चलिराख्दा पठनपाठन पनि निरन्तर भइरहेको हुनेछ ।
१) अनलाइन मतदान प्रणाली लागु गरी प्रत्येक विद्यार्थीलाई विश्वविद्यालयको डिजिटल प्लेटफर्ममा युजर आईडी दिइनुपर्छ । मतदानको दिन विद्यार्थीले आफ्नो युजर आईडीबाट लग–इन् गरी मतदान गर्नेछन् । बायोमेट्रिक प्रमाणीकरण (औँठाछाप वा अनुहार पहिचान) प्रयोग गरी फर्जी मत रोक्नेछ ।
२) निर्वाचन कार्यालय नराखी सम्पूर्ण प्रक्रिया क्लाउड सर्भरमा राख्ने जसबाट कुनै समूहले कब्जा गर्न वा तालाबन्दी गर्न सक्नेछैनन् ।
३) मतदान एकपटक सुरु भएपछि कोही परिवर्तन गर्न नसक्ने ब्लकचेन आधारित प्रणाली बनाइनेछ । मतगणना स्वचालित रूपमा हुनेछ, जसले गर्दा मतगणना स्थल कब्जा गर्ने वा धाँधली गर्ने सम्भावना रहँदैन ।
४) उम्मेदवारको शैक्षिक योग्यता, उपस्थिति, नेतृत्व क्षमताका आधारमा अंक दिने डिजिटल स्कोरिङ प्रणाली लागु गर्न सकिन्छ । उम्मेदवारहरूलाई सार्वजनिक बहसमा सामेल गराउने, जसले विद्यार्थीलाई आफ्नो प्रतिनिधि छान्न स्पष्ट मार्गनिर्देशन दिन्छ ।
५) विश्वविद्यालय, स्वतन्त्र प्राविधिक समूह, पूर्वन्यायाधीश र विद्यार्थी संघ–संस्थाको मिलिजुलीमा निरपेक्ष निर्वाचन आयोग गठन गरिनुपर्छ ।
६) उम्मेदवार बन्न इच्छुक विद्यार्थीले विश्वविद्यालयको आधिकारिक पोर्टलमा अनलाइन आवेदन दिनुपर्नेछ । आवेदन दिनुअघि, उम्मेदवारको शैक्षिक योग्यता, उपस्थिति र विद्यार्थी प्रमाणित गर्न डिजिटल भेरिफिकेसन प्रणाली प्रयोग गरिनेछ ।
उम्मेदवारी स्वीकृत भएपछि सबै उम्मेदवारहरूको विवरण विश्वविद्यालयको वेबसाइटमा सार्वजनिक रूपमा सूचीबद्ध गरिनेछ, जसले गर्दा पारदर्शिता कायम गराउँछ ।
उम्मेदवारहरूलाई उनीहरूको एजेन्डा, शैक्षिक एवं भौतिक सुधार लगायतका विषयमा अनलाइन डिजिटल डिबेट गराउने व्यवस्था मिलाइनेछ, जसले गर्दा विद्यार्थीले योग्य उम्मेदवार पहिचान गर्न सक्छन् ।
यसरी अनलाइन उम्मेदवार दर्ता गर्दा फर्जी उम्मेदवारी रोक्न सकिन्छ, अनावश्यक झगडा टार्न सकिन्छ र निष्पक्ष तथा पारदर्शी उम्मेदवारी प्रक्रिया स्थापित गर्न सकिन्छ ।
- प्रविधिमैत्री निर्वाचन नै एक विकल्प
नेपालको स्ववियु निर्वाचन सुधार गर्नका लागि पूर्ण रूपमा अनलाइन, डिजिटल र प्रविधिमैत्री प्रणाली अवलम्बन गर्नुपर्छ । यसले झगडा, बाहुबल, धाँधली, हस्तक्षेप जस्ता समस्या समाधान गर्छ । यस प्रणालीलाई अपनाउन सकेमा नेपाली विश्वविद्यालयको विद्यार्थी राजनीतिलाई अन्तर्राष्ट्रिय स्तरमा उदाहरणीय बनाउन सकिन्छ । लोकतन्त्रको सही अभ्यासका लागि अब कागजको मतदान, तालाबन्दी, हिंसा र अराजकता अन्त्य गर्दै डिजिटल प्रविधिबाट स्वतन्त्र, निष्पक्ष र पारदर्शी चुनावतर्फ अघि बढ्नुपर्ने हुन्छ ।
अब स्ववियु निर्वाचन यसरी गरौँ कि लोकतन्त्रको सही अभ्यास होस्, विद्यार्थीहरू सशक्त बनुन् र प्रविधिको उच्चतम प्रयोग गरियोस् ।
(लेखक नेपाल विद्यार्थी संघको पूर्वकेन्द्रीय सदस्य हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज दासताविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
-
औद्योगिक क्षेत्रमा ‘१२ घण्टे लोडसेडिङ’को आरोप लगाएर कुलमानलाई हानियो कारबाहीको डण्डा
-
‘क्याबिनेटले स्वीकृत गरेपछि रूख काट्दा पनि पक्राउ पुर्जी जारी भएको छ’
-
यातायात कार्यालय विराटनगरबाट बिचौलिया काम गर्ने १२ जना पक्राउ
-
जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची