गोरखा । लालीगुराँसले अहिले पहाडी क्षेत्रको वनपाखा राताम्मे भएका छन्। काठमाडौँ उपत्यकाका वनपाखा तथा देशका पहाडी क्षेत्रमा विभिन्न प्रजातिका रंगीविरंगी लालीगुराँसले वनपाखासँगै गाउँबस्ती नै झिलिमिली बनाएको छ ।
गोरखा जिल्लाको धार्चे गाउँपालिकाको गुप्सिपाखा क्षेत्रमा फुलेको लालीगुराँसले हरियो जंगललाई लाली लगाउने र सुन्दरता बढाउने समेत गरेको छ, जसका कारण सो क्षेत्रमा पर्यटकहरूको आकर्षण बढ्न थालेको छ ।
राता रङका लालीगुराँस र गुलाबी, सेता र पहेँला लगायत प्रजातिका गुराँस यहाँ पाइन्छ। जिल्लाकै दुर्गम र उत्तरी भेगमा पर्ने यस क्षेत्रमा लालीगुराँस र हरियाली पहाडले पर्यटक तान्नुका साथै यस क्षेत्रलाई शोभनीय पनि बनाएको छ। वनस्पतिविद्हरूका अनुसार लालीगुराँस समुद्री सतहबाट १ हजार ३ सयदेखि ४ हजार ६ सय मिटर उचाइमा पाइन्छ।
यद्यपि चैत पहिलो सातादेखि फुल्ने यो फूल जलवायु परिवर्तनको असरले अचेल माघ–फागुन महिनामै फुल्न थालेको छ। लालीगुराँसको रूख १० सेन्टिमिटरदेखि ३० मिटरसम्म अग्लो हुन्छ। संसारभरि १ हजारभन्दा बढी प्रजातिमा पाइने यो फूललाई अंग्रेजीमा रोडोडेनड्रन भनिन्छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
प्रतिक्रिया