मोरङमा ब्युँझिएकै हो माओवादी ?

विराटनगर । मोरङमा आफ्नो जनमत निरन्तर खस्किरहेको बेला माओवादीले २०८१ मङ्सिरमा सम्पन्न उपनिर्वाचन र २०८१ चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा भने सानदार उपस्थिति देखाएको छ ।
भर्खरै सम्पन्न मोरङका ९ क्याम्पसमध्ये माओवादी निकट अखिल क्रान्तिकारीले ३ आङ्गिकसहित ६ वटामा जित निकालेर प्रतिस्पर्धी सङ्गठनहरूलाई आश्चर्यमा पारेको छ । क्रान्तिकारीले आङ्गिक क्याम्पसहरू महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, स्नातकोत्तर क्याम्पस र विराटनगर नर्सिङ क्याम्पससहित कानेपोखरीको रमाइलो बहुमुखी क्याम्पस, बेलबारी क्याम्पस र मिक्लाजुङ क्याम्पस जितेको छ ।
एमाले निकट अनेरास्ववियुले सुकुना बहुमुखी क्याम्पस र केराबारी बहुमुखी क्याम्पसमा जित निकाल्दा नेविसंघले लेटाङ क्याम्पस जितेको छ । उर्लाबारी र पथरी क्याम्पसमा भने सबैको सहमतिमा नेविसंघको अध्यक्ष निर्वाचित भएको थियो ।
प्रदेशकै सबैभन्दा ठुलो महेन्द्र मोरङ क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका रोहित यादव निर्वाचित भए । स्नातकोत्तर क्याम्पस विराटनगरमा क्रान्तिकारीका प्रितम साहसहित प्यानल नै विजयी हुँदा नर्सिङ क्याम्पसमा क्रान्तिकारीकै रोहित ताजपुरिया सभापतिमा निर्वाचित भए । नेविसंघ र अनेरास्ववियु मिलेको भोजपुर बहुमुखी क्याम्पसमा पनि क्रान्तिकारीकै सोबिन तामाङ विजयी बने ।
गत मङ्सिरमा ४१ स्थानमा भएको उपनिर्वाचनमा कांग्रेस–एमाले नै प्रतिस्पर्धी हुने ठानिरहेको बेला माओवादी केन्द्र पनि सशक्त ढंगले प्रस्तुत भयो । एमाले र कांग्रेसले जितेका कतिपय स्थानमा माओवादीले आफ्नो विजयको झन्डा फहरायो । कोशी प्रदेशमा पनि १ पदमा अध्यक्ष र ७ वडाध्यक्ष पदमा प्रतिस्पर्धा भएको थियो । जसमध्ये १ अध्यक्ष र २ वडाध्यक्ष पदमा जित निकाल्दै माओवादी पहिलो भएको छ । यस्तै नेपाली कांग्रेस र नेकपा एमालेले दुई–दुई वडाध्यक्षमा र एक जना स्वतन्त्रले वडाध्यक्षमा विजयी भएका छन् ।
२०७९ सालको निर्वाचनमा भने ती ८ पदमै माओवादी पराजित भएको थियो । अघिल्लो निर्वाचनमा कांग्रेसले पालिका अध्यक्षसहित ५ वडाध्यक्ष जितेको थियो भने एमालेले २ स्थानमा जितेको थियो । लोकप्रिय मतमा पनि माओवादी पहिलो देखियो ।
उपनिर्वाचनमा माओवादीले ग्रामथान गाउँपालिकाको अध्यक्षसहित उदयपुरको त्रियुगा १२ र बेलका ९ जितेको छ । माओवादीले जितेका तीनै स्थान अघिल्लो निर्वाचनमा कांग्रेसले जितेको थियो । कोशीमा ८ स्थानमा भएको मतदानमा जम्मा २९ हजार ४५४ मत खसेको थियो ।
सो मतमा पनि माओवादी केन्द्र पहिलो भयो । जसअनुसार माओवादीले ९ हजार ८२२ मत प्राप्त गर्दा काँग्रेसले ८ हजार ६४ र एमालेले ७ हजार ५३० मत पाएको छ । माओवादीले काङ्ग्रेसभन्दा १ हजार ७५८ मत र एमालेभन्दा २ हजार २९२ मत बढी पाएको छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार राप्रपाले ७२६ र रास्वपाले ९२९ मत ल्याएको छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा ती स्थानमा माओवादीले जम्मा ४ हजार ५५ मत पाउँदा काँग्रेसले १० हजार ६५१ मत ल्याएको थियो । यस्तै एमालेले ९ हजार ४५१ र राप्रपाले ५०३ मत पाएको थियो । उक्त तथ्याङ्क हेर्दा काँग्रेसको मत २ हजार ५८७ मत र एमालेको १ हजार ९२१ मत घटेको छ । यही परिणामलाई लिएर माओवादीले आगामी ८४ को निर्वाचनलाई ६४ मा जस्तै विजय हुने प्रचार गरिरहेको छ । माओवादीले त्यति मात्रै भनेको छैन । समाजवादी क्रान्तिको आधार क्षेत्र पूर्वी नेपाल बन्ने व्याख्या गरिरहेको छ ।
माओवादीले झापा, मोरङ र सुनसरीलाई नै केन्द्रित गरेर केही समय अगाडि तराई मधेश हुलाकी राजमार्ग लक्षित अभियान सञ्चालन गरेको थियो । त्यसअघि पनि अध्यक्ष प्रचण्ड पटक पटक झापा, मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका छन् ।
यी तीन जिल्ला नेपालमै बढी जनसङ्ख्या हुने पाँच जिल्लाको सूचीमा छन् । केन्द्रीय तथ्याङ्क विभागका अनुसार सबैभन्दा बढी काठमाडौँमा २० लाख १७ हजार ५३२ जनसङ्ख्या छ । काठमाडौँपछि बढी जनसङ्ख्या भएको दोस्रो जिल्ला मोरङमा ११ लाख ४७ हजार १८६ छ ।
तेस्रो ठुलो जिल्ला रुपन्देहीमा ११ लाख १८ हजार ९७५ जनसङ्ख्या छ । त्यसपछि झापाको जनसङ्ख्या नौ लाख ९४ हजार ९० जना छ । पाँचौँ नम्बरमा रहेको सुनसरीको जनसङ्ख्या नौ लाख ३४ हजार ४६१ रहेको छ । यसरी हेर्दा झापा, मोरङ र सुनसरीमा ३० लाख ७५ हजार ७३७ जनसङ्ख्या छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारले स्ट्रिङ अपरेसन गर्न पाउने व्यवस्था ब्युँतियो
-
देउवालाई शाहीको गम्भीर आरोपः बीपीको सिद्धान्त बेचेर खानुभएछ !
-
३ सयभन्दा बढी कलेजहरूमा स्ववियु निर्वाचन सम्पन्न, कहाँ कसले जिते ?
-
नागढुंगामा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु
-
२० वर्ष पुराना गाडी विस्थापित गर्न विभाग र ट्राफिक कार्यालयलाई मन्त्रालयको पत्र
-
एकीकृत समाजवादी रुपन्देहीको अध्यक्षमा हिराध्वज शाह निर्वाचित