मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘साहस महिला बेचबिखनबारे बुझ्न प्रामाणिक पुस्तक’

शनिबार, ०९ चैत २०८१, १८ : २९
शनिबार, ०९ चैत २०८१

काठमाडौँ । समाजवादी विश्लेषक मीना पौडेल लिखित ‘साहस : महिला बेचबिखन, बहिष्कार र प्रतिकार’ महिला बेचबिखनका विविध पाटा उजागर गर्ने सवालमा नेपालमा पहिलो प्रामाणिक पुस्तकका रूपमा आएको सम्बद्ध विज्ञहरूले बताएका छन् ।

‘यो विश्वविद्यालयहरूमा कोर्स बुक बनाउन लायक छ,’ नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार आयोजित ‘साहस संवाद’ कार्यक्रममा त्रिवि लैंगिक अध्ययन केन्द्रकी पूर्वप्रमुख प्रा. विन्दु पोखरेलले भनिन्, ‘नेपालमा महिला बेचबिखनबारे, बहिष्करणबारे यो पुस्तकमा जस्तो विधिले अध्ययन–अनुसन्धान गरिएको छ, त्यो महत्त्वपूर्ण छ ।’ नेपाली समाजको पितृसत्ताका सामाजिक, आर्थिक, राजनीतिक जस्ता संरचनाले महिला बहिष्करणलाई टेवा दिएको उनले बताइन् ।

मानवशास्त्री सुरेश ढकालले महिला बेचबिखन र बहिष्करणका जटिल र मिहिन सवाललाई ‘साहस’ मा सरल ढंगले सैद्धान्तीकरण गरिएको टिप्पणी गरे । ‘बेचबिखन र बहिष्करणलाई लिएर नेपाली भाषामा पहिले यस्तो किताब लेखिएको मेरो जानकारीमा छैन,’ उनले भने, ‘यस विषयलाई बुझ्न नेपालीमा यो पहिलो प्रामाणिक पुस्तक हो ।’

नेपालमा यत्रो राजनीतिक परिवर्तनपछि पनि महिला बेचबिखन र बहिष्करण जस्तो आपराधिक कृत्य नरोकिनु उदेकलाग्दो भएको उल्लेख गर्दै अनुसन्धाता जेबी विश्वकर्माले प्रश्न गरे, ‘यस्तो दुष्कर्म रोक्न उपयुक्त नीति किन अझै बन्न सकिरहेको छैन ? महिला संगठनहरू किन प्रभावकारी आवाज उठाउँदैनन् ?’

‘साहस’ सर्जक पौडेलले राजनीतिकर्मीहरूले नचाहेर नै महिला बेचबिखन रोकिन नसकेको दाबी गरिन् । ‘बेचबिखनका दलाल, म्यानपावर व्यवसायी र राजनीतिकर्मीहरूको दह्रो नेक्ससले गर्दा यो रोकिन नसकेको हो,’ उनको भनाइ थियो, ‘महिला बेचबिखनबाट राजनीतिक तहले आर्थिक लाभ लिइरहेको छ ।’

कार्यक्रमको सुरुआतमा महिला बेचबिखनविरुद्ध लामो योगदानका लागि दुर्गा घिमिरे र भगवती नेपाललाई सम्मान गरिएको थियो । एबीसी नेपालकी संस्थापक अध्यक्ष घिमिरेले नेपालमा मानव बेचबिखनको सवाललाई नीतिगत तहमा स्थापित गर्न नेतृत्व गरेकी थिइन् । नेपाल चाहिँ आफैँले स्थापना गरेको महिला आत्मनिर्भरता केन्द्रमार्फत यस क्षेत्रमा क्रियाशील रहँदै आएकी छन् । सम्मान ग्रहणपछि उनले भनिन्, ‘महिला बेचबिखन राजनीतिक मुद्दा हो र यसमाथि राजनीतिक रूपमै सम्बोधन हुनुपर्छ ।’

‘साहस’ किताब पब्लिसर्सले प्रकाशन गरेको हो । यस पुस्तकमा बेचबिखनको जटिल अनुभव बटुलेका युवा महिलाहरूका जीवनका अनुभूतिहरूका माध्यमले लैङ्गिक, सामाजिक–सांस्कृतिक, कानुनी र आर्थिक हिंसाका विभिन्न पाटालाई उजागर गरिएको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा थुप्रै अनुसन्धानमूलक लेख–रचना प्रकाशित गरिसकेकी पौडेलको नेपाली भाषामा यो पहिलो पुस्तकाकार कृति हो । पौडेलको विद्यावारिधि अनुसन्धानबाट विकसित भएर सन् २०११ मा अङ्ग्रेजीमा छापिएको यो पुस्तक फ्रेन्च, जर्मन, इटालियन, पोलिस र पोर्चुगिज भाषामा समेत प्रकाशित भइसकेको छ ।

त्रिविबाट मानवशास्त्रमा स्नातकोत्तर र बेलायतबाट मानव बेचबिखन, महिला यौनिकता र सामाजिक बहिष्कारको अन्तरसम्बन्धमा विद्यावारिधि गरेकी पौडेलले आप्रवासनका विभिन्न आयाममा एसिया, युरोप र अफ्रिकाका मुलुकहरूमा विभिन्न निकायमा आबद्ध भएर काम गरेकी छन् । 

नेपाली र बेलायती विश्वविद्यालयहरूमा प्राज्ञिक कामसमेत गरिसकेकी पौडेलले संयुक्त राष्ट्रसङ्घको वरिष्ठ कर्मचारीको जिम्मेवारीबाट हालै स्वैच्छिक अवकाश लिएर आप्रवासनका अन्तर्राष्ट्रिय अनुसन्धानहरूमा स्वतन्त्र सल्लाहकारका रूपमा योगदान गरिरहेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप