आयोजक रुपन्देहीलाई हराउँदै एपीएफ क्लब सेमिफाइनलमा

काठमाडौँ । विभागीय टोली एपीएफ क्लबले रुपन्देहीकै पुरानो र प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ । देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा आइतबार सम्पन्न खेलमा एपीएफ क्लबले आयोजक करेन्ट रुपन्देही–११ लाई १–० गोलले पराजित गरेको हो ।
सशस्त्र प्रहरी बलको एपीएफ क्लबले अब फाइनल प्रवेशका लागि संकटा क्लब र जर्जियन एफसीबिचको विजेतासँग भिडन्त गर्नेछ । संकटा र जर्जियनबिचको खेल सोमबार खेलिने छ । एपीएफ र रुपेन्देहीबिचको खेल शनिबार नै सकिने थियो । तर, प्रतिकूल मौसमका कारण ६५ मिनेटपछिको खेल आइतबार खेलाइएको हो ।
एपीएफ क्लबलाई अन्तिम चारमा पु¥याउन हरि कार्कीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेको थियो । उनले निर्धारित समयको १८ औँ मिनेटमा गोल गरेका थिए । युवराज खड्काले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार रुपन्देहीका ड्यानियल सेगुन सिमोन्डले बचाएका थिए । तर, राम्रोसँग बल क्लियर हुन नसक्दा राइट ब्याक जीवन गुरुङतर्फ पुगेको थियो । उनले पनि राम्रोसँग क्लियर गर्न सक्दा हरिले सेकेन्ड बारको टप कर्नरमा गोल गरेका हुन् ।
खेलको ‘म्यान अफ दि म्याच’ भने एपीएफ क्लबका गोलरक्षक विशाल गुरुङ घोषित भए । उनले नगद ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पनि प्राप्त गरे । आइतबार अर्को खेलमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज र विभागीय टोली नेपाल पुलिस क्लब भिड्दै छन् । यो खेल दिउँसो १६ः ०० बजे सुरु हुनेछ ।
प्रतियोगिता बुटवल उपमहानगरपालिकाको संरक्षण तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति इण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजनमा आयोजना भएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनी मुख्य सहयोगी संस्था रहेको प्रतियोगिताको २३औँ संस्करणको विजेताले १२ लाख १२ हजार दुई सय २२ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
उपविजेता टोलीले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार प्रदान गरिने छ । विधागततर्फ सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट डिफेन्डर, सर्वोत्कृष्ट मिडफिल्डर, सर्वोत्कृष्ट फरवार्ड र सवोृत्कृष्ट प्रशिक्षकलाई जनही ३१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई भने स्कुटर वा मोटरसाइकल पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ लाई पनि ११ हजार एक सय ११ रुपैयाँबाट पुरस्कृत गरिने छ ।
यो संस्करणमा आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब तथा दुई विदेशी टोली एडोर्न गडवाल स्पोर्टिङ क्लब र जर्जियन एफसीको सहभागिता रहेको छ । प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हाइब्रिड’ मकै नपाउँदा किसान विदेशी बीउ प्रयोग गर्न बाध्य
-
क्षयरोगका सङ्क्रमित बढ्दै, बागलुङमा हालै भेटिए १७९ जना रोगी
-
कुलमानलाई हटाउनु लज्जास्पद कुकर्मको पराकाष्ठ : नारायणकाजी
-
१२ बजे, १२ समाचार : तीन ठूला नेताको सहमति भएकै दिन विद्युत प्राधिकरणबाट कुलमान आउटदेखि मैनबत्ती बालेर रविद्वारा सांकेतिक विरोधसम्म
-
रोमाञ्चक खेलमा दिल्लीले १ विकेटले हरायो लखनउलाई
-
बत्ती निभाएर मैनबत्ती बाल्दै रविको साङ्केतिक विरोध