मधु आचार्यले मनलाग्दी गरेपछि लोकतान्त्रिक अपाङ्ग संघमा लफडा

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको महाधिवेशनको नयाँ नेतृत्व चयन प्रक्रियामा लफडा भएको छ ।
पार्टीका तर्फबाट निर्देशन समितिको संयोजक बनाइएका केन्द्रीय सदस्य मधु आचार्यले निर्देशन समितिका अन्य सदस्यहरू पार्टीका केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र सरस्वती बजिमयको सहमतिबिना निर्वाचन प्रक्रिया अगाडि बढाएर मनलाग्दी गरेपछि लफडा भएको हो ।
निर्देशन समितिकी सदस्य बजिमय अमेरिकामा रहेकाले महाधिवेशन प्रक्रियामै संलग्न छैनन् । महाधिवेशनको उद्घाटन प्रक्रियासम्म सहभागी श्रेष्ठले नयाँ नेतृत्व चयन प्रक्रियामा भने असहमति जनाउँदै बहिस्कार गरेर हिँडेका हुन् ।
शुक्रबार र शनिबार भएको महाधिवेशनमा शनिबार नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने कार्यतालिका थियो । नयाँ नेतृत्वका लागि माधव चम्लागाई, विकास थापा र कल्पना खड्का अध्यक्षका उम्मेदवार थिए । महाधिवेशनको कार्यतालिका बमोजिम नै नयाँ कार्यसमिति छान्ने निर्वाचन हुँदा निर्देशन समितिका संयोजक आचार्यले मनलाग्दी गरेको अध्यक्षकी उम्मेदवार खड्काले बताइन् ।
उम्मेदवार खड्काका अनुसार उनलाई र अर्का अध्यक्षका उम्मेदवार थापालाई मतदानका बेला प्रतिनिधिसँग मत माग्न र मतदान स्थल वरपर जान प्रहरी लगाएर रोक लगाइयो । ‘विकास जी र मलाई त मतदान स्थल वरपर जान प्रहरी लगाएर रोक लगाइयो । हामीले त प्रतिनिधिहरूलाई आफ्नो कुरा राख्नसमेत दिइएन । एकलौटी रूपमा भएको निर्वाचन हामीले नस्विकार्ने भनिसकेका छौँ,’ खड्काले रातोपाटीसँग भनिन् ।
एकलौटी भएपछि अध्यक्षका उम्मेदवार खड्का र थापाले निर्वाचन नै बहिस्कार गरेका थिए ।
निर्वाचन समितिका संयोजक जगन्नाथ श्रेष्ठले निर्देशन समितिले दिएको मतदाता नामावलीको सूची एकलौटी भएको भन्दै अध्यक्षका उम्मेदवार खड्का र थापासहित उनीहरू पक्षका प्रतिनिधिले निर्वाचन बहिस्कार गरेको जानकारी दिए । ‘मतदाता नामावली एकलौटी भएको भन्दै अध्यक्षका उम्मेदवारद्वय कल्पना खड्का र विकास थापाले निर्वाचन बहिस्कार गर्नुभयो । निर्देशन समितिका सदस्य मदनकृष्ण श्रेष्ठ निर्वाचन सुरु गर्दाको मुचुल्कामा सही गरेर बाहिरिएपछि आउनुभएन,’ श्रेष्ठले रातोपाटीसँग भने ।
कांग्रेस केन्द्रीय कार्यालय स्रोतका अनुसार निर्देशन समिति संयोजक आचार्य र पार्टी केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीको निर्देशनमा निर्वाचनका सामान्य प्रक्रियासमेत पूरा नगरी निर्वाचन गराइएको छ । ‘मत हाल्न चाहने प्रतिनिधिलाई हस्ताक्षर गराएको पाइएन । मतदान गरेपछि मतदान गरेको चिनो पनि लगाइएको देखिएन,’ केन्द्रीय कार्यालय स्रोतले भन्यो ।
चम्लागाई कांग्रेसमा महामन्त्री गगन थापा र केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी निकट मानिन्छन् ।
मुलुकभरबाट एक हजार एक सय ८८ मतदाता रहेकोमा अन्तिम भोटर लिष्टमा ८९४ जना प्रतिनिधि र एक सय १७१ केन्द्रीय समितिका पदाधिकारीको नाम निर्वाचन समितिले टाँसेको थियो । तर, एक पक्षलाई मत नै हाल्न नदिएर ४७० मत खसाएको आरोप अध्यक्षका उम्मेद्वारद्वय खड्का र थापाले लगाएका छन् । उनीहरूले निर्वाचनलाई अस्वीकार गर्ने बताएपछि शनिबार साँझ सकिएको मतदानको अहिलेसम्म गणना सुरु भएको छैन । उम्मेदवारहरूबिच कसरी गणना गर्ने भन्ने छलफलसमेत हुन सकेको छैन ।
असन्तुष्टहरूले मत गणना रोक्दै नयाँ प्रक्रियाबाट पुनः निर्वाचनको माग गर्दै अदालतमा मुद्दा दायरको तयारी गरेका छन् । पार्टीमा समेत गणना रोक्न माग गर्दै निवेदन दिने तयारी उनीहरूको छ । ‘हामीले आजै अदालतमा र पार्टीमा मतगणना रोक्न माग गर्दै निवेदन दिने तयारीमा छौँ,’ खड्काले भनिन् ।
असन्तुष्टहरूले गणना रोक्न माग गर्दै आजैबाट पार्टी कार्यालयमा धर्ना दिने तयारीसमेत गरेका छन् ।
बिहान असन्तुष्टहरूले नेता डा। शेखर कोइरालालाई भेटेर एकलौटी भएको भन्दै गणना स्थगित गर्न माग गरेका थिए । उनीहरूलाई डा। कोइरालाले ‘गैह्र कानुनी तरिकाले निर्वाचन गराइएको छ । स्थगित गर्न भन्छु’ भन्ने आश्वासन दिएको खड्काले जानकारी दिइन् ।
निर्वाचन समिति संयोजक श्रेष्ठले मतगणना सुरु नभएको जानकारी दिए । निर्वाचनका बेलामा विवाद भएको र निर्देशन समितिले मत गणना गर्न आदेश नदिएकाले मत गणना सुरु हुन नसकेको बताए । निर्देशन समितिले गणना गर भन्ने निर्देशन दिएपछि मतगणना गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हाइब्रिड’ मकै नपाउँदा किसान विदेशी बीउ प्रयोग गर्न बाध्य
-
क्षयरोगका सङ्क्रमित बढ्दै, बागलुङमा हालै भेटिए १७९ जना रोगी
-
कुलमानलाई हटाउनु लज्जास्पद कुकर्मको पराकाष्ठ : नारायणकाजी
-
१२ बजे, १२ समाचार : तीन ठूला नेताको सहमति भएकै दिन विद्युत प्राधिकरणबाट कुलमान आउटदेखि मैनबत्ती बालेर रविद्वारा सांकेतिक विरोधसम्म
-
रोमाञ्चक खेलमा दिल्लीले १ विकेटले हरायो लखनउलाई
-
बत्ती निभाएर मैनबत्ती बाल्दै रविको साङ्केतिक विरोध