इन्डियन प्रिमियर लिग क्रिकेट : सिजनको पहिलो ‘क्लासिको’ भिडन्त

काठमाडौँ । चर्चित फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो दिन आइतबार दुई खेल खेलिँदैछ । दोस्रो दिनको दोस्रो खेल चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबिच खेलिने छ । खेल चेन्नईको एम. ए. चिदम्बरम स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।
चेन्नई सुपर किङ्स ऋतुराज गायकवाडको कप्तानीमा मैदानमा ओर्लने छ । मुम्बई इन्डियन्स भने सूर्यकुमार यादवको कप्तानीमा रहने छ । आफ्ना नियमित कप्तान हार्दिक पाण्ड्या पहिलो खेलमा प्रतिबन्धमा परेका कारण मुम्बई इन्डियन्स सूर्यकुमारको कप्तानीमा ओर्लन लागेको हो ।
इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबिचको भिडन्तलाई ‘एल क्लासिको’ भिडन्तका रुपमा लिइन्छ । त्यसैले यी दुई टोलीबिचको खेलले विश्वभरका थुप्रै क्रिकेटप्रेमीलाई लोभ्याउने गरेको छ ।
खासगरी, फुटबलमा स्पेनिस क्लब बार्सिलोना र रियल म्याड्रिडबिचको भिडन्त ‘एल क्लासिको’ भिडन्ताका नामले चर्चित छ । आईपीएलको १८औँ संस्करणको लिग चरणमा चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबिच दुई खेल खेलिने छ ।
- दुबै टोलीको नाममा पाँच–पाँच उपाधि
आईपीएलको इतिहासमा चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स दुबै सर्वाधिक सफल टोली हुन् । यी दुबै टोली एक–अर्काका चिरप्रतिद्वन्द्वी पनि हुन् । यी दुई टोलीबिचको हरेक भिडन्त निकै प्रतिस्पर्धात्मक हुने गरेको छ ।
त्यसैले क्रिकेटप्रेमीले चेन्नई र मुम्बईबिचको भिडन्तलाई ‘एल क्लासिको’ नाम दिएका हुन् । पाँचपटक आईपीएलको उपाधि चुम्दा मुम्बई इन्डियन्सले तीनपटक त फाइनलमा चेन्नई सुपर किङ्लाई नै हराएको छ । चेन्नईले पनि एकपटक फाइनलमा मुम्बईलाई हराएको छ ।
सन् २०१० मा पहिलो पटक चेन्नई सुपर किङ्सले उपाधि जितेको थियो । फाइनलमा चेन्नईले मुम्बई इन्डियन्सलाई २२ रनले हराएको थियो । सन् २०११ को उपाधि पनि चेन्नईले नै उचालेको थियो । उक्त संस्करणको फाइनलमा चेन्नईले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ५८ रनले हराएको थियो ।
त्यसपछि चेन्नई सुपर किङ्सले सन् २०१८ मा उपाधि चुमेको थियो । उक्त संस्करणको फाइनलमा चेन्नईले सनराइजर्स हैदराबादलाई आठ विकेटले हराएको थियो । सन् २०२१ को उपाधि पनि चेन्नईले नै चुमेको थियो ।उक्त संस्करणको फाइनलमा चेन्नई सुपर किङ्सले कोलकाता नााइट राइडर्सलाई २७ रनले पराजित गरेको थियो ।
सन् २०२३ मा पनि चेन्नई सुपर किङ्सले उपाधि जितेको थियो । उक्त संस्करणको फाइनलमा चेन्नईले गुजरात टाइटन्सलाई पाँच विकेटले पराजित गरेको थियो ।
यसैगरी, मुम्बई इन्डियन्सले सन् २०१३ मा पहिलो पटक उपाधि जितेको थियो । फाइनलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई २३ रनले पराजित गरेको थियो । सन् २०१५ मा मुम्बईले दोस्रोपटक उपाधि जितेको थियो । फाइनलमा मुम्बईले चेन्नईलाई नै ४१ रनले हराएको थियो ।
त्यसपछि मुम्बई इन्डियन्सले सन् २०१७ मा उपाधि जितेको थियो । उक्त संस्करणको फाइनलमा मुम्बईले राइजिङ पुणे सुपरजायन्ट्सलाई एक रनले पराजित गरेको थियो । आईपीएलको इतिहासमा यो सबैभन्दा कम रनअन्तरको जित पनि हो ।
मुम्बईले सन् २०१९ मा चौथो पटक उपाधि उचालेको थियो । उक्त संस्करणको फाइनलमा पनि मुम्बईले चेन्नईलाई एक रनले नै हराएको थियो । मुम्बईले अन्तिम पटक सन् २०२० मा उपाधि जितेको थियो । मुम्बईले फाइनलमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराएको थियो ।
- तथ्याङ्कमा मुम्बई बलियो
इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबिच हालसम्म कुल ३७ खेल खेलिएको छ । यी दुई टोलीबिचको आपसी भिडन्तमा मुम्बई इन्डियन्स केही बलियो देखिन्छ । ३७ मध्ये २० खेलमा मुम्बईले चेन्नईलाई हराएको छ । १७ खेलमा भने चेन्नईले मुम्बईलाई पराजित गरेको छ ।
इतिहासलाई हेर्दा चेन्नई सुपर किङ्सभन्दा मुम्बई इन्डिन्यस केही बलियो देखिए पनि पछिल्लो केही खेलमा चेन्नई हाबी भएको देखिन्छ । यी दुई टोलीबिच खेलिएको पछिल्ला तीन खेलको स्थितिलाई हेर्दा तीनवटै खेलमा चेन्नईले मुम्बईलाई हराएको छ ।
चेन्नईको स्टेडियममा हालसम्म यी दुई टोलीबिच कुल नौ खेल खेलिएको छ । त्यसमा चेन्नईभन्दा मुम्बई बलियो देखिन्छ । चेन्नईमा खेलिएको नौमध्ये ६ खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ । घरेलु मैदानमा चेन्नई सुपर किङ्सले तीन खेलमात्र जित्न सकेको छ ।
- मुम्बईको माथिल्लो क्रम बलियो
आईपीएलको जारी संस्करणमा मुम्बई इन्डियन्सको माथिल्लोक्रम निकै बलियो देखिन्छ । मुम्बई इन्डियन्सको माथिल्लो क्रममा अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिसकेका ब्याट्सम्यानहरुको वाहुल्य देखिन्छ ।
ट्रेन्ट बोल्ट र दीपक चाहरजस्ता क्षमतावान तिब्रगतिका बलर पनि टोलीमा आबद्ध छन् । मिचेल सान्टनर र मजिब उर–रहमानजस्ता प्रभावशाली स्पिनरबाट पनि मुम्बई इन्डियन्सले उत्कृष्ट प्रदर्शनको आशा गरेको छ । चेन्नईको स्पिन पिचमा यी दुई बलरले गतिलो प्रदर्शन गर्न सक्ने सम्भावना छ ।
- चेन्नईलाई स्पिनरहरुको भर
चेन्नई सुपर किङ्समा डेभोन कनवे, रचिन रविन्द्र, रविचन्द्रन आश्विन, साम कुर्रनजस्ता प्रभावशाली खेलाडी छन् । यसपटक चेन्नई सुपर किङ्सको टोलीमा उत्कृष्ट स्पिनरहरु पनि रहेका छन् । नुर अहमद, रविन्द्र जडेजा र आश्विनले स्पिन बलिङको जिम्मेबारी समाल्ने छन् ।
खासगरी स्पिन बलरलाई साथ दिने चेन्नईको पिचमा यी बलरको प्रदर्शन झनै उत्कृष्ट हुने अनुमान गरिएको छ । यसपटक चेन्नई सुपर किङ्समा नौजना अलराउन्डर छन् ।
- स्पिनरलाई माया गर्ने पिच
चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबिच खेल हुने एम. ए. चिदम्बरम स्टेडियमको पिचले खासगरी स्पिन बलरहरुलाई साथ दिने गरेको छ । यो पिचमा रन बनाउन ब्याट्सम्यानहरुले निकै सँघर्ष गर्नुपर्ने अवस्था छ ।
यो स्टेडियममा हालसम्म आईपीएलको ८५ खेल खेलिएको छ । त्यसमध्ये पहिलो ब्याटिङ गर्ने टोलीले ४९ खेल जितेका छन् । ३६ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । यो स्टेडियममा बनेको सबैभन्दा उच्च स्कोर पाँच विकेट गुमाएर दुई सय ४६ रन हो । यो स्कोर चेन्नई सुपर किङ्सले सन् २०१० को आईपीएलमा राजस्थान रोयल्सविरुद्ध बनाएको थियो ।
- वर्षाले खेल बिथोल्ने सम्भावना
चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबिचको खेल वर्षाले बिथोल्ने सम्भावना रहेको समाचारमा जनाइएको छ । यी दुई टोलीबिच खेल हुने दिन आइतबार चेन्नईमा ८० प्रतिशत वर्षाको सम्भावना रहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आइतबार चेन्नईको तापक्रम २७ देखि ३३ डिग्री सेल्सियसको बिचमा रहने अनुमान गरिएको छ ।
- सम्भावित टोली
चेन्नई सुपर किङ्स : ऋतुराज गायकवाड (कप्तान), डेभोन कनवे वा रचिन रवीन्द्र, दीपक हुड्डा, राहुल त्रिपाठी, शिवम दुबे, साम कुर्रन, महेन्द्रसिंह धोनी (विकेटकिपर), रवीन्द्र जडेजा, रविचन्द्रन आश्विन, खलिल अहमद, नुर अहमद र माथिसा पाथिराना ।
मुम्बई इन्डियन्स : सूर्यकुमार यादव (कप्तान), रोहित शर्मा, विल ज्याक्स, तिलक वर्मा, नमन धीर, कर्ण शर्मा, रोविन मिन्ज (विकेटकिपर), मिचेल सान्टनर, दीपक चाहर, मजिब उर–रहमान र ट्रेन्ट बोल्ट ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
आज दासताविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
-
कुलमानमाथि कारबाहीको डण्डा : सत्ता भित्रैबाट आलोचना
-
‘क्याबिनेटले स्वीकृत गरेपछि रूख काट्दा पनि पक्राउ पुर्जी जारी भएको छ’
-
यातायात कार्यालय विराटनगरबाट बिचौलिया काम गर्ने १२ जना पक्राउ