आइतबार, १० चैत २०८१
ताजा लोकप्रिय

टर्की सरकारको विरोधमा शनिबार पनि हजारौँ प्रदर्शनकारी सडकमा

शनिबार, ०९ चैत २०८१, १९ : ५०
शनिबार, ०९ चैत २०८१

इस्तानबुल  । इस्तानबुलका मेयर तथा रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता इकराम इमामोग्लुको गिरफ्तारीपछि टर्कीको आन्तरिक सङ्कट गहिरिएको छ । हजारौँ मानिस सडकमा ओर्लिएका छन् र धेरै ठाउँमा प्रहरी र प्रदर्शनकारीबिच झडप र गिरफ्तारी भएको छ।

राजनीतिक उथलपुथलका बीच टर्कीको शेयर बजारमा विगत दुई दशकयताकै सबैभन्दा ठूलो गिरावट आएको छ भने टर्कीएको मुद्रा लिरामा पनि गिरावट आएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बढ्दो प्रदर्शनको निन्दा गर्दै शुक्रबारको प्रार्थनापछि आफ्नो सरकारले ‘तोडफोड’ र ’सडकमा देखिएको आतङ्क’ विरुद्ध कुनै सम्झौता नगर्ने बताएका छन् । उनले भने, ‘हामी सार्वजनिक अव्यवस्था स्वीकार गर्दैनौँ ।’

टर्कीएका विपक्षी नेतालाई पक्राउ गरेपछि प्रदर्शनकारीहरु देशभरका सडकमा उत्रिएका छन् । सन् २०२८ को राष्ट्रपतीय चुनावका लागि सीएचपीको उम्मेदवार घोषणा हुनुभन्दा केही दिनअघि बुधबार प्रहरीले इकराम इमामोग्लुलाई भ्रष्टाचार र चरमपन्थी समूहलाई सहयोग गरेको आरोपमा पक्राउ गरेको थियो ।

एक दिनअघि, इस्तानबुल विश्वविद्यालयले इमामोग्लुको डिप्लोमालाई अवैध घोषित गरेको थियो। राष्ट्रपति पदका उम्मेदवारका लागि विश्वविद्यालयको डिग्री वा डिप्लोमा अनिवार्य छ ।

सीएचपीको राष्ट्रपति मनोनयनको चुनाव आइतबार हुन गइरहेको छ, जसमा १५ लाख सदस्यहरूले मतदान गर्नेछन् र इमामोग्लु एक मात्र उम्मेदवार रहेका छन् । इस्तानबुलका मेयर तथा रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता इकराम इमामोग्लुलाई राष्ट्रपति एर्दोगानको मुख्य प्रतिद्वन्द्वी मानिन्छ ।

टर्कीमा प्रदर्शनमा लगाइएको प्रतिबन्धको अवज्ञा गर्दै प्रदर्शनकारीहरू शुक्रबार तेस्रो दिन पनि सडकमा उत्रिएका छन् । टर्कीको गृह मन्त्रालयले बिहीबार ५३ र शुक्रबार ९७ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सीएचपी एक धर्मनिरपेक्ष राजनीतिक पार्टी हो र इमामोग्लुलाई राष्ट्रपति एर्दोगानको सबैभन्दा बलियो राजनीतिक प्रतिद्वन्द्वीको रूपमा हेरिन्छ । प्रशासनले अनुसन्धानको सिलसिलामा इमामोग्लुसहित १०० भन्दा बढी राजनीतिज्ञ, पत्रकार र व्यापारिक नेताहरूलाई गिरफ्तार गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?