असफलता राम्रो चिज हो, यसले सफलतालेभन्दा बढी कुरा सिकाउँछ– सुनिता विलियम्स

वासिङटन डीसी । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा ९ महिना १४ दिन बिताएर गएको हप्ता पृथ्वीमा फर्किइन् । आठ दिनको लागि मात्रै भनेर अन्तरिक्षमा गएकी सुनिता २८६ दिनसम्म त्यहाँ बस्नु पर्यो । परिस्थिति अनुसार सुनिताले आफूलाई कसरी परिवर्तन गर्छिन् ? हरेक अप्ठ्यारो बाटोलाई कसरी सजिलो बनाउँछिन् ? उनकै शब्दमा सुन्नुहोस् ।
जब म हुर्कँदै थिएँ, मलाई याद छ- चन्द्रमामा मानिसहरू हिँडेको देखेँ । यसरी हिँड्नु त निकै कमाल हुन्छ होला भनेर सोच्थे । मैले त जीवनमा अगाडि बढ्ने क्रममा बस आफूलाई मन पर्ने कुराहरू खोज्ने प्रयास गरेँ ।
म कलेजमा टपर थिइनँ । कलेजका दिनहरूमा मेरो आफ्नै केही उतारचढावहरू थिए, केही असफलताहरू थिए र धेरै सफलताहरू पनि । मलाई लाग्छ- असफलता पनि राम्रो कुरा हो । यसले हरेक व्यक्तिलाई सफलतालेभन्दा धेरै कुरा सिकाउँछ ।
मन लगाएर, दृढ सङ्कल्प राखेर, कुनै उपाय खोज्नु भयो भने तपाईँले जे चाहनुहुन्छ, त्यो चिज गर्न सक्नुहुन्छ । धेरै कुराहरूमा मेरो दृष्टिकोण पक्कै पनि फरक छ । मानिसहरूलाई लाग्न सक्छ- म एउटा कुराबाट सिधै अर्को कुरामा गएँ, तर बाटोमा धेरै प्रश्नहरू थिए ।
जब म ठुलो हुँदै थिएँ, म पशु चिकित्सक बन्न चाहन्थेँ । मलाई पशुचिकित्सक बन्ने कुरामा पूर्ण विश्वास थियो । मेरो बुबा डाक्टर हुनुहुन्थ्यो, जीवविज्ञान हाम्रो परिवारमा अलिअलि थियो, तर मलाई गणित र भौतिकशास्त्र धेरै मन पथ्र्याे । मलाई साँच्चै थाहा थिएन कि म के गर्न चाहन्छु... मलाई जनावरहरू एकदमै मन पर्थे, त्यसैले सायद म उनीहरूको डाक्टर बन्न चाहन्थेँ । मैले आफ्नो पहिलो रोजाइको कलेजमा भर्ना हुन पाइन्, त्यसैले मैले मेरो दोस्रो रोजाइबारे सोच्नु पर्याे र म पाइलट भएँ ।
जब म पाइलट थिएँ, म जेट उडाउन चाहन्थेँ किनभने त्यसबेला ‘टप गन’ फिल्म रिलिज भएको थियो । टम क्रुजको यस फिल्ममा तपाईँले यताउता जेट उडिरहेको देख्नुहुन्छ र रोमाञ्चित हुनुहुनेछ । त्यतिबेला अमेरिकी सेनामा महिलाहरूका लागि विकल्पहरू सीमित थिए, त्यसैले मैले जेट चलाउन पाइनँ, हेलिकप्टर मात्रै पाएँ । मलाई हेलिकप्टर उडाउन साँच्चै रमाइलो लाग्थ्यो र म टेस्ट पाइलट स्कूलमा पढ्न सक्षम भएँ, जसले पछि मलाई टेस्ट पाइलट बन्न अनुमति पनि दियो ।
बाटो सीधा र सरल थिएन । म २५ वर्षको हुँदासम्म के गर्ने भन्ने मलाई थाहा थिएन । एक पटक म टेस्ट पाइलट स्कुल गएँ र पहिलो पटक एक अन्तरिक्ष यात्रीलाई भेटेँ । उनीहरूलाई भेटेर अन्तरिक्ष यात्रीहरूले के गर्छन् भन्ने कुरा सिकेपछि, मैले सोचेँ कि यदि मसँग पनि उनीहरूसँग भएको जस्तै केही योग्यता छन् भने म पनि त्यस्तै बन्न सक्छु । पहिले देखि नै यो बाटो तय गरिएको थिएन, यहाँसम्म आइपुग्ने बाटो सीधा थिएन ।
आफूले चालेको प्रत्येक पाइलासँग म त्यति परिचित पनि थिइनँ, तर मैले अरूलाई त्यो क्षेत्रमा सफल भएको देखेको थिएँ । आफूलाई मनपर्ने कुरा के हो खोजौं । आफूलाई के मन पर्छ भनेर पत्ता लगाउन दुई वा तीन पटक प्रयास गर्नुपर्ने हुन सक्छ । एक पटक यो थाहा पाएपछि, तपाईँले यसलाई राम्रोसँग गर्नुहुन्छ । यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।
सिकेको कुरा केही पनि खेर जाँदैन:
चालीस वर्षको उमेरसम्म म गणित बेकार छ भन्ने ठान्दथे । कलेजमा पनि सोचिरहन्थे- यी सबै के सिकिरहेको छु ? यो कुरा त आज पनि त साना केटाकेटीहरूका लागि हतोत्साहित गर्ने खालको हो । आफूले सिकिरहेको कुरा किन सिकिरहेका छौँ भनेर बालबालिकाहरूले बुझ्दै बुझ्दैनन् ।
तर पछि मात्रै हामीले बुझ्छौँ, जे सिकेका छौँ त्यो खेर जाँदैन । त्यसैले अब म स्कुल शिक्षक बन्न चाहन्छु ताकि म जीवनका व्यावहारिक उदाहरणहरू कक्षाकोठामा फिर्ता ल्याउन सकूँ ।
(विभिन्न अन्तरवार्ताहरूमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हाइब्रिड’ मकै नपाउँदा किसान विदेशी बीउ प्रयोग गर्न बाध्य
-
क्षयरोगका सङ्क्रमित बढ्दै, बागलुङमा हालै भेटिए १७९ जना रोगी
-
कुलमानलाई हटाउनु लज्जास्पद कुकर्मको पराकाष्ठ : नारायणकाजी
-
१२ बजे, १२ समाचार : तीन ठूला नेताको सहमति भएकै दिन विद्युत प्राधिकरणबाट कुलमान आउटदेखि मैनबत्ती बालेर रविद्वारा सांकेतिक विरोधसम्म
-
रोमाञ्चक खेलमा दिल्लीले १ विकेटले हरायो लखनउलाई
-
बत्ती निभाएर मैनबत्ती बाल्दै रविको साङ्केतिक विरोध