पञ्चायत हल्लाउने त्यो स्ववियु, अहिले राजनीतिक दलको कारिन्दा

काठमाडौँ । तत्कालीन राजा महेन्द्रले २०१७ सालमा सत्ता आफ्नो हातमा लिए । पञ्चायती व्यवस्थाको विरोधमा उठ्ने आवाजलाई रोक्न किसान, मजदुर, भूपू सैनिक, महिला, बाल, युवा र विद्यार्थी संगठनलाई प्रतिबन्ध लगाए । विद्यार्थीहरू संगठित भएर राज्यको दमनविरुद्ध लड्न थाले । उनीहरूले स्वतन्त्र विद्यार्थी युनियन गठन गरे । तर, ती संगठनहरूमा सचिव र कोषाध्यक्ष सरकारले नै तोक्न थाल्यो ।
सरकारकै निर्देशनमा सभा सम्मेलन गर्नुपर्ने भयो । त्यसपछि विद्यार्थीहरू हडताल, आमरण अनशनजस्ता संघर्षमा उत्रिए । विद्यार्थीहरूले युनियन बनाउनुपर्ने माग राख्दै आन्दोलन गर्दै गए ।
त्यसपछि तत्कालीन राजा महेन्द्रले विश्वविद्यालयभित्र विद्यार्थीका हकहितका लागि काम गर्ने संगठन खोल्न दिने सहमति जनाए । र, विद्यार्थीहरूले २०१८ सालमा युनियन खोले ।
२०१८ सालमा तीर्थनाथ डंगोलको अध्यक्षतामा विद्यार्थी युनियनको पहिलो कार्यसमिति सर्वसम्मत चयन भयो । त्यसपछि प्रजातन्त्रवादी समूहबाट दमननाथ ढुंगाना पहिलोपटक निर्वाचित उपसभापति हुँदा स्ववियु सभापतिमा नवराज सुवेदी निर्वाचित भएका थिए । तर राजतन्त्रको पक्षमा वकालत गर्दै हिँडेको, त्रिवि विद्यार्थी युनियनको विद्यार्थी आन्दोलनमा साथ नदिएको र निर्दलीय व्यवस्थामा प्रवेश गरेको भन्दै सुवेदीमाथि अविश्वास प्रस्ताव ल्याएर विशेष साधारणसभामा पेस गरियो । र, उनलाई सभापतिबाट हटाएर उपसभापति ढुंगानालाई सभापतिमा सर्वसम्मत निर्वाचित गरियो ।
त्यसवेला देखावटी रूपमा विद्यार्थीका समस्या उठान गर्न स्ववियु थियो भने भित्रभित्रै राजतन्त्रविरुद्ध आन्दोलन थियो । गत वर्ष रातोपाटीसँग स्ववियुको विषयमा कुराकानी गर्दै ढुंगानाले भनेका थिए, ‘हामी विद्यार्थीलाई प्रशिक्षण दिने, पञ्चायती व्यवस्थाविरुद्ध जनतालाई सुसूचित गराउने काम गर्दै आएका थियौँ ।’
पञ्चायती व्यवस्था भए पनि विद्यार्थीलाई भने आफ्ना गतिविधि गर्न कुनै समस्या थिएन । विश्वविद्यालयभित्र विद्यार्थी संगठनहरूले आफ्ना गतिविधि निर्बाध रूपमा गर्न पाउने र त्यस्तो गरेबापत पक्राउ वा कुनै प्रकारको मुद्दा लगाउन नपाउने सहमति थियो । यसले आफूहरूलाई स्ववियुमा रहेर काम गर्न सजिलो भएको उनको भनाइ थियो ।
ढुंगानापछि २०२० सालमा प्रगतिशील समूहबाट जनार्दन प्रसाद आचार्य स्ववियु सभापतिमा निर्वाचित भए । उनले प्रजातान्त्रिक समूह (नेकपा) का शंकरनाथ घिमिरेलाई पराजित गरेका थिए । त्यो वेला स्ववियुको कार्यकाल एक वर्ष मात्रै हुने गरेकाले प्रत्येक वर्ष निर्वाचन हुने गरेको थियो ।
२०२१ मा पुनः निर्वाचन भयो । जसमा प्रजातन्त्रवादी समूहका कमल चित्रकार निर्वाचित भए । उनले प्रगतिशील समूहका महेश्वरमान श्रेष्ठलाई पराजित गरे । २०२१ पछि २०२३ सालमा स्ववियु निर्वाचन भयो । जसमा प्रगतिशील समूहका निर्मल अर्याल निर्वाचन भए ।
२०२४ सालमा भएको निर्वाचनमा प्रगतिशील समूहकै भुवनमानसिंह राजभण्डारी निर्वाचित भए ।
२०२५ सालमा प्रगतिशीलकै गोविन्दमान श्रेष्ठ निर्वाचित भए भने २०२६ मा प्रजातन्त्रवादी समूहका देवेन्द्रलाल नेपाली निर्वाचित भए । २०२७ सालमा भएको निर्वाचनमा प्रगतिशील समूहका बालमुकुन्द खरेल निर्वाचित भए । खरेलले नेपाली कांग्रेसका हालका पार्टी सभापति शेरबहादुर देउवालाई हराएका थिए ।
२०२८ सालमा प्रजातन्त्रवादी समूहका वीरेन्द्रभक्त श्रेष्ठ निर्वाचित भए । त्यस्तै २०२९ सालमा प्रजातन्त्रवादी समूहकै मच्छिन्द्र पाठक निर्वाचित भए ।
त्यसपछि फेरि २०३० सालमा स्ववियुलाई प्रतिबन्ध लगाइयो । र, तत्कालीन राजा वीरेन्द्रले जनमतसंग्रह २०३६ को घोषणासँगै स्ववियु निर्वाचनको माग पनि फुकुवा गर्दै पूरा गरे ।
२०३६ सालको जनमतसंग्रह अगाडि स्ववियु निर्वाचनलाई राजनीतिक दलहरूले मिनी संसद्का रूपमा लिने गरेका थिए । स्ववियु निर्वाचनलाई आफ्नो प्रतिष्ठाको विषय बनाउने गरेका थिए ।
धेरैजसो नेता विद्यार्थी राजनीतिबाटै आएका छन् । तत्कालीन समयमा नेपाली कांग्रेस र नेकपाबिच मात्रै स्ववियु निर्वाचनमा प्रतिस्पर्धा हुने गरेको थियो ।
त्यसवेला विद्यार्थी संगठनले स्ववियुलाई आफ्नो हकहितबारे आवाज उठाउने गरी बनाएको भनिए पनि भित्रभित्रै राष्ट्रिय मुद्दा मुखरित हुन थालिसकेको थियो ।
त्यतिवेला नेताहरूले स्ववियु निर्वाचनलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका थिए । कालान्तरमा भने यो छायामा पर्दै आएको छ ।
जनमतसंग्रहपछि २०३६ सालमा त्रिविमा स्ववियु निर्वाचन भयो । जसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का यज्ञप्रसाद अधिकारी निर्वाचित भए । उनले नेकपा (माले) निकट अनेरास्ववियु (पाँचौं) का टंक कार्कीलाई पराजित गरेका थिए ।
प्रत्येक २/२ वर्षमा स्ववियु निर्वाचन गर्ने गरी ऐन संशोधन गरिएको थियो । सोही आधारमा हरेक २/२ वर्षमा स्ववियु निर्वाचन हुन थाल्यो । २०३६ पछि, २०४०, २०४१, २०४३, २०४५ सालमा स्ववियु निर्वाचन भयो ।
राजा महेन्द्रले राजनीतिक पार्टी र संगठनमा प्रतिबन्ध लगाएपछि विद्यार्थी आन्दोलनबाट विद्यार्थी युनियन ऐन संशोधन गरी २०३६ सालमा स्वतन्त्र विद्यार्थी युनियन लागु गरिएको थियो ।
२०३६ सालमा नेविसंघबाट यज्ञप्रसाद अधिकारी स्ववियु सभापतिमा निर्वाचित भएका थिए । उनले अनेरास्ववियु (पाँचौँ) का टंक कार्कीलाई हराएका थिए ।
२०४३ सालमा बालकृष्ण खाँड, २०४५ सालमा शंकर पोखरेल, २०४९ सालमा जगनाथ खतिवडा स्ववियु सभापतिमा विजयी भए । जो अहिले राष्ट्रिय राजनीतिको केन्द्रमा छन् ।
त्यसपछि ४ वर्षपछि २०४९ सालमा निर्वाचन भयो । त्यसपछि २०५१, २०५३, २०५५, २०५७, २०६०, २०६२ र २०६५ सालमा निर्वाचन भयो ।
२०६५ चैत ६ मा भएको स्ववियु निर्वाचनमा तत्कालीन एकीकृत नेकपा (माओवादी) ले पहिलो पटक भाग लियो । र, अनेरास्ववियु (क्रान्तिकारी) का हिमाल शर्मा स्ववियु सभापतिमा निर्वाचित भएका थिए । उनले नेविसंघका अञ्जान लामालाई पराजित गरेका थिए ।
२०३५ सालदेखि २०६५ सालसम्म १४ पटक स्ववियु निर्वाचन सम्पन्न भयो । तर, २०६५ सालपछि भने स्ववियु निर्वाचनको मिति पटक–पटक सर्दै आयो ।
लगभग ८ वर्षको पर्खाइपछि २०७३ मा स्ववियु चुनाव भयो । तर, सीमित कलेजमा मात्रै । तत्कालीन त्रिविका उपकुलपति प्राडा तीर्थ खनियाँले विद्यार्थीहरू स्ववियु निर्वाचन लड्न २८ वर्षे उमेरहद लागु गरे । त्यो वेला त्रिविका ६२ वटा आंगिकमध्ये २१ वटामा मात्रै स्ववियु निर्वाचन हुन सक्यो ।
२०३६ सालदेखि स्ववियु निर्वाचन व्यवस्थित रूपमा प्रत्येक २/२ वर्षमा हुँदै आएको थियो । तर, दोस्रो जनआन्दोलनपछि २०६३ सालयता स्ववियु निर्वाचन नियमित हुन सकेन ।
२०६२ सालमा भएको स्ववियु निर्वाचन २ वर्षको क्रमभंगता तोडिएर ३ वर्षमा अर्थात् २०६५ सालमा भएको थियो । त्यसपछि चुनाव हुनै लगभग ८ वर्ष लाग्यो । त्यो पनि केही कलेजमा मात्र ।
त्रिविले स्ववियु उम्मेदवार बन्न २८ वर्षे उमेर सीमा राखेको छ । हिमाल शर्मा स्ववियु सभापति भएको वेला कार्यविधि संशोधन गर्न लगाएर उमेरहद लगाएका थिए ।
- त्यो विरासत बोकेको स्ववियु
पछिल्लो समय स्ववियु निर्वाचनका लागि विद्यार्थी संगठनहरूले विभिन्न खालका एजेन्डा उठान गर्दै आएका छन् । विद्यार्थीको हकहितका विषयदेखि कलेजमा हुने गरेका समस्या समाधान गर्ने उनीहरूका मुद्दा हुने गरेका छन् । जसका कारण अचेल स्ववियुहरू सम्बन्धित कलेजमा सीमित बन्न पुगेका छन् ।
विगतमा राज्यसत्ता नै हल्लाउने खालका स्ववियु निर्वाचन हुने गरेका थियो । तत्कालीन पञ्चायतलाई नै चुनौती दिनेगरी स्ववियुले क्षमता अभिवृद्धिका कार्य गर्दै आउने गरेका थिए । विद्यार्थीहरूले उठान गर्ने एजेन्डा राष्ट्रिय हुने गरेका थिए । तर अवस्था फेरिएको छ । व्यवस्था परिवर्तन भएको छ । जसले गर्दा विद्यार्थीहरूका एजेन्डासमेत फेरिएका छन् ।
तत्कालिन स्ववियु सभापति तथा माओवादी केन्द्रका फ्याक्स इन्चार्ज शर्माले अहिलेको र विगतमा विद्यार्थीहरूका एजेण्डाहरू फरक रहेको बताए ।
- राष्ट्रिय मुद्दाबाट भड्किएको स्ववियु
देशका राष्ट्रपतिदेखि प्रधानमन्त्री तथा मन्त्रीहरूसम्म जन्माउने स्ववियुको विरासत निकै सानदार थियो । तर अहिले न विश्वविद्यालयले प्राथमिकतामा राख्ने गरेका छ, न राजनीतिक दलहरूबाटै ।
त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्र विभागका एसोसिएट प्रोफेसर मनोहरप्रसाद पराजुली अहिले विद्यार्थी आन्दोलन राष्ट्रिय मुद्दाबाट भड्किएको बताउँछन् । ‘पुरानो पालामा राजनीतिक मुद्दाहरू बाँकी थिए । पञ्चायतकालमा डेमोक्रेसीको मुद्दा हुन्थ्यो । अहिलेको स्ववियु चुनाव राष्ट्रिय मुद्दाभन्दा कता कता अलमलिएको छ,’ पराजुलीले भने ।
अहिले विद्यार्थी संगठन सानातिना मुद्दामै सीमित भएका उनको बुझाइ छ । कक्षाकोठा, लाइब्रेरी, पानीका धाराजस्ता मुद्दामा मात्र विद्यार्थी संगठन रुमल्लिएका पराजुली तर्क गर्छन् ।
२८ वर्षे उमेरहद असान्दर्भिक भएको पनि उनको भनाइ छ । भने, ‘विश्वविद्यालयमा एउटा विद्यार्थीले पढेर सक्छ, विद्यार्थी राजनीति गर्ने मान्छे २/४ वर्ष नबसीकन कसरी बुझ्न भ्याउँछ र ?’ उनले सक्षम स्ववियु नेतृत्वका लागि ३२ वर्षे उमेरहद लागु गर्नुपर्ने सुझाव पनि दिए ।
पराजुलीले राखेको उमेरहदमा त्रिविका पूर्वउपकुलपति प्राडा खनियाँसमेत सहमत छन् । जबकि उनकै पालामा २८ वर्षे उमेरहद कायम गरिएको थियो । अहिले आएर त्यो वेलाको आफ्नो निर्णय गलत भएको उनी स्वीकार्छन् । ‘अहिले आएर त्यो गलत भयो कि भन्ने लागिरहेको छ । परिपक्व स्ववियुका लागि कम्तीमा ३२ वर्ष लागु गर्नुपर्ने देखियो,’ खनियाँले रातोपाटीसँग भने ।
- स्ववियु खारेजीसमेत माग
स्ववियुको औचित्य नै नभएको भन्दै कतिपयले खारेजीको मागसमेत गर्दै आएका छन् । पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सह–महामन्त्री सुमना श्रेष्ठले त विश्वविद्यालय राजनीतिमुक्त हुनुपर्ने बताउँदै आएकी छन् । त्रिवि स्ववियु निर्वाचनको सन्दर्भमा नै उनले एक भिडियोमार्फत यस्तो अभिव्यक्ति दिएकी थिइन् । विद्यार्थीहरूलाई स्ववियुविरुद्ध आवाज उठाउनसमेत उनले माग गरेकी थिइन् ।
दलहरूले विद्यार्थीलाई आफ्नो स्वार्थमा प्रयोग गरिरहेका गम्भीर आरोप लगाउँदै स्ववियुलाई दलको खेल मैदान बनाउन नहुने उनले बताएकी थिइन् । साथै विद्यार्थीहरूलाई त्यसबाट बाहिर निस्किनसमेत उनले आग्रह गरेकी थिइन् । ‘अहिलेका राजनीतिकर्मीहरूले आफ्नो करिअर माथि उठाउन विद्यार्थीलाई सिँढी बनाएका छन् । आफ्नो भ्रातृ संगठनलाई एक अर्कामा भिडाइरहेका छन्, दलीयकरणले नेपालको शिक्षाक्षेत्र ध्वस्त पारेका छन्,’ उनले भनेकी थिइन् ।
शिक्षा क्षेत्र दलीयकरण भइन्जेल देशको शिक्षा क्षेत्र उँभो नलाग्ने उनको भनाइ थियो । राजनीति गर्न भ्रातृ संगठनमै जानुपर्छ भन्ने नभएको र त्यसका लागि पार्टी तथा स्वतन्त्र रूपमा अगाडि बढ्न सकिने उनले बताइन् ।
तर उनको धारणको ठिकविपरीत तर्क गर्छन् माओवादी केन्द्रका फ्याक्सन इन्चार्ज हिमाल शर्मा । विद्यार्थी संगठनकै कारण विश्वविद्यालयमा पारदर्शिता, जवाफदेहिता कायम भइसकेको उनको बुझाइ छ ।
- स्ववियु निवर्तमान अध्यक्षहरूको अनुभव :
त्रिवि स्ववियु निवर्तमान अध्यक्ष श्यामराज ओझाले लामो समयपछि स्ववियु निर्वाचन भएकाले विभिन्न खालका समस्या भोग्नुपरेको बताए ।
‘सुरुमा आउँदा न कुनै डकुमेन्ट थियो, न भवन थियो, न कुनै रेकर्ड थियो । कहाँबाट सुरु गर्ने भन्ने थियो । त्यसअघि स्ववियुले काम गरेको देखिएको पनि थिएन । काम गर्दै जाँदा २ वर्षसम्म विद्यार्थी र विश्वविद्यालयको पक्षमा ऐतिहासिक सफलता मिलेको महसुस भयो,’ ओझाले भने ।
२ वर्षे कार्यकाल एकदमै सुखद रहेको उनको मूल्यांकन छ । काम गर्ने क्रममा विभिन्न खालका अवरोध तथा चुनौती आए पनि तिनलाई आफूले सहज रूपमा लिएको उनले बताए । वेला–वेला आफूहरूको आवाजलाई निस्तेज पार्ने षड्यन्त्रसमेत भएको उनले बताए । कतिपयले यस्तो काम गर्न खोज्दा कतिपयले भने सकारात्मक लिएकाले काम गर्न सहज भएको उनको अनुभव छ ।
‘केही बाधा अवरोधसमेत भयो । तीन पटक स्ववियु अफिसमा तालाबन्दी भयो । २ पटक अफिस नै तोडफोड भयो । तर सामान्य तरिकाले हेरेको छु,’ उनले भने, ‘कहिलेकाहीँ स्ववियुका निर्णयमा समेत अवरोध भयो ।’
कतिपयमा निर्णय भइसकेका विषयहरूमा समेत राजनीतिक कारणले अवरोध सिर्जना भएका उनको भनाइ छ । तर, त्यसलाई धेरै ठुलो रूपमा नलिएर धेरै काम गरेको उनले दाबी गरे ।
विश्वविद्यालय र विद्यार्थीलाई के चाहिएको छ त्यो दिन सक्नु नै स्ववियुको काम भएको उनको बुझाइ छ । यसमै फोकस भएर काम गरेको उनले बताए ।
नेपाल ल क्याम्पसका निवर्तमान स्ववियु अध्यक्ष विुष्ण ढुंगेलले प्रशासन र कर्मचारीको हालिमुहालीबिच काम गरिएको बताए । आफ्नो २ वर्षे कार्यकालमा स्ववियुको क्षेत्राधिकारका विषयमा प्रशासन र स्ववियुबिच अलमल हुने परिस्थिति बनेकाले सामञ्जस्य सम्बन्ध रहन नसकेको उनले स्वीकारे । ‘लामो समयदेखि स्ववियु नहुँदा प्रशासनले एकछत्र हालीमुहाली गरिरहेको थियो । एकाएक स्ववियु संस्थाले प्रशासनको दबदबामाथि प्रश्न उठाउन थाल्यो,’ ढुंगेलले भने, ‘उहाँहरूका त्रुटि सच्याउन लगाउन थाल्यो । प्रशासनले विद्यार्थीको तर्फबाट पनि सोच्नुपर्छ भन्ने बनायौँ ।’
विश्वविद्यालय भनेको प्रशासन मात्र नभएर विद्यार्थीको तर्फबाट पनि हेर्नुपर्छ भन्ने बनाइएको उनले बताए ।
२ वर्षमा ८० प्रतिशतभन्दा बढी काम गर्न सकिएको उनको भनाइ छ । उनी नेपाल ल क्याम्पसमा अल्पमतका स्ववियु अध्यक्ष थिए । नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) बाट निर्वाचित उनी एक्ला थिए । उनीबाहेक स्ववियुभित्र अनेरास्ववियु र नेविसंघ थिए । जसले गर्दा सांगठनिक हिसाबले काम गर्नसमेत समस्या भएको उनको अनुभव छ । घोषणापत्रमा लेखिएका विषयमध्ये २० प्रतिशत काम गर्न नसकिएको उनले बताए ।
- अब नवनिर्वाचित स्ववियुले के गर्ने ?
स्ववियुभित्रका सम्पूर्ण सदस्यलाई परिवार सम्झेर सबैका एजेन्डा साझा बनाएर बढ्न सुझाउँछन् निवर्तमान स्ववियु अध्यक्ष ओझा ।
सुरुमै कसरी काम गर्ने भन्ने विषयमा आफूलाई जानकार र सक्षम बनाउनुपर्ने उनले बताए । त्यसका लागि तालिम लिने, अरूलाई सोधेर समेत अगाडि बढ्दा राम्रो हुने उनको भनाइ छ । सरोकारका विषयमा बोल्दा साझा धारणा तयार गर्नुपर्ने र साझा एजेन्डामा जाने परिपाटीको विकास गर्नुपर्ने पनि उनले सुझाए ।
‘विद्यार्थी राजनीति धेरै ठुलो पावर नभएको संस्था हो । तर, यसमा ठुलो फोर्स हुन्छ । ठुलो फोर्स भए पनि एक्जुकेटिभ पावर धेरै नभएकाले दबाब निरन्तर दिइराख्नुपर्छ,’ उनले भने, ‘सबै विषय फोर्समा छाड्नु हुँदैन । विद्यार्थी राजनीतिप्रति वितृष्णा फैलिरहेको वेला त्यसलाई चिर्दै अघि बढ्नुपर्छ,’ ओझाले भने ।
त्यस्तै निवर्तमान स्ववियु अध्यक्ष ढुंगेलले स्ववियुले आर्थिक रूपमा पारदर्शिता कायम गर्नुपर्ने बताए । स्ववियुले किन खर्च गर्ने ? केमा खर्च गर्ने ? भन्ने कुरामा ध्यान दिनुपर्ने उनको भनाइ छ । एजेन्डा, आन्दोलन र मुद्दालाई एकसाथ बढाउनुपर्ने र पैसा खर्चिँदैमा राम्रो हुन्छ भन्ने बुझाइबाट पछि हट्नुपर्ने बताए । साथै प्रशासन हाबी भएको विषय, कर्मचारीले काम नगर्ने विषय, शिक्षकले नपढाएकोलगायत विषयमा खबरदारी गर्नु पनि उनले आग्रह गरे ।
- स्ववियुले के गर्छ ?
त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० मा स्वतन्त्र विद्यार्थी युनियनको व्यवस्था छ । नियमको परिच्छेद ८१ मा स्वतन्त्र विद्यार्थी युनियनको गठन र उद्देश्यको व्यवस्था छ । जसमा स्ववियुको उद्देश्य के हो त्यसबारे प्रस्ट पारिएको छ ।
नियम ३४४ मा स्वतन्त्र विद्यार्थी युनियनको उद्देश्यको व्यवस्था गरेको छ । जसमा आफ्नो क्याम्पसमा विद्यार्थीका हकहित संरक्षण र संवर्द्धनका निमित्त निरन्तर कार्यरत रहनुपर्ने भनिएको छ ।
त्यस्तै विद्यार्थी समुदायको बौद्धिक र चारित्रिक विकासका लागि उपयुक्त कार्यक्रम तर्जुमा गर्ने र सोको कार्यान्वयन गर्ने, क्याम्पसभित्र पठनपाठनका लागि उपयुक्त वातावरण सिर्जना गर्ने/गराउनु रहेको छ ।
त्यस्तै विद्यार्थीहरूमा अनुशासन कायम राख्ने कामसमेत स्ववियुको रहेको छ । विद्यार्थी शक्तिलाई बौद्धिक एवम् रचनात्मक तथा अतिरिक्त क्रियाकलापमा उत्प्रेरित गराउने, क्याम्पसमा शैक्षिक तथा संस्थागत विकासका लागि सदैव क्रियाशील रहने र तोकिएको अन्य कार्यहरू स्ववियुले गर्नुपर्ने हुन्छ ।
यसका लागि स्ववियुले आफूले गर्ने कामको विषयमा छुट्टै कार्यविधिसमेत बनाउन सक्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको भ्रातृ संगठन लोकतान्त्रिक अपाङ्ग संघ फुट्यो, थापाको नेतृत्वमा समानान्तर समिति घोषणा
-
राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२५ घोषणा
-
बुद्ध एयरको सफ्टवेयर ह्याक गरी टिकट बिक्री गर्ने पक्राउ
-
तनहुँमा भेटिए एक सय ७९ क्षयरोगी, १५ जनाको मृत्यु
-
प्रेस चौतारी महाधिवेशनः टीका लगाएर नेतृत्व चयन गर्ने भएपछि रुँदै निस्किए प्रतिनिधि
-
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी