मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय

एम्सको बोर्ड बैठक नेपालमा

आइतबार, १० चैत २०८१, १२ : ५०
आइतबार, १० चैत २०८१

काठमाडौँ । एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को बोर्ड बैठक नेपालमा आयोजना हुने भएको छ । बोर्ड बैठक जेठ तेस्रो साता आयोजना हुने जानकारी नेपालका लागि एम्सका दुत टीएस ठकुरीले दिए । 


एम्सको बोर्ड बैठक जेठ २१ र २२ गते हुनेछ । ‘एम्सको बोर्ड बैठक नेपालमा बस्नु देशको पर्यटन क्षेत्रका लागि पनि खुशीको खबर हो,’ नेपालगन्ज म्याराथनका संस्थापकसमेत रहेका ठकुरीले भने, ‘यसले नेपालको विश्वव्यापी प्रचार–प्रसार हुनेछ । साथै नेपालका रेस आयोजकलाई अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध विस्तार गर्नसमेत मद्दत पुग्नेछ ।’

एम्सले संसारभर वर्ल्ड एथलेटिक्ससँग समन्वय गरेर रोड रेसको नियमन तथा प्रवद्र्धन गर्छ । एम्सको सन्जाल एक सय २० देशमा छ । करिब चार सय ५० रोड रेस आयोजक यसका सदस्य छन् । संसारभर रोड रेसको मापन र मान्यता एम्सले नै दिने गर्दछ ।

एम्सको बोर्ड मिटिङका लागि आतिथ्यता गर्न लागेकोमा नेपालप्रति एम्सका प्रेसिडेन्ट पाको बोराओले आभार प्रकट गरेका छन् । स्पेन निवासी बोराओ विश्वकै राम्रो र उत्कृष्ट कोर्ष मानिने भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर पनि हुन् । 

एम्सको बोर्ड बैठकमा करिब डेढ दर्जन राष्ट्रका प्रतिनिधिको सहभागिता रहने बताइएको छ । नेपालमा नियमित आयोजना हुँदै आएका सम्पुर्ण रोड रेस आयोजकसँग एम्सको अन्तरक्रिया गराउने तयारी भइरहेको जानकारी पनि ठकुरीले दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप