लीलबहादुर क्षत्री अर्थात् समाजका विसंगति र विकृतिविरुद्ध बोल्ने विद्रोही स्रष्टा

यस धर्तीमा पूरै ९२औँ वसन्त भोगेर साहित्यकार लीलबहादुर क्षत्री भर्खरै (१४ मार्चमा) अस्ताए, आसामको गुवाहाटीदेखि ।
८३औँ वसन्तमा हिँड्दै गर्दा उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘लेख्दै छु— भूमिका, शुभकामना, फर्माइसी रचना, स्मृति ग्रन्थका सामग्री आदि । यो मेरो हार्न नसक्ने बाध्यता हो । अब त कुनै नयाँ पुस्तक आसामका यो भेकतिर निस्कियो भने कतै लीलबहादुरको भूमिका पो छ कि भनेर पनि पाठकले किन्छन् रे भनेको सुन्छु ।’
२४ वर्षको उमेरमा ‘बसाइँ’जस्तो कालजयी उपन्यास लेखेर नेपाली आख्यानाकाशमा उदाएका क्षत्री आफ्नो जीवनभरि नेपाली भाषा–साहित्यको उन्नयनमा अग्रसर रहे; समाजका विसंगति र विकृतिविरुद्ध विद्रोह बोलिरहे ।
‘बसाइँ’ उपन्यासमा पूर्वी नेपालका कतिपयले देश छाड्नुपरेको कथा–व्यथा बुनिएको छ । बसाइँ’कै दोस्रो भाग ‘जस्तो गरी’ उनको अर्को उपन्यास आएको छ, ब्रह्मपुत्रको छेउछाउ (सन् १९८६) । यी दुवै उपन्यासमा उनी र उनका पितापुर्खाको समेत समकालीन संवेदना मुछिएको आभास हुन्छ ।
उनका बुवा प्रेमबहादुर क्षत्री १५–१६ वर्षको उमेर अर्थात् सन् १९२६ तिर नेपालको धनकुटादेखि आसामको गुवाहाटी पुगेका थिए । त्यहाँ उनी पुलिस कन्स्टेबलमा भर्ना भए । पछि बिदामा पितृथलो गई बिहे गरे र श्रीमती लिएर गुवाहाटी फर्के । अनि गुवाहाटीमै लीलबहादुरको जन्म भयो, १ मार्च १९३३ मा । उनी जन्मेको ६ वर्षपछि दोस्रो विश्वयुद्ध सुरु भयो । दोस्रो विश्वयुद्धको बाछिटाले उनलाई पनि भेटेको थियो ।
सन् १९४२ को पूर्वाद्र्धतिर जापानी सेनाहरू कोहिमा (भारत)सम्मै आइपुगेका थिए । विद्यालयहरू सैनिक क्याम्पमा परिणत हुन थाले । सुरक्षाको विचार गरी बुवाले उनलाई पितृथलो (धनकुटा) पुर्याए । त्यहाँ लीलबहादुरले ८–९ महिना बिताउनुपर्यो । प्रेमबहादुर छोराको शिक्षालाई लिएर चिन्तित थिए । युद्ध मत्थर भएपछि उनले छोरालाई लिन मान्छे पठाए । हजुरआमा, काका, फुपूहरूले भने लीलबहादुरलाई गाउँमै राख्न चाहन्थे । कारण उनीहरूमा युद्धको त्रास थियो ।
‘सबैले मलाई फकाउन थाल्नुभयो । मेरो कलिलो मन पनि नजानेमै टेकियो,’ डा. गोविन्दराज भट्टराई र डा. खगेन शर्मासँगको अन्तर्वार्तामा लीलबहादुरले आफ्नो बाल्यकाल र साहित्यिक यात्राको कथा सुनाएका छन्, ‘ती मलाई लाने व्यक्ति हिँड्ने बेलामा घरै आएर मलाई सोधे— मैले तेरा पितालाई जवाफ दिनुपर्छ, तँ जान्छस् कि जान्नस्, भन् ! कसो मेरो मुखमा जान्छु भन्ने शब्द आएर बसेछ । हजुरआमा रुन थाल्नुभयो; फुपूहरूले अँध्यारो मुख लाए । यो मेरै हितका निम्ति हो भन्ने मेरी आमालाई थाहा थियो । त्यसैले उहाँ मलाई पठाउने पक्षमा हुनुहुन्थ्यो, (पुस्तक : ‘साहित्यकार लीलबहादुर क्षेत्री व्यक्तित्व र कृतित्व’, सम्पादक : डा. खगेन शर्मा, सन् २०१६) ।’
यसरी सिलाङ फर्कनुलाई उनले आफ्नो जीवनकै एउटा निर्णायक मोड मानेका छन् । ‘त्यस बेला सबैको मोहमा परेर जान्न भनी पहाडै बसेको भए मेरो जीवन हो त हली कोदाले भएरै रहने थियो,’ अन्तर्वार्तामा उनले भनेका छन्, ‘दुई–चार महिना वा वर्ष दिनपछि हो त पिताजी आएर सिलाङ लानु हुने थियो तर त्यसबेलासम्म धेरै ढिलो भइसक्थ्यो ।’
सिलाङमा नेपाली माध्यममा पढाइ हुने माध्यमिक अंग्रेजी स्कुल, कन्या पाठशाला आदि अघिदेखि चलिरहेका थिए । ती स्कुल आफूहरू बसेको स्थानदेखि केही पर भएकाले लीलबहादुरले बंगाली हाइस्कुलबाट शिक्षारम्भ गर्नुपर्यो ।
तेस्र्रो कक्षादेखि भने उनी नजिकैको ‘गोर्खा पाठशाला’ मा भर्ना भए, गोर्खेहरूको प्रचेष्टाले स्थापना भएको सो माध्यमिक स्कुललाई सरकारी स्वीकृति प्राप्त थियो ।
आफू नेपाली साहित्यमा लाग्नुको पहिलो श्रेय उनले आफ्ना पिता र पुख्र्यौली थलोलाई पनि दिन्छन् । सानैदेखि उनलाई बुवाले वाराणसीबाट प्रकाशित ठुलो वर्णमाला पढाएका थिए, स्कुल नजाँदै उनले नेपाली भाषालाई देवनागरीमा लेख्न सिकिसकेका थिए ।
लीलबहादुरले प्रवासमा नेपाली भाषाको उन्नयनका लागि चासो, चिन्ता र चिन्तन अक्षुण्ण गरिरहे । सन् १९६१ प्रकाशित ‘आसाममा नेपाली भाषा र त्यसको साह्रो गाह्रो’ निबन्धमा उनी लेख्छन्, ‘आसाममा नेपाली साहित्यको बुटामा दुई–चार पात अवश्य थपिँदै आएका छन् तर पूर्ण वसन्त अझ कोसौँ टाढा छ ।
‘मेरो पिताज्यूले कुनै शैक्षिक अनुष्ठानबाट औपचारिक रूपमा शिक्षा पाउनुभएको होइन तर आफ्नै प्रचेष्टामा, जान्नेहरूको संगतमा अक्षरज्ञान प्राप्त गर्नुभयो,’ लीलबहादुरले भनेका छन्, ‘एउटा कन्सटेबलबाट पछि डीएसपीको ओहोदामा पुग्दा एउटा कार्यालयकै सञ्चालन गर्नुपथ्र्यो । उहाँले नेपालीका साथै हिन्दी, अंंग्रेजी, बंगला, असमियाको पनि काम चलाउ शिक्षा प्राप्त गर्नुभयो । रोमन उर्दूमा केही शिक्षा पुलिसलाई दिने पनि गरिन्थ्यो ।’
सिलाङको बडाबजारमा नेपाली पुस्तक पसल थिए । त्यहाँ पाइने सुनकेशरी रानी, नरेन्द्र मोहिनीजस्ता पुस्तक उनले बाल्यकालमै पढे । सातौँ श्रेणीतिर पुगेपछि उनले बालबालिकालाई पढाउन समेत थाले । त्यसबाट हुने आम्दानीलाई उनले नेपाली पुस्तक किन्नमा खर्च गर्थे ।
सिलाङमा लक्ष्मीप्रसाद उपाध्याय नाम गरेका व्यक्ति थिए, जसलाई लीलबहादुरका बुवाले पुलिसमा भर्ना गरिदिएका थिए । संस्कृत र ज्योतिष पनि पढेका लक्ष्मीप्रसादलाई नेपाली साहित्यप्रति विशेष लगाव थियो । नेपाली साहित्यको चर्चा गर्दै केही किताब पनि पढ्न दिएर लक्ष्मीप्रसादले लीलबहादुरमा साहित्यिक भोक जगाइदिए ।
प्रवेशिका परीक्षापछि सन् १९५२ मा लीलबहादुर सिलाङबाट गुवाहाटी झरे । गुवाहाटी आएको एक–डेढ महिनामै उनी स्थानीय संघ–संस्थामा आबद्ध भइसकेका थिए । त्यसताका स्थानीय संगठन ‘गोर्खा पञ्चायत’मा जात–भात, जारी, छुट्टानाम, बालविवाह, बहुविवाह आदि अनेकौँ प्रकारका मुद्दा आइलाग्थे । पञ्चायतले गरेको फैसला कोर्टलाई पनि मान्य हुन्थ्यो । लीलबहादुर समाजका रुढीबुढी, कुसंस्कार हटाउने उद्देश्यले गोर्खा पञ्चायतमा आबद्ध भए ।
यही परिवेशमा लीलबहादुरले १६ वर्षकै उमेर (सन् १९४९) मा कवितासंग्रह ‘शिव स्तुति’ लेखेका थिए, जसलाई सिलाङको वाणी प्रिन्टिङ प्रेसले प्रकाशनमा ल्याएको थियो । यद्यपि यो कृति अहिलेसम्म भेटिएको छैन । पछिल्लो समय लीलबहादुर क्षत्रीका कृतिहरू प्रकाशनमा उल्लेख भूमिका खेलेका प्रा.डा. गोविन्दराज भट्टराईका अनुसार, ‘शिव स्तुति’ भजनहरूको संग्रह थियो भन्ने बुझिन्छ ।
एउटा १६ वर्षको किशोरले भगवान्प्रति समर्पित भएर ‘शिव स्तुति’ लेख्नुको पछाडि केही न केही सामाजिक र मनोवैज्ञानिक पक्षको अथवा देश, काल र परिस्थितिको प्रभाव निश्चय नै थियो । युद्धको समयमा आममानिससँग ईश्वरको स्तुति गर्नुबाहेक के नै विकल्प रहन्छ र ? बाल्यकालमा विश्वयुद्धको बाछिटाले भेटेको हुनाले मनशान्तिका लागि उनीमा स्तुतिजन्य भावना आए कि !
उनले २२ वर्षको उमेर (सन् १९५५) मा लेखेर मञ्चन भएको नाटक ‘लक्ष्य’को पात्र केशवले गंगाधरलाई भन्छ— जारी चलन तपाईंजस्ता स्वार्थीले चलाएको हो । आजको जाग्रत समाजले यो स्वीकार गर्दैन । तपाईंजस्ता वैष्णवलाई यस्तो कार्य गर्दा लज्जा आउँदैन । यदि विवाह नै गर्नु छ भने तपाईंजस्तै अधबैँसे कुनै विधवासित विवाह गर्नोस् । त्यसबाट दुवैको उपकार हुन्छ । त्यस्ता लाखौँ विधवा बेसहारा पडिरहेका छन् ।’
यहाँनेर पनि दोस्रो विश्वयुद्धपछिको अवस्था झल्केको पाइन्छ । युद्धमा ज्यान गुमाएका सिपाहीका श्रीमतीको अवस्थाप्रति उनको विचार, भावना र संवेदना लक्षित देखिन्छ ।
बसाइँ उपन्यास उनले २१ वर्षको उमेरदेखि लेख्न सुरु गरेका थिए । बेलाबेला एक–दुई पाना लेख्दै अगाडि बढ्दा उपन्यास तयार हुन तीन वर्ष लाग्यो । यो उपन्यास लेखिसक्दा उनीमा एक किसिमको वैचारिक परिपक्वता आएको देखिन्छ । उपन्यासको भूमिकामा उनले लेखेका छन्, ‘प्रवासमै आफ्नो घर बनाएर बसेका हामीहरूको भविष्य हामी बसेकै देशसित गाँसिएको छ तापनि हाम्रो भाषा, साहित्य, संस्कृति नेपाली नै हो र आफ्नोआफ्नो साहित्य, संस्कृति सबैलाई प्यारो हुन्छ । नेपाली संस्कृतिसित राम्ररी परिचित हुनलाई त्यस ठाउँको वातावरणसित पनि परिचित हुनु आवश्यक छ, जुन ठाउँ नेपाली संस्कृतिको मुटु हो ।’
लीलबहादुरले प्रवासमा नेपाली भाषाको उन्नयनका लागि चासो, चिन्ता र चिन्तन अक्षुण्ण गरिरहे । सन् १९६१ प्रकाशित ‘आसाममा नेपाली भाषा र त्यसको साह्रो गाह्रो’ निबन्धमा उनी लेख्छन्, ‘आसाममा नेपाली साहित्यको बुटामा दुई–चार पात अवश्य थपिँदै आएका छन् तर पूर्ण वसन्त अझ कोसौँ टाढा छ । नेपाली भाषालाई टाकुरातिर दगुराउने प्र्रत्येक नेपालीमा उत्साह छ तर बाटो छैन । कुनै एउटा जातिको भाषा र साहित्य त त्यस जातिको मुटु र जीवन नै हो । तसर्थ मुटु र जीवन त जन्म साथसाथै शरीरसितै गाँसिएर आएको हुन्छ । आज हामीलाई चाहिएको छ मातृभाषाप्रति साँचो प्रेम, चेतना अनि एकता । मुखले मातृभाषाको नारा लाउने तर आफ्ना छोराछोरीलाई भने कनवेन्ट र मेरीमा पठाउने गरे अवश्य मातृभाषाको घात हुन्छ, सेवा होइन ।’
पछिल्ला दशकका भेटमा उनले डा. गोविन्दराज भट्टराईलाई आफ्ना केही अधुरा इच्छा व्यक्त गरेका थिए । उनको चाहना थियो— आफूले लेखेका भूमिका, नाटक, निबन्ध र आफ्ना अन्तर्वार्ताहरूको प्रकाशन गर्ने । उनको सोही इच्छा अनुरूप २०७८ सालमा ओरिएन्टल प्रकाशन गृहले डा. भट्टराईको सम्पादनमा ‘लीलबहादुर क्षत्रीका चर्चित नाटक’ प्रकाशन गर्यो, जसको भूमिकामा भट्टराईले लेखेका छन्, ‘मैले भनेँ — सबै कुरा काठमाडौँ पठाइदिनुहोस् क्रमिक रूपमा म ती कर्म गराउनेछु ।’
लीलबहादुर क्षत्रीले डा. भट्टराईलाई असाध्यै स्नेह र भरोसा गर्थे । उपरोक्त पुस्तकको भूमिकामा उनको भनाइ छ, ‘लीलबहादुर क्षत्रीका पुराना अप्रकाशित सामग्री खोजेर, सङ्कलन गरेर, सम्पादन गरेर प्रकाशनतिर अघि बढाउन कोही खोज्दैनन् सितिमित— ‘आऽऽ त्यो घनघोर जंगलभित्र को पसोस् ? मैले पो जसलाई तसलाई कहाँ दिन्छु र पस्न त्यो मेरो संरक्षित वनभित्र ? मलाई कि त डा. गोविन्दराज भट्टराईजस्तो फेददेखि टुप्पासम्म पूर्वदेखि पश्चिमसम्म अध्ययन भएका र बोध भएका लगनशील व्यक्ति चाहियो कि भरतपुर चितवनका अति कर्मठ, इमानदार र निरन्तरता दिइरहन सक्ने लगनशील व्यक्ति डीआर पोखरेलजस्ता व्यक्ति चाहियो ।’
पोखरेलको सम्पादनमा ‘लीलबहादुर क्षत्रीका ऐतिहासिक भूमिका’ २०७६ सालमा प्रकाशित भएको छ । यसको भूमिकामा डा. भट्टराईले क्षत्रीको समीक्षाको भाषाको प्रशंसा गरेका छन् । ‘उपन्यासमा उहाँका पात्रले भाषा निर्णय गर्छन्, यस्तो स्वतन्त्र समीक्षात्मक रचनामा लेखक आफैँले । कस्तो भिन्न मिठो छ उहाँको सिर्जनात्मक गद्य यहाँ — गोपालक, बहिरगत, गतानुगतिक, चूडान्त, संगोष्ठी, विलोप, स्वर्णहार, दैनन्दिन, वाद्र्धक्य, गुरुत्त्व, विवृत्ति, कौटुम्बिक, उत्तप्त, संत्रस्त, भ्राम्यमान्, जनगोष्ठी, जडित, वनाञ्चल, अवदान, अन्तर्भुक्त — यी यस्ता गम्भीर औपचारिक शब्द हुन् जसको अर्थ गाम्भीर्यले साहित्यिक उचाइ बोक्तछन् । सबै संस्कृत तत्सम शब्द ।’
लीलबहादुरका चार उपन्यास, दुई कथा संग्रह, नाटकहरूको संग्रह, भूमिकाको संग्रह लगायत प्रकाशित छन् । उनका कृतिहरूमाथि समीक्षा पनि पर्याप्त भएका छन् । ‘नेपालका समीक्षक, पाठकले दिएको मायाप्रति म कृतज्ञ छु र यो माया दोहोर्याइरहने उद्देश्यले बेलाबेला नेपालका विभिन्न इलाकाको भ्रमण गर्न मन लाग्छ । सभा–समारोहमा निम्तो पनि पाइरहन्छु । फेरि पहाडले मलाई सदैव आकर्षित गरिरहन्छ,’ उनले अन्तर्वार्तामा भनेका छन्, ‘मेरा कृतिहरूको समीक्षा मैले चिताएभन्दा बढी भएको छ र त्यो धेरैजसो नेपालकै पत्र–पत्रिकामा भएको छ ।’
क्षत्रीको ‘बसाइँ’ उपन्यासको आजसम्म ३६ संस्करण आएको छ । यसको पहिलो (वि.सं. २०१४) र दोस्रो (२०१८) संस्करण मदन पुस्तकालयले निकालेको थियो । डा. भट्टराईका अनुसार यस उपन्यासलाई अंग्रेजीमा दुई विद्वान्ले बेग्लाबेग्लै अनुवाद गरेका छन्— माइकल हट र ल्यारी हार्टसेलले ।
क्षत्रीले उल्लेखनीय पुरस्कार भने ५० कटेपछि पाएको देखिन्छ । दिल्ली साहित्य अकादमी पुरस्कार (सन् १९८७), जगदम्बाश्री पुरस्कार (सन् २०१६), भारत सरकारद्वारा पद्मश्री सम्मान (२०२०) आदि उल्लेखनीय छन् ।
सन् २०१६ दिएको अन्तर्वार्तामा क्षत्रीले भनेका थिए, ‘पुरस्कार मैले यो उमेरसम्म धेरै पाइसकेँ । भारेभुरे जोड्नु हो भने २५ नाघे हुनन् । तीमध्ये दार्जिलिङ अकादमीको भानु पुरस्कार (१९८५), दिल्ली साहित्य अकादमी पुरस्कार र काठमाडौँबाट नइ–देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार (२०१२)लाई स्वीकृति र प्रेरणाको दृष्टिले उत्कृष्ट ठानेको छु ।’
सन् २०१६ मा डा. गोविन्दराज भट्टराई र डा. खगेन शर्माले लीलबहादुर क्षेत्रीलाई सोधेका थिए— यहाँको के सपना अधुरै रह्यो होला ? कि सबै सपना पूरा भए ?
उनले आफ्ना धेरै सपना अधुरा–अपुरा रहेको बताएका थिए । त्यसमध्ये एक थियो— एउटा ट्रस्ट बनाउने, विद्वत् मण्डलीको एउटा समिति गठन गरी आफ्ना कृतिहरूको अध्ययन, अनुसन्धान, संस्करण र प्रकाशको व्यवस्था मिलाउने ।
आसाममा दुई वर्षअघि लीलबहादुर फाउन्डेसन खुलिसकेको छ । यसबाट आख्यानकार खड्गबहादुर कौशिकले प्रथम ‘लीलबहादुर क्षत्री साहित्यिक पुरस्कार’ प्राप्त गरेका थिए ।
लीलबहादुर क्षत्रीले आफ्ना सारा सपना पूरा गरेर यो धर्ती छाडेको डा. भट्टराई बताउँछन् । ‘इन्द्रबहादुर राईको देहान्त हुनुभन्दा २३ दिनअघि मेरी छोरी सेवाले अन्तर्वार्ता लिएकी थिइन् । त्यतिबेला उहाँले भन्नुभएको थियो — म सबै कुराले तृप्त भइसकेको छु,’ डा. भट्टराई भन्छन्, ‘त्यस्तै गरी लीलबहादुर क्षत्री पनि तृप्त हुनुहुन्छ भन्ने मलाई लाग्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमानलाई हटाउनु लज्जास्पद कुकर्मको पराकाष्ठ : नारायणकाजी
-
१२ बजे, १२ समाचार : तीन ठूला नेताको सहमति भएकै दिन विद्युत प्राधिकरणबाट कुलमान आउटदेखि मैनबत्ती बालेर रविद्वारा सांकेतिक विरोधसम्म
-
रोमाञ्चक खेलमा दिल्लीले १ विकेटले हरायो लखनउलाई
-
बत्ती निभाएर मैनबत्ती बाल्दै रविको साङ्केतिक विरोध
-
हुन्डाई क्रेटा ईभी र मेड इन नेपाल क्रेटा आइस सार्वजनिक, तस्बिरहरू
-
सरकार भर्सेस कुलमान : आठ महिना टकराब, ६ वटा स्पष्टीकरणपछि ‘आउट’