आइतबार, १० चैत २०८१
ताजा लोकप्रिय

एनआरएनए यूके एकता अधिवेशनमा सहभागी हुन संयोजक शेष घले लन्डनमा

शनिबार, ०९ चैत २०८१, १८ : २२
शनिबार, ०९ चैत २०८१

लन्डन । एनआरएनए उच्चस्तरीय समितिका संयोजक डा शेष घले लन्डन आइपुगेका छन् । 

मार्च २३ तारिख आइतबार अलडरसटस्थित द प्यालेस हलमा तय गरिएको  एनआरएनए यूके एकता अधिवेशनमा सहभागी हुन लन्डन आइपुगेका हुन् । घले सर्वोच्चको परमादेश अनुसार गठित एनआरएनए उच्चस्तरीय समितिका संयोजक हुन् ।

घलेलाई स्वागत गर्न एनआरएनए यूके एकता अधिवेशन आयोजक मूल समितिका संयोजक योगेन क्षेत्री, एनआरएनए आइसिसी उपाध्यक्ष थर्क सेनलगायत विमानस्थल पुगेका थिए ।

घलेको स्वागतका लागि एनआरएनए यूके प्रमुख संरक्षक डेभिड गुरुङ, प्रमुख सल्लाहकार भरत क्षेत्री, अधिवेशन आयोजक मूल समिति सदस्यसचिव आरके त्रिपाठी, तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ, तमुधिं यूके पूर्व अध्यक्षहरु रामचन्द्र सुर्जे गुरुङ र ज्ञाम गुरुङ, बुद्धिजिबी एकेन्द्र गुरुङसहितका अभियन्ता पनि हिथ्रो पुगेका थिए ।

एनआरएनए यूके एकता अधिवेशनका लागि आएका घले दुई दिन मात्रै बेलायतमा रहनेछन् । लन्डनमान रहँदा उनले आगामी मे ३ देखि ५ तारिखसम्म काठमाडौंमा तय एनआरएनए केन्द्रको एकता अधिवेशन सफल बनाउन अपिल गर्नेछन् ।

एनआरएनए यूके एकता अधिवेशन आयोजक मूल समितिका संयोजक क्षेत्रीले डा घलेको आगमनले बेलायतमा एकता अधिवेशनका लागि उत्साहपूर्ण वातावरण बनाएको बताए ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले डा घलेको प्रमुख आतिथ्यमा आइतबार अल्डसटको द प्यालेसमा हुने एकता अधिवेशनमा सहभागी हुन बेलायतवासी सबै गैरआवासीय नेपालीलाई आव्हान गरेका छन् । एनआरएनए  यूकेको अध्यक्षमा घले निकट प्रेम गाहामगर पुनः चयन भएका हुन् । अध्यक्ष पदका लागि उम्मेदवारी दिने अन्तिम दिन १९ मार्च, अपराह्न ५ बजेभित्र गाहामगरबाहेक अरू कसैको पनि उम्मेदवारी नपरेपछि उनी आगामी कार्यकालका लागि सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । 

यसैबीच समितिका सदस्य बिनोद कुँवर, जानकी गुरुङसहित अभियन्ता आरके शर्मालगायतका अभियन्ता शनिबार बेल्जियम पुगेका छन् । उनीहरुलाई अभियन्ता गंगाधर गौतम, लोक दाहाललगायतले स्वागत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?