आइतबार, १० चैत २०८१
ताजा लोकप्रिय

ढकिया बुनेर आत्मनिर्भर बन्दै महिला

शनिबार, ०९ चैत २०८१, २१ : ३८
शनिबार, ०९ चैत २०८१

धरान । जिल्लाको रामधुनी नगरपालिकासँगको सहकार्यमा रामधुनी थारु महिलासभा कार्यसमितिले ढकिया बुन्ने तालिम उपलब्ध गराएपछि यहाँका महिला आत्मनिर्भर बन्दै गएका छन् । आयआर्जनका साथै माहिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिइएको हो ।

रामधुनी–५ का सङ्गीता चौधरीले १५ वर्षदेखि सिलाइबुनाइ गर्दै आएकोमा अहिले योसँगै ढकिया बुन्ने व्यवसाय सुरु गरेकी छिन् । पहिले सीप अभावले काममा चुनौती र समस्या भए पनि पछिल्लो समय विभिन्न सङ्घसंस्थाले तालिम दिएपछि आफू आत्मनिर्भर हुनुका साथै अन्य महिलालाई प्रशिक्षक भएर सीप सिकाइरहेको उनले बताईन् ।

उनी अहिले महिलालाई ढकिया बुन्ने तालिम दिने गर्छिन् । महिलालाई आयआर्जनसँग जोड्दै आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाको सहयोगमा यहाँको महिला सभा कार्यसमितिले ढकिया बुन्ने तालिम उपलब्ध गराउँदै आएको छ । जुन सीपले यहाँका धेरै महिला आत्मनिर्भर बनिरहेका छन् ।

ढकिया विशेष गरेर थारु समुदायमा अत्यधिक प्रयोग गरिन्छ । पूजा, विवाहलगायतका कार्यक्रमदेखि मृत्यु संस्कारमा पनि ढकियाको प्रयोग गरिने भएकाले यसको व्यवसायबाट महिला स्वरोजगार बन्दै गएका सङ्गीताले बताईन् । पहिले थारु समुदायका सबै महिलाले बुन्ने गरे पनि पछिल्लो समय यो लोप हुँदै गएको भन्दै उनले थारु परम्परा र संस्कृतिसँग जोडिएकाले पनि यसलाई संरक्षण र प्रवर्द्धन गर्न तालिम दिँदै आएको बताईन् । 

सङ्गीताले अहिले १२ भन्दा बढी किसिमका ढकिया बुन्ने गर्छिन् । यहाँ बुनिएका ढकिया दमक, झापा काठमाडौँ, धनकुटा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा जाने गरेको छ । उनले भनिन्, यसबाट आम्दानीको यकिन हिसाब भने हुँदैन तर यो व्यवसायले घरखर्च र महिलाका निजी आवश्यकता पूरा गर्न भने पुग्छ । 

ढकिया बुन्ने तालिमपछि राम्रो आम्दानी गर्न सकिने रहेछ भनेर आत्मविश्वास बढेको रामधुनी–५ की निलम चौधरीले बताईन् । पहिले ढकिया बुनेर पनि आम्दानी हुन्छ भन्ने लागेको थिएन तर, पछिल्लो समय यसको प्रयोग अत्यधिक बढ्न थाल्यो । विभिन्न कार्यक्रममा मायाको चिनोदेखि लिएर चाडपर्वमा यसको प्रयोग हुने भएपछि तालिम लिएर आम्दानीसँगै स्वरोजगार बनेको उनी बताउँछिन् । 

आफूले बुनेका ढकिया झापा र सुनसरीका विभिन्न ठाउँबाट माग हुने गरेको निलमको भनाइ छ । उनका अनुसार रु पाँच सयदेखि रु चार हजारसम्ममा ढकिया बिक्री हुने गर्दछ । सोही ठाउँकी कञ्चन चौधरीले एक वर्षदेखि ढकिया बुन्न सुरु गरेको सुनाईन् ।  यो आफ्नै संस्कृतिसँग जोडिएकाले पनि यसलाई जोगाउनु, संरक्षण गर्नु पछिल्लो पुस्ताको कर्तव्य भएकाले तालिम लिएर व्यावसायिक पेसा बनाएकी उनले सुनाईन् ।

उनका अनुसार प्रत्येक वर्ष नगरपालिकाको सहयोगमा महिला केन्द्रित भएर ढकिया बुन्ने तालिम सञ्चालन हुन्छ । यस्ता सीपमूलक तालिम अन्य क्षेत्रमा पनि आए महिला थप आकर्षित हुनुका साथै रोजगारीका नयाँ अवसर सिर्जना हुने उनको भनाई छ । 

कञ्चनले महिनामा १० वटाभन्दा बढी ढकिया बुन्न सकिने बताउँदै कहिले सोभन्दा बढी माग पनि आउने गरेको उल्लेख गरिन् । ढकिया बुन्न सके बिक्रीका लागि बजारको अभाव नहुने बताउँछिन् । 

ढकिया विभिन्न किसिम र आकारमा बुन्न सकिने जसमा दौरा, मना, धमालगायतको माग बढी आउने गर्दछ, उनले सुनाईन् । ढकियामा धागो, मोती, कासको प्रयोग हुने गरेको र धागो र मोती आफैँले खरिद गर्नुपर्ने उनको भनाई छ । यो सीपलाई फुर्सदको समय सदुपयोग गरी काममा लगाउँदा जीविकोपार्जन सहज हुने उनको अनुभव छ । उहाँको अनुभव छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप