पर्सा सीडीओको एक्सन, केन्द्राध्यक्षसहित चार जनालाई कारबाही

वीरगन्ज । पर्सामा एसइई परीक्षाको दोस्रो दिनको परीक्षामा मर्यादा विपरीत काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले कारबाहीको डन्डा चलाएको छ । जिल्ला प्रशासन कार्यालयले प्रहरी तथा केन्द्राध्यक्षसहित निरीक्षकहरूमाथि कारबाहीको डन्डा चलाएको हो ।
जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई चेतावनी दिँदै चार जना अधिकारीलाई कारबाही गरेको छ । परीक्षामा मर्यादा विपरीत काम गरेको निष्कर्षसहित एक केन्द्राध्यक्ष र ३ जना निरीक्षकलाई कारबाही गरेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
जिल्ला प्रशासन कार्यालयले माइस्थान विद्यापीठका केन्द्राध्यक्ष जयप्रकाश सर्राफलाई कारबाही गरेको छ । भोलिदेखि नै सर्राफलाई परीक्षा केन्द्रमा प्रवेशको रोक लगाउँदै जिम्मेवारीबाट हटाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
त्यस्तै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसिहानीका निरीक्षक लालबाबु यादव, सिद्धार्थ मावि चिनी कारखानाका धर्मेन्द्र यादव र रामबालक यादवलाई कारबाही गरिएको अर्यालले बताए ।
जिल्ला प्रशासन कार्यालयमा शनिवार साँझ बसेको बैठकले प्रहरीलाई कडा निगरानी गर्न लिखित निर्देशन दिनुको साथै केन्द्राध्यक्षसहित चार जनालाई कारबाहीको निर्णय गरेको हो ।
यसैगरी बैठकले द्वारदेवी माध्यमिक विद्यालय अलौंमा अनावश्यक भिडभाड देखिने गरेको भन्दै अबदेखि सो भिडभाड हटाउन केन्द्राध्यक्षलाई निर्देश दिने र सुरक्षाकर्मीलाई सहयोग गर्ने निर्देशन दिएको छ ।
त्यस्तै सबै परीक्षा केन्द्रहरूमा कडा चेकजाँच गर्ने र सो कार्यमा सहजीकरण गर्न सुरक्षाकर्मी परिचालन गर्न कडा निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सुन्दरमल रामकुमार कन्या मावि परीक्षा केन्द्रमा नियमिततर्फका विद्यार्थीलाई ग्रेड वृद्धिको र ग्रेड वृद्धि तर्फका परीक्षार्थीलाई नियमिततर्फ प्रश्न पत्र दिइएकोले आइन्दा त्यस्तो कार्य नगर्न समेत चेतावनी दिइएको छ ।
त्यस्तै सबै परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालनको समयभन्दा ठिक २० मिनेट अगाडि मात्र प्रश्न पत्र खोल्ने व्यवस्था मिलाउन निर्देशन दिइएको समेत अर्यालले बताए । यो वर्ष पर्साबाट एसइई परीक्षामा कुल ९८०२ विद्यार्थीहरू सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मण्डनदेउपुर र जापानको फुजिनोमिया नगरबिच भगिनी सम्बन्ध कायम
-
विदेशी पुनर्बीमा दलालहरूलाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन
-
अख्तियारले स्टिङ अपरेसन गर्न पाउने व्यवस्था ब्युँतियो
-
देउवालाई शाहीको गम्भीर आरोपः बीपीको सिद्धान्त बेचेर खानुभएछ !
-
३ सयभन्दा बढी कलेजहरूमा स्ववियु निर्वाचन सम्पन्न, कहाँ कसले जिते ?
-
नागढुंगामा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु