आइतबार, १० चैत २०८१
ताजा लोकप्रिय
रातोपाटी साताको कविता

ज्योति जङ्गलका तीन कविता

शनिबार, ०९ चैत २०८१, १९ : ००
शनिबार, ०९ चैत २०८१

१) राधारूप

अर्को प्राण थपिएर एउटा प्राणमा 
फूल भएको हृदय बोकेकी 
अर्को आवाज भरिएर आफ्ना आवाजमा
प्रीत छरेर बोलिरहेकी ।

तिमीले धरतीभरि, या
कहीँकतै बतासको सुगन्धभरि भेटिहाल्यौ भने
यस्ती प्रेमिका स्त्री
त्यो अरु कोही होइन 
कि राधा भेटिएकी हुन्
या म नै भेटिएकी हुँ ।

एउटा प्रश्न मलाई सोधिरहन्छ स्वयं
कृष्ण आफ्नै शरीरको भयले भागेका हुन् कि राधासँग ?
शक्तिको सर्वोच्व भएर पनि
डराएका पो हुन् कि
शरीर सकिएपछि सकिने मायासँग ?!

भोगका लागि सहादत हुने
स्याहारका लागि स्वामित्व रहने
लीलामय प्रेमको पटाक्षेपदेखि 
खुब आत्तिएर भागे हुनन् कृष्ण मथुरातिर ?

जीवनको प्रेम अध्यायमा 
अबला छ पुरुषत्व भन्नु थियो कि उनलाई ?
प्रेमी कसरी पुरुषोत्तम हुने चाह राख्छ 
देखाउनु पो थियो कि उनलाई ?
नत्र त हजारौँ गोपिनीसत्त्व साथी बनाएर सुरक्षाको नाममा
शक्तिलाई झुकाउन सक्नेले
कसरी पो हत्याए रुक्मिणीलाई ?
तर स्वामित्वको सत्ताबाट
बचाए राधाप्रेम युगान्तकारी आयु दिएर ।

कसैको आँसु स्याहार्न पनि
मुटु आकाश हुनुपर्छ
कसैको प्रेम सकार्न पनि
उसको सर्वस्व स्विकार्नुपर्छ ।

बडो मुस्किल हुन्छ मायाले निदाइरहेकी राधालाई ब्युँझाउन,
बडो आत्मिक हुन्छ 
माया न्यौछावर गरिरहेकी प्रेमिकाबाट पार पाउन,
अनि त उत्रिए कृष्ण
आउने अगणित युगलाई राधाको प्रेम उपहार दिएर ।

अर्को अनुहार बाँचेर स्वयंको अनुहारमा
अर्को मुस्कान थपेर आफ्नै ओठमा
कोही भेट्यौ भने मुस्कुराइरहेकी,
त्यो अरु कोही होइन,
कि राधा भेटिएकी हुन्
या म नै भेटिएकी हुँ ।

२) धन्यवाद !

तिमीलाई दिनुपर्ने ओक धन्यवादहरू छन् ।

यसरी माथि सत्तामा बसेर
मेरो चुल्ठो नतानिदिएको भए,
जीवनको गोरेटोलाई यति धेरै घुमाउरो
असुरक्षित र भयाभव नबनाइदिएको भए,
यात्रामा,
प्रत्येक पाइला सङ्घर्ष गरेर
मेरो अस्तित्व घिसार्नुनपरेको भए
यति बलवान् हुने थिइनँ म
हिँड्ने कुनै बाटो बन्ने थिएन ।

एक धन्यवाद यसरी सम्झन्छु जन्मको,
कुनै भ्रूण परीक्षणमा नपरी
म सग्लो जन्मिन पाएँछु,
एक धन्यवाद यसरी सम्झन्छु कर्मको
कसो–कसो कुनै बलवान् नङ्ग्राहरूले
नचिथोरी, म दागहीन हुर्किएँछु ।

माटो बेरिएर दरिएका यी हल्केलाले
पृथ्वीबाट जिवन्त भरोसा पाए,
पसिनाले भिजेको पितृ चेहरा
सत्यले सिँचेको मातृवात्सल्य
मेरा आँखामा ज्योति भएर भरिए
मसँग यी ज्योतिका लागि दिने
कुनै धन्यवाद प्राप्य छैन ।

नत्र त,
बचेकुचेका संस्कारका सिस्नुभित्र
आँसुको पानीमा रुझेर
मैले काम्दै–काम्दै जोगिएर
कसरी पो सत्त्व लिई यहाँसम्म आएँ ?
चुपचाप चुपचाप बोल्न नपाएर
च्यापुमै टाँसिएको मेरो जिब्रो उक्काएर
शब्दहरूले बोली भरेँ ।

अब बुलन्द भएको छु ।

एउटा गारेटो कोरिएको छु
एउटा स्थिरता चुलिएको छु
नडराई हिँडुन् आउने पुस्ता,
र डराउन् डराउनु पर्नेहरू भनेर
एउटा खबरदारी उभिएको छुु 
धन्यवाद दिन सक्ने भएको छ साहस ।

तिमीलाई थाहा भएका कारण,
तिमीलाई थाहै नभएका कारण,
अनि, अनेक अनाम कारणका प्रति
धन्य भएर दिइरहेछु अनन्त धन्यवाद
प्रतिरोध भएर दिइरहेछु अदबमा धन्यवाद
तिमीलाई धन्यवाद । 

३) अब कोसँग रिसाउनु ?

नरिसाउनू कसैसँग
आफूसँग त झन् कहिल्यै नरिसाउनु ।

यसै भनेर रिसाइनँ देशसँग,
देशभित्र चलिरहेकोे मेरो भग्न जिन्दगीसँग
पासपोर्टको दाम्लोले बाँधेर
दास अवतारमा
छोराछोरी मुङ्लान खेद्ने
सरकारसँग पनि रिसाइनँ ।

पसिना चढाएँ तर यो माटो अझै सुक्खा हुँदै गयो
बाँझा भए खेत खलियान
मौनता चढाएँ तर छाती चित्कारले भरिइरह्यो 
उमेर चढाएँ र वृद्धतामा झन्–झन् असुरक्षित हुँदै गएँ ।

बल्ल पो थाहा पाएँ
देशवालाहरू त
देशवासीको तस्करी गर्न वर्षौं वर्षदेखि व्यस्त रहेछन्,
अब देशसँग कसरी आँखा जदाउनु ?
अब कोसँग रिसाउनु ?

सुकिसकेको पसिना कसरी उबाउनु ?
बितिसकेको जिन्दगीसँग कसरी रिसाउनु ?
पर्खेर सकिएको समय कसरी फर्काउनु ?
अब पछुताएर 
के म आफैँसँग रिसाउनु ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योति जङ्गल
ज्योति जङ्गल
लेखकबाट थप

छुटाउनुभयो कि ?