बाबुराम, सीके र रेशम चौधरी नेतृत्वको पार्टीबिच एकता गर्ने तयारी

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउत र नेपाल समाजवादी पार्टी (नयाँ) शक्तिकी नेतृ मानुषी यमी भट्टराईले नागरिक जनमुक्ति पार्टीको केन्द्रीय समितिको बैठकमा पुगेर पार्टी एकताका लागि शुभकामना दिएका छन् । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक शुक्रवारदेखि सुरु भएको छ ।
आज दोस्रो दिनको बैठकमा पुगेर राउत र भट्टराईले शुभकामना दिएका हुन् । बैठकमा शुभकामना दिनका लागि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईलाई आग्रह गरिएको थियो । तर भट्टराईले छोरी मानुषीलाई पठाएर शुभकामना दिन लगाएका हुन् ।
यसरी शुभकामना दिन आउनुको सङ्केतले तीन दल बिचमा एकता गर्ने तयारी भइरहेको पुष्टि गरेको छ । एकताका लागि डा.सिके राउत र रेशम चौधरीले अध्यक्ष भट्टराईसँग प्रस्ताव गरिसकेका छन् । एकताप्रति अध्यक्ष भट्टराई सकारात्मक रहेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीले बताए ।
उनले आजको केन्द्रीय समिति बैठकमा नै अध्यक्ष भट्टराई एकताप्रति सकारात्मक रहेको बताएका छन् । उनले भट्टराईको भनाई उद्धृत गर्दै भने, ‘तपाईंहरु एकता गरेर अगाडि बढ्नुस् म पनि पछि पछि आइपुग्छु भन्नुभएको छ ।’
संरक्षक चौधरीले जनमुक्ति पार्टीसँग एकीकरणको प्रक्रिया अगाडि बढी सकेको समेत बताए । एकीकरणको कुरा अगाडि बढ्दा धेरैले लक्ष्मण थारु र विजयकुमार गच्छदारको जस्तो पार्टी नबिसाउनुहोला भन्ने सुझाव समेत आइरहेको उनको भनाई छ । उनले नागरिक उन्मुक्ति पार्टीले जनमत पार्टीसँग पार्टी नबिसाएको दाबी समेत गरे ।
जनमत पार्टीका अध्यक्ष राउतले रेशम चौधरीसँग धेरै पहिलादेखि एकीकरणका लागि कुराकानी भइरहेको बताए । ‘२०७९ को चुनावभन्दा पहिला नै एकीकरण भएको भए मधेसमा यो भन्दा राम्रो नतिजा आउँथ्यो र पार्टी देशको नेतृत्वमा पुग्थ्यो’ राउतले भने, ‘३२ सीटले देशको नेतृत्व गर्न सक्छ भने थारु र मधेसीको छोराले पनि देशको नेतृत्व गर्न सक्थ्यो । अब त्यस्तो गल्ती गर्न हुँदैन चाँडै नै एकीकरण गरेर अगाडि बढ्नुपर्छ ।’
एकताका लागि सबै कुरामा सहमति हुने बताउँदै उनले कसैलाई कुनै प्रकारको दबाब नहुने समेत बताए । उनले नागरिक उन्मुक्ति पार्टीका नेताहरूलाई गर्व गर्न लायकको व्यवस्था गर्ने समेत स्पष्ट पारे । उनले भने, ‘तपाईंहरुलाई ढकियामा नै गर्व गर्न लगाउँछौँ ।’
एकीकरण गरेर देशको ठुलो शक्ति बनेर नेतृत्व गर्ने बताउँदै उनले एकीकरणका लागि अब ढिला गर्न नहुने बताए । संरक्षक चौधरीले पनि एकताका लागि ढिलो गर्न नहुने भन्दै त्यसका लागि चाँडै नै प्रक्रिया पुरा गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
उनले आफू पनि राउतजस्तै अमेरिकाबाट नेपाल सम्झेर फर्केको बताउँदै काठमाडौँमा महिनाको एक हजार रुपैयाँ घर भाडा तिर्ने हैसियत नभएका बेला रेडियोमा काम गर्दै अघि बढेर यहाँसम्म आइपुगेको स्मरण गरे ।
‘देशका लागि सङ्घर्ष गर्दै यहाँसम्म आएको हुँ’ उनले भने, ‘जनमत पार्टीसँग एकीकरण गरेर पदमा बस्न चाहँदिन बरु मधेसी, जनजातिहरुका लागि लड्छु’ चौधरीले भने, ‘मलाई एउटै मात्र चाहना छ देश बनाउने, देश बनाउँदा बनाउँदै नेपालमै मर्ने चाहना । उपेन्द्र यादव र अशोक राईले हिमाल, पहाड, तराई जोड्ने सपना देख्नुभएको थियो । उहाँहरूले सक्नुभएन हामीमाथि पनि अहिले त्यस्तै शङ्का गरिएको छ तर त्यसो हुन दिँदैनौ ।’
जनमत र नागरिक उन्मुक्ति पार्टीबिच एकता गर्दा हात मिलाएर मात्र नहुने मन पनि मिल्नुपर्ने बताउँदै उनले आफू र सिके राउतको मन मिलिसकेको बताए । दुवै दलले एकताका लागि कार्यदल गठन गरिसकेको र चाँडै एकताको घोषणा हुने समेत उनले बताए । उनले एकताका लागि वार्ता काठमाडौँमा होइन पश्चिम मधेसको बर्दिया र पूर्वी मधेसको कुनै मुसहर बस्तीमा गर्न अध्यक्ष राउतसँग समेत प्रस्ताव गरे ।
एकताका लागि दुवै पार्टीले कार्यदल गठन गरिसकेका छन् । नागरिक उन्मुक्ति पार्टीकाे आजको बैठकले त्यसको आधिकारिक घोषणा गर्नेछ । चौधरी र राउतले तयार गरेको सहमतिको दस्ताबेजबारे बैठकमा छलफल हुँदैछ । बैठकले पार्टी एकताका लागि आधिकारिक निर्णय गर्ने सो पार्टीका नेता एवं सांसद गंगाराम चौधरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?
-
आज विश्व सम्पदा दिवस मनाइँदै
-
आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित