मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय
राजनीति

लोसपा महासचिवको हस्तक्षेपका कारण मधेसी ट्रेड युनियन फुटको संघारमा

आइतबार, १० चैत २०८१, १३ : २९
आइतबार, १० चैत २०८१

काठमाडौँ । नेपाल मधेस निजामती कर्मचारी मञ्च फुटको संघारमा पुगेको छ । संस्थापक अध्यक्ष विनोद सिंहले मञ्चमा भाँडभैलो गरेका कारण संगठन विभाजनतर्फ गएको मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले आरोप लगाए । उनले भने, ‘मञ्चका संस्थापकज्यू (विनोद सिंह) लोसपा नेपालको महासचिव हुनुहुन्छ तर उहाँ अहिले मञ्चकै अध्यक्षले जस्तै हस्तक्षेप गरेर छुट्टै महाधिवेशन गराउनुभएको छ, जुन मञ्च विभाजनको षड्यन्त्र हो ।’

चैतको ८ गतेदेखि मञ्चको महाधिवेशनको मिति तय भइसकेको थियो । सबै जिल्लामा अधिवेशन सम्पन्न नभएका कारण तत्कालका लागि स्थगित गरी वैशाख ५ गतेका लागि अर्को मिति तय गरिएको थियो तर लोसपा नेपालका महासचिव सिंहले हस्तक्षेप गरेर छुट्टै महाधिवेशन गराएर नयाँ कार्यसमिति घोषणा गराएको उनले आरोप लगाए । 

‘पार्टीको महासचिव जस्तो व्यक्तिले संस्थापक अध्यक्षको हैसियत देखाउँदै जबरजस्ती महाधिवेशन गराउनु  आपत्तिजनक हो,’ उनले भने, ‘म अध्यक्ष र मञ्चका महासचिवलगायत थुप्रै पदाधिकारी तथा सदस्यहरू चैतको ८ गतेदेखि हुने महाधिवेशन गराउने पक्षमा थिएनौँ, तर लोसपाका महासचिव सिंहले मञ्चका उपाध्यक्ष लालबाबु यादवलाई साथमा लिएर महाधिवेशनको नाटक गर्नुभएको छ, जुन हामीलाई स्वीकार्य छैन ।’

पार्टीको महासचिव जस्तो व्यक्तिले ट्रेड युनियनको महाधिवेशन गराउन चुनाव समितिको सदस्य बन्न नसुहाउने भन्दै उनले यो लोसपाको प्रतिष्ठाको विषय बनेको बताए । 

सो संगठनको काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा मात्र अधिवेशन भएको छ । अझै केही जिल्लाका अधिवेशन गरेर मात्र व्यवस्थित तरिकाले अधिवेशन गर्ने तयारी चलिरहेका बेला महासचिव सिंहले अचानक मञ्चमा भाँडभैलो मच्चाएको अध्यक्ष चौधरीको आरोप छ ।

‘सरकारबाट पाएको जग्गामा मञ्चले आफ्नो भवन बनाएको छ । सो भवन लोसपालाई पार्टी कार्यालय सञ्चालन गर्न दिएको छ । त्यहाँबाट आउने रकम पनि सिंहले नै उठाएर खाने गरेका छन्’ अध्यक्ष चौधरीले भने । उनले रकमको लोभमा मञ्चलाई विभाजन गरेर भवनमाथि कब्जा गर्ने नियत बनाएको अध्यक्ष चौधरीले आरोप लगाए ।  

अध्यक्ष चौधरीले लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई महासचिव सिंहको विरुद्धमा ज्ञापनपत्र पनि बुझाएका छन् । आफू मञ्चको संस्थापक अध्यक्ष रहेकोले मञ्चलाई आफ्नो इच्छाअनसार परिचालित गर्ने जिम्मेवारी पार्टीबाट पाएको भनी दिएको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले पार्टी र ट्रेड युनियन बिचको सम्बन्धलाई सङ्कुचित बनाउनेतर्फ पार्टीलाई आफूले ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराएको चौधरीको भनाई छ । 

महासचिव सिंहले मञ्चको नाममा रकम समेत सङ्कलन गरेको आरोप चौधरीले लगाए । सिंहको रवैयालाई पार्टीले नियन्त्रण गर्नुपर्ने माग समेत उनले गरे ।  तर महासचिव सिंहले आफूले कुनै रकम सङ्कलन नगरेको दाबी गरेका छन् । उनले भने, ‘मञ्चका अध्यक्ष भुवनेश्वर चौधरी स्वयं अनावश्यक रकम सङ्कलनमा लाग्नुभएको छ, सरकारी कार्यालयको प्रमुख भएपछि उहाँलाई मञ्चबाट हटाइसकिएको छ तर चन्दा उठाउने लोभमा अहिलेसम्म मञ्चमा टाँसिरहनुभएको छ ।’

निजामती ऐनअनुसार राजपत्राङ्कित कर्मचारी ट्रेड युनियनको अध्यक्ष हुन नपाउने प्रावधान छ । अध्यक्ष र महासचिव राजपत्राङ्कित तृतीय श्रेणीको कर्मचारी रहेको भन्दै उनले फागुन २४ गते उनीहरूलाई मञ्चबाट निलम्बन गरिसकिएको बताए । 

उनले भने, ‘अध्यक्ष र महासचिव नै रहेका व्यक्तिले कसरी महाधिवेशन गराउन सक्छन् तैपनि हामीले गरोस् भनेका थियौँ तर उहाँले महाधिवेशन फेरि सार्न लगाउनुभयो अनि हामीले तोकिएको समयमा नै गरायौँ ।’ मञ्चबाट निलम्बनमा परे पनि महाधिवेशनको नाममा रकम सङ्कलन गर्नेदेखि विभिन्न गतिविधिमा अध्यक्ष चौधरी लागेको उनले आरोप लगाए । 

अध्यक्ष चौधरीले भने तोकिएको समयमा महाधिवेशन हुने र त्यसको तयारीमा आफूहरू लागेको बताए । ‘मञ्च विभाजन हुँदैन, लोसपाका महासचिव सिंहसँग एक दुई जना अलग भए त्यो बेग्लै कुरा हो तर सबै जना मञ्चमा आबद्ध भएर वैशाखमा हुने महाधिवेशन सफल बनाउनेमा म विश्वस्त छु ।’ 

madheshi karmachari

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप