छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
शनिबार, ०९ चैत २०८१, १६ : ४६

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ।
- रूपन्देही, तिलोत्तमा नगरपालिका-५ मणिग्रामस्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु.२ ख ५१३६ नम्बरको ट्रकमा लु.१६ प ६८५ नम्बरको स्कुटर ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक कपिलवस्तु वाणगंगा नगरपालिका-४ बस्ने २८ वर्षीय रमेश खनालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- बाँके, नेपालगंज उपमहानगरपालिका-१९ आलानगरस्थित सडकमा कन्ठिपुरदेखि आलानगरतर्फ जाँदै गरेको भे.१२ प ९८०२ नम्बरको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-१९ कन्ठिपुर बस्ने ३८ वर्षीय मोहन लाल कामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
- दाङ, घोराही उपमहानगरपालिका-१६ गुर्जेखोला पुलस्थित सडकमा रा.२ प ६१६३ नम्बरको मोटरसाइकल र रा.८ प ३४१ नम्बरको मोटरसाइकल शनिबार बिहान एकआपसमा ठक्कर खाँदा रा.८ प ३४१ नम्बरको मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका-६ बस्ने २२ वर्षीय बिबेक सुबेदीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका रा.२ प ६१६३ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
- सिराहा, लहान नगरपालिका-१२ भोटिया चोकमा धनगढिबाट लहानतर्फ आउँदै गरेको प्र.२-००३ प २९० नम्बरको मोटरसाइकल शुक्रबार साँझ दुर्घटना हुँदा चालक धनगढीमाई नगरपालिका-२ बस्ने २३ वर्षीय बिबेक साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।
- सुनसरी, दुहवी नगरपालिका-७ फर्साइस्थित सडकमा प्र.१-०२-००३ त ३३११ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरका सवार दुहवी नगरपालिका-७ बस्ने ६० वर्षीया देउ कुमारी खाँ को मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
- जाजरकोट, कुसे गाउँपालिका-५ दम्दलास्थित सडकमा दम्दलाबाट पांचकाटियातर्फ आउँदै गरेको रा.१ त ४४७१ नम्बरको ट्याक्टरको ठक्करबाट भेरी नगरपालिका-२ तिमिले बस्ने लक्ष्मण सिहको छोरा १५ वर्षीय सन्तोष सिहको शुक्रबार साँझ घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।