कल्पनाशील भागीरथी श्रेष्ठको साहित्यिक यात्रा

‘मान्छेहरूले मनका भावनालाई कम्प्युटरमा पो कसरी टाइप गर्छन् होला ! टाइप गरिरहँदा भावनाहरू लुक्ने पो हुन् कि भन्ने लाग्छ मलाई त,’ आख्यानकार भागीरथी श्रेष्ठ आफ्नो हस्तलिपिमा विश्वास गर्छिन् । विज्ञान र प्रविधिको विकासले मानिसलाई कतै यान्त्रिक र भावनाहीन त बनाउँदै छैन ? भागीरथीलाई यस्तै शंका छ सायद ।
१८ वर्षको उमेर (२०२३ साल) मा ‘प्रबल इच्छा’ शीर्षकको कथा ‘रुरु’ पत्रिकामा प्रकाशन गरी नेपाली साहित्याकाशमा उदाएकी भागीरथी श्रेष्ठ (जन्म ः २००५ साल) का जम्माजम्मी सात कथासंग्रह, दुई उपन्यास, तीनवटा बाल कथासंग्रह र एउटा लघुकथा संग्रह प्रकाशित छन् ।
गत साताको भेटमा उनले आफ्नो साहित्यिक यात्रालाई सम्झिइन् । पहिलो कथा छापिएको करिब ११ वर्षपछि अर्थात् २०३४ सालमा उनको पहिलो कृति मालती उपन्यास प्रकाशित भयो ।
पहिलो उपन्यास ‘मालती’को कथा सत्य घटनामा आधारित भएको श्रेष्ठ बताउँछिन् । एकपटक उनकी सासुलाई भेट्न पाल्पाको फोक्सिङ गाउँबाट १०–१२ वर्षकोे छोरा लिएर एउटी महिला काठमाडौँ आएकी थिइन् । ती महिलाले श्रेष्ठकी सासुलाई ‘भाउजू’ सम्बोधन गरेकी थिइन् । उनीहरू एक दिन मात्रै बसेर पाल्पा फर्किए । उनीहरू गएपछि भागीरथीले सासुसँग ‘उनी को हुन्’ भनेर सोधिन् । सासुबाट ती महिलाको कथा सुनेपछि उनले उपन्यास नलेखिरहन सकिनन् । ती महिलाले भारतमा भोगेका दर्दनाक घटनाक्रम नै मालती उपन्यासमा आएका छन् ।
त्यसअघि उनी कहिल्यै भारत गएकी थिइनन् । पात्र वास्तविक भए पनि भारतीय परिवेश उनले कल्पनुपर्ने भयो । ‘कल्पनामा डुबेर लेख्दै गर्दा कति दिन त म बिरामी नै परेँ,’ उनी भन्छिन्, ‘ती महिलासँग कुरा गर्न पाएको भए धेरै कुरा सोध्ने थिएँ, लेख्न पनि सहज हुन्थ्यो होला । सासुको मुखबाट सुनेको ‘रे’को कुरालाई उपन्यासमा ढाल्न सहज थिएन ।’
कल्पनाशील श्रेष्ठले उपन्यास तयार पारेरै छाडिन् । पाण्डुलिपि पढ्न उनले मोदनाथ प्रश्रित र कवि रामचन्द्र भट्टराईलाई दिएकी थिइन् । उनीहरूको सुझाव अनुसार उनले उपन्यासको अन्त्यलाई केही परिमार्जन गरिन् ।
त्यतिबेला नेपालमा छापाखाना त्यति फस्टाएका थिएनन् । केही छपाउनुपरे बनारस पुग्नुपथ्र्यो । श्रेष्ठको आफ्नै खर्चमा बनारसबाट उपन्यास छापियो । उपन्यास छपाउने जिम्मा भने उनका श्रीमान्ले मोदनाद प्रश्रितलाई दिएका थिए । कृति छपाएर ल्याउन जम्माजम्मी ६ हजार रूपैयाँ खर्च भएको उनी बताउँछिन् ।
नवीन चेतको यथार्थवादी त्यस उपन्यासले छिटै पाठकको मन जित्यो । त्यति बेलाका नाम चलेका साहित्यकारसहित कैयौँ पाठकले उपन्यासको प्रशंसा र चर्चा गरेका थिए । गोरखापत्र लगायत काठमाडौँमा त्यतिबेला चलेका पत्रपत्रिकामा उपन्यासबारे समीक्षा आएका थिए ।
उपन्यासमा भारतको एउटा ठाउँको नाम उनले गलत लेखेकी रहिछिन् । तर विषयवस्तु, भाषाशैली स्तरीय भएकाले त्यस त्रुटिलाई त्यति धेरै महत्त्व नदिइएको उनी बताउँछिन् । अरु मानिसले बताएको, पत्रपत्रिकामा लेखिएको आधारमा उनले आफू नगएको ठाउँको वर्णन गरेकी थिइन् । यस्तै, त्यस ठाउँको बोलीचाली वा सामान्य व्यवहारलाई लेखनमा ल्याउँदा केही सामान्य त्रुटि हुन पुगेका थिए । ती पुराना त्रुटिलाई परिष्कृत गरेर मालतीको दोस्रो संस्करण ल्याउने तयारीमा उनी छन् ।
- साहित्यिक यात्रा
गुल्मीको रिडीमा जन्मेकी भागीरथीले स्नातकसम्मको शिक्षा हासिल गरेकी छन् । विवाहके केही वर्षपछि उनले ‘सामाजिक सेवा समन्वय परिषद् तारागाउँ विकास समिति’मा १४ वर्ष जागिर गरिन् ।
भागीरथीका पिता हुलाकका हाकिम थिए । छोरीले पढ्नुपर्छ र नाम कमाउने काम गर्नुपर्छ भन्ने उनको सोच थियो । साहित्यमा अगाडि बढाउन उनले कुनै कसर बाँकी राखेनन् ।
एसएलसी पास गरेपछि कहाँ पढ्ने के पढ्ने भन्ने अन्योलमै उनी घरमा बसिरहेकी थिइन् । त्यति बेलासम्म पत्रिकामा उनका दुईवटा कविता छापिएका थिए ।
२०२३ सालमा झापामा ‘राष्ट्रव्यापी कविता गोष्ठी’ भएको थियो । बुवाले उनलाई त्यस गोष्ठीमा भाग लिन पठाए । आमा र भाइलाई साथी लिएर उनी त्यस गोष्ठीमा पुगिन् । वरपर हुने साहित्यिक कार्यक्रम वा गतिविधिमा उनी आमा वा भाइलाई साथमा लिएर पुग्थिन् । ‘मलाई त धेरैले ‘बडीगार्ड लिएर हिँड्ने साहित्यकार’ भनेर जिस्काउँथे नि !’ भागीरथी भन्छिन्, ‘साहित्यमा लाग्न मलाई मेरो परिवार, विशेषतः बुवाको साथ थियो । जागिरे भएकाले बुवालाई साहित्यिक गतिविधिबारे थाहा हुन्थ्यो । त्यहाँ कविता पठाउन वा भाग लिन उहाँले प्रेरित गरिरहनुहुन्थ्यो ।’
पहिलो कथा छापिएको करिब २० वर्षपछि अर्थात् २०४३ सालमा उनको पहिलो कथासंग्रह ‘क्रमशः’ आयो, साझा प्रकाशबाट । यस संग्रहमा संग्रहित सबै (१५ वटा) कथा पत्रपत्रिकामा प्रकाशित हुन् । यी कथा २०३८ देखि २०४१ को बिचमा छापिएको देखिन्छ ।
बिहेपछि केही समय भैरहवामा बस्दा उनी कम्युनिस्ट विचारधाराबाट प्रभावित भइन् । गीत–कवितामा पनि विद्रोही भावना पोख्थिन् । ‘क्रमशः’ कथा संग्रहका कथामा विशेषतः नारीवादी स्वर मुखरित छन् ।
सासुबाट ती महिलाको कथा सुनेपछि उनले उपन्यास नलेखिरहन सकिनन् । ती महिलाले भारतमा भोगेका दर्दनाक घटनाक्रम नै मालती उपन्यासमा आएका छन् । त्यसअघि उनी कहिल्यै भारत गएकी थिइनन् । पात्र वास्तविक भए पनि भारतीय परिवेश उनले कल्पनुपर्ने भयो ।
आफ्ना हरेक कथा अनि उपन्यासमा स्त्री पात्रलाई निकै सशक्त ढंगले उभ्याउने आख्यानकार भनेर चिनिन्छिन् भागीरथी श्रेष्ठ । उनका हरेक कथाले नारीसुलभ सूक्ष्म अनुभूति बोकेका हुन्छन् । हरेक पात्रले आ–आफ्नै इच्छा–आकांक्षा, असन्तुष्टि र मनोव्यथा बोकेर हिँडिरहेका हुन्छन् । हरेक कथामा उनले नारी पात्रको मनोविश्लेषणलाई सूक्ष्म तरिकाले केलाएको पाइन्छ ।
‘यी पन्ध्र कथामध्ये दशले नारीको पक्षबाट पति र सन्तानप्रति राखिने दृष्टिकोणलाई उपस्थित गरेका छन्,’ क्रमशः कथा संग्रहमाथि डा. तारानाथ शर्माले भूमिका लेखिका छन्, ‘समर्पण र मरुभूमिको एउटा फूल कथामा नारीलाई पुराना परम्परासित जुध्ने क्रान्तिकारी पात्रका रूपमा प्रस्तुत गरिएको छ । ...मनोविश्लषणात्मक कथा लेख्ने आजका थोरै मात्र सफल कथाकारहरूमा भागीरथी श्रेष्ठको नाउँ पहिलो कोटिमा आउँछ ।’
‘क्रमशः’पछि उनका मोहदंश (२०४४), विभ्रम (२०४९), रंगीन पोखरी (२०५०), भूमिगत (२०६२) र रातो गुलाफ (२०६६) कथा संग्रह आयो । यस्तै, उनको दोस्रो उपन्यास हो, एउटा यस्तो आकाश (२०४६) ।
पहिलो कृतिबाहेक उनले आफ्नै पैसाले कुनै कृति छाप्नुपरेन । ‘क्रमशः’ कथा संग्रह छापेका बेला साझा प्रकाशनले आफूलाई सात हजार नगद र केही थान कृति दिएको उनलाई सम्झना छ । यसपछि पनि उनले आफ्ना कृतिबाट फाट्टफुट्ट केही रकम पाएकी छन् ।
श्रेष्ठले हिमांशु जोशीको हिन्दी उपन्यास ‘कगार की आग’लाई अनुवाद गरेर ‘अग्नि पर्व’ शीर्षकमा छपाएकी छन् । यो अनुवादित कृतिले पनि निकै चर्चा पाएको श्रेष्ठ सुनाउँछिन् ।
श्रेष्ठले जति साहित्यिक सिर्जना गरेकी छन्, त्यो अनुसारको सम्मान पनि पाएकी छन् । राष्ट्रिय प्रतिभा पुरस्कार २०५७, रत्नश्री सुवर्ण पदक २०४३, गरिमा पुरस्कार २०६४, मैनाली कथा पुरस्कार २०४८, गोभा साहित्य पुरस्कार २०६८, महाकवि देवकोटा पुरस्कार २०७२, पारिजात स्मृति साहित्य मितेरी सम्मान २०६२ आदि उनले पाएका महत्त्वपूर्ण पुरस्कार हुन् ।
- स्याङ्जा बस्दा मालतीको खेस्रा
उनका जागिरे श्रीमान्को सरुवा भइरहन्थ्यो । श्रीमान्सँगै उनी पनि ठाउँ सरिरहिन्— कहिले पोखरा, कहिले दार्चुला, कहिले स्याङ्जा । बिहेपछिको १० वर्षसम्म श्रेष्ठको लेखन लगभग ठप्पप्रायः भयो । स्याङ्जामा रहँदा भने उनले अलिक बढी साहित्यिक वातावरण पाइन् । स्याङ्जा बस्दा मालती उपन्यासको खेस्रा तयार पारेको उनी बताउँछिन् ।
पछि आफैँ जागिरे भएपछि उनलाई समय व्यवस्थापन गर्न हम्मे पर्यो । लेखनका लागि समय दिन नसकेपछि उनले घरमा सहयोगी समेत राखिन् । यसपछि काठमाडौँका पत्रपत्रिकामा उनका कथाहरू छापिन थालेका थिए । मधुपर्कमा छापिएको एउटा कथा पढेपछि तारानाथ शर्माले उनलाई भनेका थिए — पात्रको मनोविज्ञान मज्जाले उतार्नुभएको छ ।
गरिमाका सम्पादक विष्णुविभु घिमिरेले पनि प्रकाशनका लागि श्रेष्ठसँग नियमित रूपमा कथा माग्ने गरेका थिए । आरोहण, रूपरेखा, रत्नश्री, उत्साह लगायत त्यतिबेला चल्तीका कैयौँ पत्रिकामा उनको प्रशस्तै कथा छापिएका छन् ।
‘कथाको माग यति धेरै आइरहेका थिए कि कहिले त मैले दिनै भ्याउँदिनथेँ । त्यति बेला म हरेक दिनजस्तो कथा बुन्ने वा रफमा रहेको कथाको साफी गर्दैमा बिताउँथेँ,’ भागीरथी आफ्नो गतिशील जीवन भन्छिन्, ‘अहिले त खोइ के भयो, सायद बुढ्यौलीले गर्दा पनि होला, खासै लेख्न सकेकी छैन ।’
अहिलेसम्म आफूले कति कथा लेखेँ भन्ने श्रेष्ठलाई याद छैन । कापीमा लेखेर राखेका कतिवटा कथाहरू त कापीसँगै हराए । ‘कतिपय अपुरा कथाले अहिले पनि मलाई पर्खिरहेका छन्,’ उनी भन्छिन्, ‘समय मिलेसम्म यी कथालाई पूरा गरेर कृतिको रूप दिन्छु ।
सुरुमा श्रेष्ठले कविता, गीत, लघुकथा लगायत साहित्यका सबै विधामा कलम चलाइन् । शैलेन्द्र साकारले सम्पादन गरेको कृति ‘नारी हस्ताक्षर’मा पारिजात, माया ठकुरी, पद्या सिंह, अंगुरबाबा जोशी, भागीरथी श्रेष्ठ, वानिरा गिरी, भुवन ढुंगाना लगायत त्यतिबेलाका नारी साहित्यकारको चर्चा थियो । त्यहाँ समग्रमा आफूलाई साहित्यकार मात्रै सम्बोधन गरेको पाएपछि उनलाई लाग्यो, एउटा विधा समाएर लेख्नुपर्छ । त्यसपछि उनले आख्यान (विशेषतः कथा)मा अनवरत कलम चलाउन थालिन् ।
उनले आजसम्म जेजति लेखेकी छन्, सबै हातैले लेखेकी हुन् । समाजमा हुने विभिन्न घटना वा कथाले उनलाई छुन्थ्यो, छुन्छ । भावनाहरू छताछुल्ल भएका बेला उनले सुरुमा कापीको पानामा खेस्रा गर्छिन् र पछि त्यसलाई साफी गर्न समय लगाउँथिन् ।
टाइपराइटर वा कम्प्युटरमा टाइप गर्नुभएन, दिदी ? यसको जवाफमा उनले हाँस्दै भनिन्, ‘केको टाइप हो ? अहिलेसम्म लेखन्ती नै हो । हातैले हो, रफ र फियर त कति हो कति ! त्यसरी लेखेका पानाको डंगुर नै थियो घरमा । अब कति नै लेखुँला र भन्ने सोचेर अस्ति भर्खरै केही त बेचेर पठाएँ ।’
(‘पहिलो प्रस्रव’ रातोपाटीको यस्तो स्तम्भ हो, जसमा मूलतः महिला लेखकले पहिलो कृति जन्माउन गरेको संघर्ष वा कोसिसको कथा आउँछ । –प्रधानसम्पादक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शीतलनिवास पुगे प्रधानमन्त्री, वार्षिक प्रतिवेदन पेस
-
न्युजिल्यान्डसामु निरीह बन्यो पाकिस्तान, शृङ्खला पनि गुमायो
-
तेस्रो एमआरसिपी युके पेसेस परीक्षा नेपाल मेडिसिटीमा सम्पन्न
-
अक्टोबर ७ को हमलापछि बढ्यो मिलिट्री ट्रेन्ड कुकुरको माग
-
सांसद चन्दको प्रश्न: शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो
-
अब स्ववियु निर्वाचन यसरी गरौँ