सोमबार, ११ चैत २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : स्ववियुको औचित्य

‘शौचालय सफा गर्ने र झाडु लगाउने स्ववियु होइन, रचनात्मक हुनुपर्छ’

आइतबार, १० चैत २०८१, ०९ : २३
आइतबार, १० चैत २०८१

काठमाडौँ । २०६५ सालमा एकीकृत नेकपाले पहिलो पटक त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचनमा भाग लियो । अनेरास्ववियुको (क्रान्तिकारी) को तर्फबाट त्रिवि केन्द्रीय क्याम्पसमा उम्मेदवार बनेका थिए, हिमाल शर्मा । 

उनका प्रतिस्पर्धी थिए, नेपाली कांग्रेस निकट नेविसंघका अञ्जान लामा । पहिलो पटक भाग लिएको क्रान्तिकारी स्ववियु अध्यक्षमा निर्वाचित भयो । शर्मा क्रान्तिकारीको तर्फबाट पहिलो निर्वाचित स्ववियु अध्यक्ष बने । हाल उनी माओवादी केन्द्रको फ्याक्सन इन्चार्ज छन् । 

उनकै नेतृत्वमा अखिल क्रान्तिकारीको महाधिवेशन सम्पन्न भयो । पार्टीले उनलाई विद्यार्थी विभागको प्रमुखसमेत तोकेको छ । उनकै नेतृत्वमा अखिल क्रान्तिकारी स्ववियु निर्वाचनमा सहभागी भएको थियो । र, उत्साहजनक परिणाम निकालेको छ । 

उनै शर्मासँग रातोपाटीले स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको नतिजा, स्ववियुको औचित्यलगायत विषयमा कुराकानी गरेका छ । कुराकानीको सम्पादित अंश : 

  • अखिल क्रान्तिकारीले यो पटकको निर्वाचनको मतपरिणामबारे के कस्तो मूल्यांकन गर्‍यो ? 

पहिला हाम्रो सरकार र सत्ता गठबन्धन नेपाली कांग्रेस र नेविसंघसँग गठबन्धन भएको थियो । अहिले अधिकांश ठाउँमा एक्लै चुनाव लडेका छौँ । एक्लै चुनावमा जाने भन्ने नीति थियो । 

त्यो वेला नेविसंघसँग मिल्दा राम्रो पर्फमेन्स भएन । अहिले भने विद्यार्थीले रुचाए । एक्लै आएको कुरा रुचाए । तागत पनि बढेको देखियो । यसको २/३ वटा कारण छन् । जसले गर्दा क्रान्तिकारीको ग्राफ ह्वात्तै बढेको छ । जितेको ठाउँमा त जितिहाल्यो,  हारेको ठाउँमा समेत एकदमै प्रतिस्पर्धी छ । जसले बलियो उपस्थिति बनाएको छ । त्यसमा हामी खुसी छौँ । 

स्ववियुमा पनि २८ वर्षे उमेर हद लगाएको थियो । त्यो वेला म त्रिवि स्ववियु सभापति थिएँ, त्यही वेला मेरै नेतृत्वमा २८ वर्षे उमेरहद लागु भएको थियो । अहिले पनि म फ्याक्सन इन्चार्ज भएपछि विद्यार्थीले त्यहीअनुसार अपेक्षा गरे । त्यसपछि जनमतसंग्रहजस्तो गरेर ३२ वर्षे उमेरहद लागु भयो । विद्यार्थीहरूले यसलाई रुचाए । 

अर्को भनेको, हाम्रो संगठन भताभुंग अवस्थामा थियो । केन्द्रदेखि तलसम्म २ वटा कमिटी थियो । त्यसपछि नेतृत्वमा समेत चुनाव गराएँ । सबै कुरा एकीकृत गरेर चुनावमा होमिएपछि विवादहरू भएनन् । सबै विवादको हल गरेर अघि बढेपछि सहज भयो ।

अर्को भनेको माओवादी आन्दोलनले गरेको सुशासन थियो । सरकारबाट माओवादीलाई हटाइयो । भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा काम गरिरहेको अवस्थामा माओवादीलाई सरकारबाट हटाइयो । यो बुझाइ आमजनतामा समेत परेको छ ।

१०६ वटा कलेजमा अखिल क्रान्तिकारीविरुद्ध गठबन्धन भयो । क्रान्तिकारीले जित्ने ठाउँमा उनीहरू मिलेका थिए । तर पनि क्रान्तिकारी एक्लै लडेर गठबन्धनलाई हराएको अवस्था छ । यो असाध्यै महत्त्वपूर्ण हो । अहिलेको निर्वाचनले माओवादी पार्टीलाई समेत हौसला प्रदान गरेको छ । 

निर्वाचनलाई लिएर खुट्टा कमाउने काम नगर, खुट्टा कमाउने भनेको माथिल्लो तहमा मात्रै हो, हामी तल छौँ । तिमीहरू सुध्रिनू भनेर सचेतसमेत गराएका हुन् । 

युवालाई नेतृत्व दिँदा राम्रो हुन्छ, पार्टीमा समेत युवालाई नेतृत्व देऊ भन्ने खालको सन्देश हो यो । 

  • विद्यार्थी संगठनहरूले उठान गर्ने एजेन्डा कत्तिका जायज छन् ? 

सुशासनको पक्षधर क्रान्तिकारी हो । कलेज प्रशासनसँग दलाली गर्ने, भ्रष्टाचार गर्ने संगठन होइन यो । यो सशक्त भएर अघि बढ्ने विद्यार्थी आवाज हो । त्यही भएर हामीलाई भोट दिनुहोस् भनेका हौँ । विद्यार्थीको अधिकारको निमित्त लड्छौँ, भनेर आवाज लिएर गएको, त्यहीअनुसार विद्यार्थीले रुचाए । 

  • विगत र अहिलेको स्ववियुबिच खासै अन्तर देखिएन । कारण के हो ? 

स्ववियुको भूमिकालाई रुपान्तरित गर्नुपर्छ । परिवर्तन गर्नुपर्छ । हाम्रा पालामा संविधान बनेकै थिएन । हामी युद्धमा होमिएको वेला छुट्टै थियो । अझ पञ्चायत कालमा छुट्टै विषय हुन्थ्यो । दलहरूमाथि प्रतिबन्ध थियो । त्यो वेला विद्यार्थीमार्फत नै बोल्नुपर्ने अवस्था थियो । 

अहिले त संविधान निर्माण भएर अगाडि आइसकेका छौँ । अहिले पनि उस्तै उस्तै छ । दलले बोल्ने कुरा संगठनले बोल्ने । संगठनले बोल्ने कुरा स्ववियुले बोल्ने गरेको पाइन्छ । 

विद्यार्थी संगठन र स्ववियु नछुट्टिएपछि के अर्थ रह्यो । राजनीतिक दलले गर्नुपर्ने कुरा जनवर्गीय संगठनले गर्ने होइन । उनीहरूले आफ्नो पेसागत कार्य गर्ने हो । त्यसको अधिकारको निमित्त लड्ने हो । 

अर्को, संगठनले गर्नुपर्ने काम स्ववियुले गर्ने होइन । स्ववियुले एकेडेमिक काम गर्ने हो । रचनात्मक काम गर्ने हो । त्यहाँभित्र भएका विकृति विसंगतिविरुद्ध आधिकारिक रूपमा लड्ने हो । सिनेटमा समेत विद्यार्थी पुग्ने भएकाले त्यहाँ लड्ने हो । यसलाई राजनीतिकभन्दा पनि शैक्षिक रूपान्तरणका लागि शैक्षिक एजेन्डामा केन्द्रित भएर स्ववियु लाग्नुपर्छ । विगतभन्दा अहिले यसको काम तथा एजेन्डाहरू बदल्नुपर्छ । 

  • स्ववियुलाई विद्यार्थी संगठनहरूबाट टाढा राख्नुपर्छ भन्ने छ । संगठनमुक्त नै गराउनुपर्ने हो र ? 

विद्यार्थी सचेत वर्ग भएकाले उसले के सही के गलत राम्रोसँग बुझ्छ । कुन दलले उठाएका एजेन्डा सही हुन्, कसले उठाएका एजेन्डा बेठीक हुन् भन्ने थाहा पाउँछन् । यहाँ मल्टीपार्टी सिस्टम छ । दलले गर्ने निर्णय नै राज्यको निर्णय बन्न जान्छ । प्रतिनिधि त्यहाँ हुन्छन् नि त । 

विद्यार्थीले हरेक विषयमा चासो राख्छ । नेपालको मात्र होइन, विश्वकै बारेमा चासो राख्छ । त्यसो भएकाले राजनीतिबाट टाढा राख्ने होइन । विद्यार्थीले त्यसमा प्रतिक्रिया दिन्छ । अन्याय, अत्याचार, भ्रष्टाचारविरुद्ध बोल्छ । यसलाई सामान्यीकरण गर्ने होइन । स्ववियुलाई शौचालय सफा गर्ने, सरसफाइ गर्ने काममा मात्रै सीमित राख्ने होइन, राजनीतिक रूपमा सचेत भएकाले धेरै काम गर्छन् । शैक्षिक एजेन्डामा केन्द्रित हुनुपर्छ । चासो त सबै कुरामा राख्नुपर्छ, किनभने विद्यार्थी सचेत वर्ग हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप