मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय
कथा

दश स्टेसनभरिको मोह

आइतबार, १० चैत २०८१, १२ : ३८
आइतबार, १० चैत २०८१

अब त यस घटनालाई बूढीबज्यूको कथामा जस्तै उहिले नै भनेर थाल्नुपर्छ, कारण घटना निकै पुरानो हो । म रक्सौल रेल स्टेसनको प्लेटफर्ममा अलमलिरहेको हुन्छु । समस्तिपुर जाने गाडी अघि नै छुटिसकेको थियो । वीरगन्जको भन्सारमा ढिलो नगरिदिएको भए गाडी फेला पर्ने रहेछ । अब रातभरि र भोलि दिउँसोको एउटा भाग प्लेटफर्ममा बिताउनुपर्ने बाध्यताले मेरो मस्तिष्क घेरिएको हुन्छ । साथी कोही छैन, एक्लो छु । मनमनै विचार्छु— ‘काठमाडौँदेखि गुवाहाटीसम्मको यस यात्राको के कुरा भो र ? सम्पूर्ण जीवनयात्रामै खोइ भनेजस्तो साथी कहाँ फेला पर्‍यो र ? झ्वास्स सम्झन पुग्छु— रविन्द्रनाथ ठाकुरका दुई पङ्क्ति— यदि तिम्रो पुकार सुनेर कोही आउँदैनन् भने एक्लै हिँड, एक्लै हिँड, एक्लै हिँड ।’ मनलाई केही सान्त्वना मिल्छ । प्लेटफर्ममा कुल्लीहरूको होहल्लाले झर्को लागेर आउँछ, यताउति हेर्छु । छेउछाउमा कोही भरपर्दो मानिस देखापर्दैन । दुईजना पुलिस छेउमा आउँछन् र सुटकेस खोल्न भन्छन् । म मन नलागे पनि तर्कमा पर्न चाहन्नँ र खोलेर देखाइदिन्छु । सुटकेसमा लुगाफाटाबाहेक केही कपी कागजहरू हुन्छन् । 

‘यी केका कागजपत्र हुन् ?’ पुलिस अफिसर प्रश्न गर्छ । 

‘मलाई केही लेख्ने बानी छ, तिनै लेखौटहरू हुन् ।’ 

‘ए, तपाईं कवि हुनुहुन्छ ?’ पुलिस यसरी व्यङ्ग्य गर्छ, मानौँ कवि हुनु ठुलो अपराध हो । म केही उत्तर नदिई सुटकेस बन्द गर्छु । 

‘के तपाईं नेपाली हुनुहुन्छ बाबु ?’ एउटा आवाज आउँछ । 

कुतूहलले म शब्द आएतिर फर्कन्छु । नेपाली टोपी, कमिज र मैला सुरुवाल लाएको चेहरा म देख्छु ।

‘नेपाली नै हुँ ।’ छोटो उत्तर दिन्छु । 

‘ए ! कहाँसम्म पाल्नुहुन्छ बाबु ?’ ऊ निकै उत्सुक देखिन्छ । 

‘जान त टाढै जान्छु, तर अहिले त समस्तिपपुरसम्म जानु छ । गाडी अघि नै छुटिसकेछ ।’ 

‘ए समस्तिपुर जाने गाडी त अब भोलि बेलुकीतिर मात्रै पो आउँछ । आज रातभरि यहाँ बस्नुभन्दा त अहिले राति दरभङ्गा जाने गाडीमा जानु नि । दरभङ्गाबाट उता समस्तिपुरको गाडी फेला पारिहाल्नुहुन्छ नि ।’

‘हो र ? मलाई त केही थाहा छैन । यो बाटो कहिल्यै हिँडेको छैन ।’

‘ए ! त्यसै गर्दा सजिलो पर्छ बाबु । म पनि सीतामडीसम्म जान्छु । दश स्टेसनसम्म सँगै हुन्छ । बरु टिकस काट्ने पैसा मलाई दिनुहोस् । म टिकस काटेर ल्याउँछ ।’

म झस्कन्छु । यात्रामा धेरै प्रकारका ठगहरू फेला पर्छन् । यो पनि त्यसैमध्येको एक प्रकार हो कि ? के भर हुन्छ र ? 

मेरो मनोभाव उसले बुझ्छ क्यार भन्छ— ‘टिकटमा लाम लाग्नुपर्छ । म लाममा बस्छु । तपाईं आफ्ना मालसामानहरू रुङ्नुस् । लाममा मेरो पालो आएपछि दिए पनि हुन्छ पैसा ।’

ऊ उत्तरको प्रतीक्षा गर्दैन । टिकटतिर हिँडिहाल्छ ।  ‘छिः कस्तो अविश्वास मेरो; बिचरा सोझो मानिस रहेछ ।’ मनमनै ग्लानि अनुभव गर्छु ।

‘तर के हो के, त्यसै झट्ट विश्वास पो कसरी गर्न सकिन्छ र ?’ 

विचार अर्कोतिर ढल्कन्छ । एउटा दोधारमै म टुक्रुक्क बस्छु । असजिलो लागेर आउँछ । होल्ड अलमाथि थ्याच्च बस्छु । केही समय बित्छ । टिकटघरतिर यसो च्याएर आउन मन लाग्छ, तर जिनिसहरू छाडेर जाने आँट पनि आउँदैन । के के विचार्दै एक हातमा सुटकेस र एक हातमा बेडिङ बोकेर बिस्तारै प्रथम दर्जाको प्रतीक्षालयतिर लाग्छु । भित्र पसेर सामानहरू एक कुनामा थन्क्याउँछु । छेउको आराम कुर्सीमा एकछिन लमतन्न पर्छु ।

झन्डै तीस वर्षअघि, मात्र केही छिन देखेको चेहरा आज मलाई सम्झना छैन, तर सम्झनामा छन् उसका मोहमय ती शब्दहरू, न्यानो आत्मीयता र केही छिनमै उसले हृदयमा लाएको मायाको अमेट छोप । दश स्टेसनभरिको यात्रामा उसले लाएको त्यो मोह हृदयभित्र अझ टड्कारै छ ।

‘त्यो मान्छेको टिकट लिने पालो आइपुग्यो कि ?’ म झस्केर उभिन्छु । बिस्तारै निस्केर टिकटघरतिर लाग्छु । निकै लामो लाम देखेर मन आतिन्छ । मैले चिनेको त्यो चेहरालाई लाममा मेरा आँखाले सरसरी खोज्छन् । टिकट घरकै छेउबाट ऊ कराएको सुन्छु— ‘ए बाबु ल्याउनुहोस् पैसा, मेरो पालो आउन आँट्यो ।’ नभन्दै ऊ दुईजनाको पछि हुन्छ । हतार हतार गोजीबाट एउटा दशको नोट झिकेर दिन्छु । केही छिनपछि नै उसले टिकट र एकटके नोट मेरो हातमा राखिदिन्छ र भन्छ— ‘टिकस समस्तिपुरसम्मकै लिएँ । तपाईंलाई दरभङ्गामा टिकस काट्ने झमेला पर्दैन ।’ 

हामी प्लेटफर्ममै गाडी पर्खेर बस्छौँ । केही बेरपछि रेल आइपुग्छ । पेसिन्जर गाडी हुनाले उति घुइँचो हुँदैन । ऊ मेरो बेडिङ र सुटकेस बोकेर एउटा डब्बामा चढ्छ । म पछि लाग्छु । मेरा सामान माथि राखेर ऊ तल सिट हातले पुछपाछ पार्छ र मलाई बस्न लाउँछ । आफू पनि मेरो छेउमा बस्छ । एकछिन पछि मदिसेहरू त्यस डिब्बामा निकै खनिन्छन् तर मेरो साथीले हाम्रो छेउमा कसैलाई ढिप्न दिँदैन । हामी सुबिस्तैसित बस्छौँ । साथी बिस्तारै अघि बढ्छ । 

‘बाबु समस्तिपुरबाट कता लाग्नुहुन्छ ?’ उसको प्रश्न ।

‘जान त म आसाम गुवाहाटी जान्छु ।’

‘ए त्यसो भए त समस्तिपुरबाट बरौनी जानुहोस् बाबु । त्यहीँदेखि आसाम मेल फेला पार्नुहुन्छ ।

‘हेरौँ अब, केकस्तो सुबिस्ता पर्छ ।’

‘यता कतादेखि पाल्नुभएको ?’

‘काठमाडौँबाट ।’

‘ए ! घर काठमाडौँ हो बाबुको ?’ 

‘होइन घर त आसाम नै हो । काठमाडौँ डुल्न गएको ।’ 

केही छिन निस्तब्ध रहन्छ । छेउमा बसेका मदिसेहरू उङन थाल्छन् । गाडी आफ्नै रफ्तारमा कुदेको छ अँध्यारोलाई चिर्दै ।

‘तपाईं सीतामडीबाट कता जाने ?’ निस्तब्धता भङ्ग गर्दै म प्रश्न राख्छु ।

‘म जनकपुर जान्छु, नेपाल अधिराज्यभित्र । त्यतै एउटा सानो गाउँमा अधियाँ बट्टा गरेर जहानको पेट पालो गर्दैछु । जहान, दुईटी छोरी, एउटा छोरो र म गरी जम्मा पाँच जनाको जहान छौँ । —उत्तरमा ऊ सोधेभन्दा लामै भन्छ ।

फेरि केहीछिनको मौनता रहन्छ ।

‘के गर्नु बाबु ! कर्ममा दुःख भोग्नु लेखेको रहेछ । अघि त म पनि उपर आसामतिर धेरै वर्ष बसेँ । उखुको खेती गरेर दुई चार पैसा कमाएँ पनि । के मन आयो के । आ, अब भएको जेथो लिएर मदेशतिर पो लानुपर्‍यो, त्यतै यसो एउटा घरभेटीको जग्गा लिएर केटाकेटी पो थन्क्याउनुपर्‍यो भन्ने विचार आयो । पूर्व मदेशतिर पसेँ । तर एउटा चोट्टाको फेला परेर भएको जेथो पनि पो गुमाएँ । मान्छे चिन्न सकिँदो रहेनछ ।’

‘हँ, के भो रे ? जेथी गुमाउनुभो त ?’

के भन्नुहुन्छ बाबु, मदेशका दलाल त हुन्, नसक्नुका चोट्टा हुँदा रहेछन् । रहेछन् आफ्ना नेपाली भाइ भनेर मात्रै के गर्नु । म भने आफ्नो देश भनेर गएँ । त्यहाँ भने को पोको लिएर आउँछ र चड्काउँला भनेर गौँडा ढुकेर बसेका हुँदा रहेछन् । एउटा छट्टुले म जग्गा किनिदिन्छु भनेर दुरुस्त पार्‍यो ।

भर परेँ । भएको जेथो त्यसैलाई सुम्पे । भरेभन्दा त केको जमिन किनिदिनु ? मलाई सर्वस्व पारेर छोड्यो ।’

‘जमिन किनिदिन्छु भन्दैमा पहिले नै कसरी आफ्नो पोको सुम्पेको त, जग्गा हेरेर आफ्नो नाउँमा दर्ता भएपछि पो दिनुपथ्र्यो त पैसा ।’

‘हामी सोझा व्यवहारका मान्छे । धोकामा परियो नाइँ । भैगो, त्यस चोट्टाले खेप खायो, मेरो भाग्य खाएको छैन । अहिले यता जनकपुरतिर दुःखसुख गुजारा चलेकै छ ।’

‘फेरि आसाम जानु भएन ?’

‘गइनँ बाबु, हाम्रो मुलुकभित्र बाहिरका आएर त कमाइ राखेका छन् भने हामीले पेट पालो गर्न किन नसक्नु भन्ने विचार आयो । जहाँ पनि दुःख नगरी हुँदैन । राम्रा नराम्रा मानिस सबै ठाउँमा हुँदा रहेछन् । त्यही मदेशमा एउटाले त्यसरी ठगे, अनि मदेशमै यता जनकपुरतिर अर्का एकजनाले ठूलो उपकार गरे । घरभेटी दिए, घर बनाउने खर्च दिए । अधियाँ बट्टा गरेर खान जमिन दिएका छन्; आनन्दै छ ।’

सीतामढी स्टेसन आइपुग्न आँटेछ क्यार । उसले भन्यो— ‘लु बाबु; अघिल्लो स्टेसनमा म ओर्लनुपर्छ । राम्ररी जाइबक्सिएला । आफ्नो मालसामानको ध्यान राख्नुहोला । साह्रै चोर लाग्छन् यता हुँदो ।’

दश स्टेसनभित्र उसले हृदयमा एउटा अमेट मायाको छाप बसाउँछ । कहाँको त्यो, कहाँको म तर दुई घण्टाभित्र हामी धेरै नजिकिएका छौँ । मानवीय हृदयले हृदय छुँदो रहेछ । यही हृदयको नाताले हामी वर्षौंका सम्बन्धित जस्ता हुन पुग्छौँ । 

गाडी अड्छ । स्टेसनको स्वर सुनिन थाल्छ । ऊ भन्छ— ‘लु बाबु अब छुट्टियौँ । खोइ एक्लै हुनुहुन्छ, खुब होसियारीसाथ जानुहोला । कुल्लीको भर नपर्नु । आफ्नो सामानको ध्यान राख्नू ।’ उसको स्वर साँच्चै रुन्चे हुँदै गएको छ । ऊ प्लेटफर्ममा ओर्लिसकेको छ । मतिर हेरेर हात जोडिरहेको छ । प्लेटफर्मको उज्यालोमा म देख्छु— उसका आँखा डबडबाउँदा छन् । गाडी फेरि आफ्नो गन्तव्य स्थानतिर लाग्छ, उसलाई प्लेटफर्ममै छोडेर । अनायसै मेरा आँखा पनि रसिला हुन्छन् ।

यो त्यस बेलाको कुरो हो जब नेपालमा पूर्व–पश्चिम राजमार्ग बनेकै थिएन । देशको एक कुनादेखि अर्को कुना पुग्न भारतभित्र भएर जानुपथ्र्यो । भारतबाट काठमाडौँ जानुपर्दा काकरभिट्टाबाट राजमार्ग भएर जाने व्यवस्था थिएन र रक्सौल–वीरगञ्ज हुँदै त्रिभुवन राजपथ भएर जानुपथ्र्यो । यसबीच समयले कति लामो पर्खाल नाघिसक्यो, नदी–खोलाहरूबाट कति पानी बगिसक्यो । पृथ्वीले अठ्ठाइस चोटी सूर्यको परिक्रमा गरिसक्यो अट्ठाइस वसन्त र शिशिर पार भइसके । 

झन्डै तीस वर्षअघि, मात्र केही छिन देखेको चेहरा आज मलाई सम्झना छैन, तर सम्झनामा छन् उसका मोहमय ती शब्दहरू, न्यानो आत्मीयता र केही छिनमै उसले हृदयमा लाएको मायाको अमेट छोप । दश स्टेसनभरिको यात्रामा उसले लाएको त्यो मोह हृदयभित्र अझ टड्कारै छ । जीवनको अन्तसम्म पनि यो आलै रहन्छ भन्ने कुरामा मेरो हृदयलाई शङ्का गर्ने ठाउँ कत्ति छैन 

(लीलबहादुर क्षत्रीका कथाहरू’बाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लीलबहादुर क्षत्री
लीलबहादुर क्षत्री
लेखकबाट थप