मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमबीबीएस अध्यापनको तयारी गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान

आइतबार, १० चैत २०८१, १३ : ५८
आइतबार, १० चैत २०८१

हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस अध्यापनको तयारी थालेको छ । प्रतिष्ठानले आगामी वर्षबाट चिकित्सा शिक्षा आयोग मार्फत अध्यापनको तयारी अघि बढाएको हो ।

जसअनुसार प्रतिष्ठानले भौतिक संरचना तथा उपकरण व्यवस्थापनसँगै जनशक्ति तयारी थालेको छ । प्रतिष्ठानले हेटौँडा–१० स्थित भुटनदेवी चौरको जग्गामा निर्माणाधीन शैक्षिक भवन र हेटौँडा–१ हेटौँडा अस्पताल परिसरमा निर्माण भइरहेको २०० शय्या क्षमताको अस्पताललाई पूर्णता दिएर औजार उपकरण जडानको लागि तयारी थालेको प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार हाल निर्माण भइरहेको शैक्षिक भवन र अस्पताल भवनको चालु आर्थिक वर्षमा असार मसान्तसम्म सम्पन्न हुने अवस्थामा रहेको छ । सम्पन्नता पाए लगत्तै उक्त भवनहरुमा आवश्यक औजार उपकरण जडान गरी सञ्चालनमा ल्याउने प्रतिष्ठानको योजना रहेको उनले बताए । सो कार्यका लागि प्रतिष्ठानले बागमती प्रदेश सरकार मार्फत बजेट व्यवस्था गरेर आवश्यक प्रक्रिया पुरा गरी उपकरण जडानको कार्य गर्ने उनको भनाइ छ ।

‘हाल सो भवनको भौतिक संरचनाको मात्र कामका लागि ठेक्का लगाइएको छ । सो काम आगामी असारसम्म सकिन्छ । सो पश्चात् प्रदेश सरकार मार्फत बजेट व्यवस्था गरी औजार उपकरणका व्यवस्थापन तथा जडानको काम हुनेछ । चिकित्सा शिक्षा आयोगबाट एमबिबिएस कार्यक्रम ल्याउन पूर्वाधार तयार गरेर मात्र हुँदैन । त्यसका लागि आवश्यक अस्पताल, ल्याब, उपकरण, शैक्षिक तथा प्राज्ञिक जनशक्ति व्यवस्थापनको प्रक्रिया भइरहेको छ ,’ उनले भने ।

आगामी वर्षबाट आयोगले तोके अनुसारको सिट र सङ्कायमा एमबिबिएस अध्यापन चलाउने गरी तयारी भएको उनले बताए । सो कार्यका लागि प्रदेश सरकारले व्यवस्थापन गर्नुपर्ने कुल छात्रवृत्तिको ७५ प्रतिशत स्रोत सुनिश्चित गर्न छलफल भइरहेको उनले बताए ।

  • ३३ प्राज्ञिक जनशक्ति भर्ना गरिँदै

प्रतिष्ठानले एमबिबिएस अध्यापन कार्यका लागि ३३ जना प्राज्ञिक जनशक्ति भर्नाको लागि आवेदन माग गरेको छ । प्रतिष्ठानले एमबिबिएस कक्षा सञ्चालनको पूर्व तयारीका रूपमा जनशक्ति व्यवस्थापन गर्नेगरी ३३ जना प्राज्ञिक जनशक्ति माग गर्दै आवेदन आह्वान गरेको हो ।

प्रतिष्ठानको प्राज्ञिक सेवा तर्फ आवश्यक जनशक्तिहरू करार सेवाबाट लिने गरी आवेदन माग गरेको प्रतिष्ठानका रजिस्ट्रार भीम सागर गुरागाईंले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानले एनाटोमी, फिजियोलोजी, बायोकेमेष्ट्री, प्याथोलोजी, फर्माकोलोजी, कम्युनिटी मेडिसिन, माइक्रोबायोलोजी, सर्जरी, इएनटी, अर्थोमोलोजी, रेडियोलोजी, साइकाट्रिक, डेन्टल, डर्माटोलोजी, फोरेन्सिक मेडिसिन संकायका प्राध्यापक माग गरेको छ ।

त्यस्तै साइकोलोजी, प्याथलोजी, कम्युनिटी मेडिसिन, फोरेन्सिक मेडिसिन, माइक्रोबायोलोजी, अर्थोमोलोजी, रेडियोलोजी, डर्माटोलोजी, एडिजीपी, इएनटी, बायोकेमेष्ट्रि, हेम्याटोलोजी, मिडवाईफरी नर्सिङ, कम्युनिटी हेल्थ नर्सिङ, साइकाट्र्रिक नर्सिङ, पेडिएट्रिक नर्सिङ, फर्माकोलोजीको लेक्चरर र ल्याब मेडिसिनको इन्स्टक्टर भर्नाका लागि आवेदन माग गरिएको उनले बताए ।

सो नियुक्ति पश्चात् एमबिबिएस अध्यापनको लागि आवश्यक जनशक्तिको पूर्वाधारहरु निर्माण तयार हुने उनको भनाई छ । हाल हेटौँडा अस्पतालमा रहेका चिकित्सकहरूलाई पनि प्रतिष्ठानले प्रयोग गरी थप सेवा गर्ने गरी प्राज्ञिक तथा शैक्षिक जनशक्तिको रूपमा नियुक्त गरिएको उनले बताए । अस्पतालको जनशक्तिले अपुग भएका थप जनशक्ति भर्नाको प्रक्रिया गरिएको उनले बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप