आइतबार, १० चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विपिन कुमार गुरुङ नेतृत्वको  एनआरएनए दक्षिण कोरियाद्वारा  एकता अधिवेशनका लागि वृहत् अन्तर्क्रिया सम्पन्न

सर्वोच्चको परमादेशलाई मान्नुको विकल्प छैन : गुरुङ
शनिबार, ०९ चैत २०८१, २१ : ३३
शनिबार, ०९ चैत २०८१

काठमाडौँ । शेष घलेको उच्चस्तरीय समितिलाई स्वीकार गर्दै आएको विपिन कुमार गुरुङ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) दक्षिण कोरियाले शनिवार सरोकारवालासँग वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

अप्रिल ६ मा एकताको अधिवेशन गर्न लागिएको सन्दर्भमा सरोकारवाला सबैसँग राय सुझाव दिने उद्देश्यका साथ भर्चुअल वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । 

सो अवसरमा बोल्दै प्रमुख अतिथि तथा उच्चस्तरीय समितिका सदस्य एवम् एनसीसी समन्वय उपसमितिका संयोजक विनोद कुँवरले एनआरएनए विषम परिस्थितिमा रहेको सर्वोच्चको परमादेशअनुसार केन्द्र र एनसीसीमा एकताको महाधिवेशन गर्नुको विकल्प नभएको बताए । उनले कोरियामा दुई एनसीसी रहेको उल्लेख गर्दै सर्वोच्चको परमादेशअनुसार मिलेर अघि बढ्न आग्रह गरे । 

उनले कोरिया आफ्नो कर्मथलो समेत रहेको भन्दै सबैलाई मिलाएर अघि बढ्न आफूले पहल गर्ने बताए ।  यद्यपि बद्री केसी पक्षका एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङले सकारात्मक कुरा नगरेको उल्लेख गरे । उनले भने, ‘मैले कुरा गर्दा हामीले अर्को कमिटीलाई स्वीकार गर्न मिल्दैन भनेर बुद्धि गुरुङले भन्नु भएको छ ।  तर, सर्वोच्चले दिएको फैसला हामी अघि बढ्नुपर्छ ।’

उनले २२ देशमा दुई वटा एनसीसी रहेको उल्लेख गर्दै सबै एनसीसीलाई समान अधिकार दिनुपर्छ भनेर आफूहरूले भन्दै आएको र सोहीअनुसार शुक्रबारमात्रै यूएई एनसीसीमा सकारात्मक समझदारी बनेको समेत बताए । यस्तै उनले मार्च ३१ भित्र सदस्यता लिन आग्रह गर्दै काठमाडौँमा मे ३–५ मा हुने केन्द्रीय एकताको महाधिवेशनमा सबैले भाग लिन पाउने व्यवस्था मिलाइएको बताए । 

यस्तै एनआरएनए दक्षिण कोरियाका अध्यक्ष विपिन कुमार गुरुङले आफू नेतृत्वको कमिटी घले पक्षीय नभई सर्वोच्चको परमादेशअनुसार उनलाई मानेको बताए । ‘परमादेशलाई मान्नुको विकल्प छैन । बद्रीलाई केही समय काम अदालतले दिएपनि उनलाई अदालतले समेत अध्यक्ष मानेको छैन’, उनले भने । उनले बद्री पक्षले एनसीसीलाई सहभागी गराएर थाइल्यान्ड र कम्बोडियामा गरेको सम्मेलन समेत अवैधानिक भएको बताए । उनले एनआरएनएको बुद्धि गुरुङ पक्षलाई पनि आफूहरूले तय गरेको एकता अधिवेशनमा आउन आग्रह गर्दै सबै मिलेर कोरियाको नेपाली समाजलाई एकताबद्ध बनाउन भूमिका खेल्न आग्रह गरे । 

कार्यक्रममा एनआरएनए अभियन्ता जुनु गुरुङसहित  नेपाली सम्पर्क समिति, प्रवासी मजदुर यूनियन, पूर्वी नेपाल समाज, सुदूरपश्चिम प्रदेश समाज, वाग्मती प्रदेश समाज, गण्डकी प्रदेश समाज, कर्णाली प्रदेश समाज, लुम्बिनी प्रदेश समाज, राप्ती समाज , तराई मधेस समाज , हामी नेपाली दक्षिण कोरिया, नेपाली जनसम्पर्क समिति, नेपाली जनप्रगतिशील मञ्च , प्रवासी नेपाल सम्पर्क विभाग, प्रवासी नेपाली एकता समाज , नेपाली समाज प्रवास, प्रवासी नेपाली समाज, नेपाली विद्यार्थी संघ, नेपाली पत्रकार महासंघ कोरिया शाखा, जनजाति पत्रकार महासंघका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । तर, एमाले निकट संघ सङ्गठनहरू भने कार्यक्रममा सहभागी भएनन् ।  एमाले निकटका संघ संगठनको गुरुङलाई साथ भएकाले उनीहरू सहभागी नभएको बताइएको छ । गुरुङ नेतृत्वको समितिले बद्री केसी आधिकारिक भएको दाबी गर्दै सोही कमिटीबाहेक अरूलाई नमान्ने बताउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप