सोमबार, ११ चैत २०८१
ताजा लोकप्रिय

'ईनास राष्ट्रिय सम्मान २०२५’ मेरिल्याण्डमा आयोजना हुने

आइतबार, १० चैत २०८१, ०८ : ३४
आइतबार, १० चैत २०८१

काठमाडौँ । अमेरिकामा रहेर विशिष्ट योगदान दिने व्यक्तिलाई विशेष सम्मान र नवप्रतिभालाई प्रोत्साहनस्वरुप राष्ट्रिय सम्मान प्रदान गरिने ईनास अमेरिकाका अध्यक्ष तथा अभिनेता राहुल केसीले बताएका छन् ।  अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास)को अमेरिका शाखाले नेपाली भाषा, कला, साहित्य, खेलकुद, चलचित्र, समाजको विकासमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्ने भएको हो ।

२१ जुलाईमा मेरिल्याण्डमा आयोजना हुने समारोहमा ‘ईनास राष्ट्रिय सम्मान २०२५’ प्रदान गरिने भएको छ । मेरिल्याण्ड राज्यको हार्फोर्ड काउन्टीमा हुने कार्यक्रममा नेपाली संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिने भएको छ ।

अमेरिकामा रहेर विशिष्ट योगदान दिने व्यक्तिलाई विशेष सम्मान र नवप्रतिभालाई प्रोत्साहनस्वरुप राष्ट्रिय सम्मान प्रदान गरिने ईनास अमेरिकाका अध्यक्ष तथा अभिनेता राहुल केसीले बताए । समारोहमा अमेरिका लगायत विश्वभरी छरिएका नेपाली कला, साहित्य, खेल, मनोरञ्जन क्षेत्रका कलाकार, खेलाडी, विभिन्न निकाय र संघसस्थाहरुका प्रतिनिधिको सहभागिता हुनेछ ।

ईनासले दशैंतिहार, तीज, फागु पूर्णिमा, नयाँवर्षजस्ता पर्व र अवसरमा फिल्म फेस्टिभल, स्रस्टा सम्मान, अवार्ड, बाल प्रतिभाजस्ता कार्यक्रम आयोजना गर्दै आइरहेको छ । यस्ता कार्यक्रमको उद्देश्य स्रष्टाबिच एकता कायम गर्दै संस्कृतिको संवर्द्धन गर्नु रहेको जनाइएको छ ।

२६ अगस्ट, २०१२ मा युरोपको पोल्याण्डबाट ईनासको इतिहास सुरु भएको थियो । सन् २०१४ मा भर्जिनियाबाट ईनास अमेरिकाको सुरुवात भयो । अहिले मेरिल्याण्ड, भर्जिनिया, पेन्सिलभेनिया, केन्टकी लगायतका राज्यमा विस्तार भएको छ ।

‘ईनास राष्ट्रिय सम्मान तथा सांस्कृतिक कार्यक्रम’ संस्थाका पूर्वअध्यक्ष कन्हैयासिंह परियारको कार्यकालमा सन २०२२ बाट सुरु गरिएको थियो, जुन प्रत्येक दुई वर्षमा हुने विशेष सम्मान कार्यक्रमको दोस्रो संस्करण र निरन्तरता हो।

कार्यक्रमलाई भव्य तुल्याउनको लागि व्यवस्थापन जिम्मेवारी ईनास मेरिल्याण्डले लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत मेरिल्याण्डका लागि पर्यटन प्रवर्द्धक राजु पराजुलीले ईनास राष्ट्रिय सम्मान २०२५ मा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

ईनास अमेरिकाका प्रवक्ता गोपालचन्द्र लामिछानेले अमेरिकाको नेपाली डायस्पोरामा संस्कृति प्रवर्द्धनका लागि कार्यक्रम महत्त्वपूर्ण हुने बताए । समारोहमा सहभागिताको लागि नेपालबाट अतिथि कलाकारलाई समेत निम्तो गरिएको उनले जनाए 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप