सोमबार, ११ चैत २०८१
ताजा लोकप्रिय

सीमापारी पर्यटन सेल्स मिसन, पर्यटन व्यवसायी उत्साही

आइतबार, १० चैत २०८१, ०८ : ४४
आइतबार, १० चैत २०८१

चीन । पोखरा महानगरपालिकाले २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गरेको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको यसवर्ष चीनको सिचुआन प्रान्तबाट मात्रै ५ लाख पर्यटक पोखरा आउने मेयर धनराज आचार्यको विश्वास छ । 

‘चीनका धेरै सहरहरू पोखराका मितेरी र भगिनी सम्बन्ध भएका सहरहरू हुन् । यो वर्ष हाम्रो लक्ष्य पूरा गर्न चिनियाँ सहरहरुले सहयोग गर्नेछन्,’ उनले भने, ‘कम्तीमा ५ लाख पर्यटक यहाँबाट पोखरा घुम्न जाने विश्वास छ ।’ पोखराबाट छेन्दु सीधा उडान भएपछि पर्यटकलाई आउजाउ गर्न झनै सहज भएको उनले बताए । 

‘छेन्दु र लुजाउमा ब्रेकफाष्ट गरेर पर्यटकहरू लन्चका लागि पोखरा पुग्छन् । पोखराबाट लन्च लिएर डिनरका लागि चीनका सहर पुग्न सकिन्छ,’ उनले अघि थपे, ‘यति छोटो दुरीमा हामीले अहिलेसम्म पर्यटन आकर्षित गर्न सकेका रहेनछौँ । व्यावसायिक चार्टर उडान नियमित हुन सके पोखराले काँचुली फेर्छ ।’ यति नजिकको सहर भएपनि सिचुआनका नागरिकलाई नेपाल र पर्यटनको राजधानी पोखराबारे थाहा छैन । लामो समयदेखि टुरिजम क्षेत्रमा काम गर्दै आएका टूर गाइडहरु पनि पोखराबारे अनविज्ञ छन् । 

सेल्स मिसनमा भेटिएका अधिकांश टूर गाइडहरु भन्छन्, ‘पोखराबारे हामीलाई थाहा थिएन । यो भेटघाट र बसाइले पोखरा चिन्न पायौँ । अब हाम्रा पर्यटक पोखरा पठाउँछौँ ।’ उनीहरुले थाइल्याण्ड, युरोपियन देशहरु र अन्य तेस्रो मुलुकमा पर्यटक पठाउँदै आएका छन् । छेन्दु र छोङसिङमा आयोजित सेल्स मिसन पोखरा र समग्र नेपालकै पर्यटनमा उल्लेख्य रहने आयोजक नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने बताउँछन् । ‘अहिले हेर्दा यो एउटा कार्यक्रम जस्तो मात्रै छ । तर आजका दिनसम्म यी सहरहरूमा सेल्स मिसन भएका थिएनन्,’ उनले भने, ‘पहिलो पटक आयोजना भएको कार्यक्रमबाट नै हामी उत्साही भएका छौँ । धेरै भन्दा धेरै चिनियाँ नागरिकलाई नेपाल र पोखराबारे जानकारी गराउन पायौँ ।’

उनले नेपाल र पोखराका पर्यटकीय गन्तव्य र भविष्यमा बोर्डले गर्ने कार्यनीतिका बारेमा जानकारी गराएका थिए । २ सय भन्दा बढी चिनियाँ टूर गाइडहरु कार्यक्रममा सहभागी भएका थिए । चीन सरकारले पनि सन् २०२५ लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । ‘राष्ट्रिय स्तरमै अन्डरस्टाण्डिङ भएको कारण बढी भन्दा बढी चिनियाँ पर्यटकलाई नेपाल ल्याउनका लागि यो कार्यक्रम गरिएको हो । यो वर्ष तीनगुणा पर्यटक बढाउने लक्ष्य नेपाल सरकारले लिएको छ,’ लामिछाने भन्छन्, ‘चीनको सहयोगमा बनेका नेपालको एयरपोर्टमा चीनका सहरबाट सोझै उडान गर्नेगरी प्राथमिकता दिएका छौँ । चीनको बजारमा बढी भन्दा बढी प्रवर्द्धनात्मक कार्यक्रम गर्नुपर्छ, गरिरहेका छौँ ।’ नेपालमा आउने प्रमुख पर्यटकमध्ये चीन दोस्रो नम्बरमा छ । यद्यपि पछिल्ला वर्षहरूमा यसको आँकडा निकालिएको छैन । 

नेपाल र चीनका पर्यटन व्यवसायीहरू एउटै थलोमा राखेर पर्यटन विकासका कुरा गर्ने अवसर बोर्डले नै जुराएको हो । पोखराका पर्यटन व्यवसायीहरू पोखरा छेन्दु चार्टर व्यावसायिक उडान मार्फत चीन आएका छन् । सिचुआन एयरको जहाज चार्टर गरेर पर्यटक डाक्नका लागि चीन आएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए । ‘यस्ता सेल्स मिसनले हाम्रा पर्यटकीय गन्तब्यको प्रबद्र्धन र पर्यटक बढाउन सहयोग पुग्छ । नेपालको बजार चिनियाँ पर्यटक केन्द्रित छ,’ उनले भने, ‘अरु देशका पर्यटक पनि आइरहेका छन् । हामी अझै धेरै पर्यटक चीनबाट भित्र्याउन चाहान्छौं । यो मिसनमा सघाउने सबै सहयोगीलाई धन्यवाद ।’

सिचुआनले छेङ्दुबाट पोखरामा लगातार १० हप्तासम्म उडान भर्नेछ । प्रत्येक साता एउटा उडानको व्यवस्था मिलाइएको हो । यो अवधिमा १ हजार २ सय ५० पर्यटक पोखरा झार्ने गरी टिकट विक्री भैसकेको छ । पोखराबाट पनि केही पर्यटक संस्थागत रुपमा चीनका सहरमा घुम्ने तयारी गरेका छन् । पहिलो पटक पर्यटन व्यवसायीको टोली चीन झरेको छ भने यसपछिको उडानमा अन्य व्यवसायीहरू उद्योग वाणिज्य संघको नेतृत्वमा चीन आउने छ । छेन्दु स्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत सुरेश राउतले नेपाल र चीनको पुरानो सम्बन्धलाई स्मरण गराउँदै चिनियाँका लागि नेपाल उत्कृष्ट भ्रमण गन्तव्य हुने बताए । ‘हाम्रो पुरानो सम्बन्ध छ । औपचारिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको छ । यो अवसरमा चीन सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेकोमा हामी खुसी छौँ,’ उनले भने, ‘अब यो घोषणाको लक्ष्य पूरा गर्न चिनियाँ नागरिकले पनि साथ दिनुपर्छ । बढी भन्दा बढी पर्यटकलाई नेपाल घुम्न आह्वान गर्दछौँ ।’ भ्रमणका क्रममा आइपर्ने समस्या समाधानका लागि आफूहरु तयार रहेको उनले बताए । 

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले पोखरा भ्रमणका लागि छोङसिङका नागरिकसँग आग्रह गरेका छन् । ‘पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनका लागि महत्त्वपूर्ण गन्तव्य हो । हामी पोखरेली यहाँहरूलाई स्वागत गर्न आतुर छौँ,’ उनले भने, ‘यो वर्ष सबै चिनियाँ नागरिकहरूलाई नेपालको पर्यटकीय राजधानी पोखरा भ्रमणका लागि हार्दिक आग्रह गर्दछौँ ।’ छेन्दुबाट पोखरा उडानले दुई देशको पर्यटन प्रबद्र्धनमा सहयोग पुगेको उनले सुनाए । पोखरा पर्यटन परिषद्का महासचिव जीवन सापकोटाले पोखरा छेन्दु उडानले पोखरेली पर्यटनमा नयाँ उत्साह भरिएको बताए । 

सेल्स मिसनमा नेपाली पर्यटन व्यवासायीहरुले आफ्ना उत्पादन र व्यवसायका बारेमा चिनियाँ टूर अपरेटर र व्यवसायीलाई जानकारी गराएका थिए । उनीहरुले छेङ्दु र छोङसिङमा स्टल राखेका थिए । सोही अवसरमा डुलुवा टिमले तयार गरेको भिडियो प्रस्तुत गरिएको थियो । कार्यक्रममा छोङसिङ नगरका संस्कृति तथा पर्यटन विकास आयोगका उपमहासचिव वाङ होले आफ्ना नागरिकलाई पोखरा भ्रमणका लागि आह्वान गरे । उनले नेपाल र छोङसिङ पर्यटकीय भएकोले विकासमा आपसी साझेदारी आवश्यक रहेको बताए ।

2-23-35-6

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप