के अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीको हत्यामा इजरायलको हात छ ?

गत सोमबार अर्थात् १७ मार्च २०२५ का दिन अमेरिकी सरकारले पूर्वराष्ट्रपति जोन एफ. केनेडीको हत्यासँग सम्बन्धित अतिगोप्य दस्ताबेजहरू सार्वजनिक गरेको छ । ६२ वर्ष अघि भएको उक्त हत्याकाण्डबारे आज पर्यन्त विविध अड्कलबाजी हुने गरेका छन् ।
६३ हजार ४ सय पृष्ठका यी दस्ताबेजको सँगालोलाई ‘द प्रेसिडेन्ट जोन एफ केनेडी एसासिनेशन रेकर्ड कलेक्सन’ नाम दिइएको छ । अहिलेसम्म गोप्य राखिएका यी दस्ताबेजले पूर्वराष्ट्रपति केनेडीको हत्यामा संलग्नहरूको विवरण सार्वजनिक हुने अनुमान गरिएको छ ।
संसारभरका महत्त्वपूर्ण सञ्चारमाध्यम तथा अनुसन्धानको क्षेत्रमा काम गर्ने संस्थाहरूले औपचारिक वा अनौपचारिक अध्ययन समिति नै गठन गरेर यी दस्ताबेजको मसिनो अध्ययन गरिरहेका छन् । प्रारम्भिक रूपमै सार्वजनिक भएका केही जानकारीले विश्वभरको सार्वजनिक वृत्तमा तरङ्ग पैदा गरिदिएको छ ।
सन् ६० को दशकमा अमेरिका चार वटा ठुला हत्याकाण्ड भएका थिए । जसमा राष्ट्रपति केनेडीका अलावा विभिन्न फरक मितिमा अभियन्ताहरू मेल्कम एक्स, मार्टिन लुथर किङ जुनियर लगायत थिए । यसैगरी डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार तथा हत्या गरिएका राष्ट्रपति केनेडीका भाइ रोबर्ट एफ केनेडीको पनि निर्वाचन अभियानकै दौरान हत्या भएको थियो ।
केनेडीको हत्याकाण्ड संसारकै सबैभन्दा रहस्यमय र चर्चित हत्याकाण्डमा पर्छ । हत्या लगत्तै गठन भएको आयोगले दिएको प्रतिवेदनमा अधिकांश अमेरिकीले आज पर्यन्त विश्वास गर्न सकेका छैनन् । आम अमेरिकीहरूको शङ्काको सुई तत्कालीन सोभियत संघ, क्युवा, सीआईए तथा इजरायलतिर सोझिने गरेको छ ।
अमेरिकामा इजरायल लवि निकै प्रभावी मान्ने गरिन्छ । यसबारे प्राध्यापक जोन जे मेइरसाइमर र स्टेफेन जे वाल्टले त ‘द इजरायल लवि एन्ड युएस फरेन पोलिसी’ नामकको चर्चित पुस्तक नै लेखेका छन् । पुस्तकमा अमेरिकी विदेश नीतिमा इजरायल लविको दबदबाबारे उल्लेख गरिएको छ ।
केनेडी हत्यासँग सम्बन्धित दस्ताबेजहरू सार्वजनिक गर्न अमेरिकामा लामो समयदेखि माग उठिरहेको भए तापनि हालसम्म ती दस्ताबेज सार्वजनिक गरिएका थिएनन् । यसलाई मानिसहरूले इजरायल लविसँग जोडेर हेर्ने गर्थे तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निर्वाचन अभियानकै क्रममा आफू निर्वाचित भए केनेडी, मार्टिन लुथर लगायतका हत्यासँग सम्बन्धित फाइलहरू सार्वजनिक गर्ने बताएका थिए ।
त्यही भएर ट्रम्प प्रशासनले यी दस्ताबेजहरू सार्वजनिक गरिदिएको हो । सामान्यतयाः अमेरिकामा २५ वर्षमा गोप्य दस्ताबेजहरू ‘डि–क्लासिफाई’ अर्थात् सार्वजनिक गर्ने गरिन्छ भने अतिगोप्य दस्ताबेजहरू भने ५० वर्षमा मात्रै सार्वजनिक गर्ने गरिन्छ ।
तर, केनेडी हत्यासँग सम्बन्धित फाइल भने ६ दशकभन्दा धेरै समयदेखि गोप्य राखिएको थियो । सार्वजनिक दस्ताबेजहरू अहिले अमेरिकी आर्काइभको वेबसाइटमा उपलब्ध छन् ।
- केनेडी हत्याको पृष्ठभूमि र जाँच कमिटी
अमेरिका शीत युद्धको दबाबमा थियो । निरन्तरजसो आइरहने सोभियत संघको प्रगतिका खबरले पश्चिमा समाज तरङ्गित भइरहेको थियो । यसैबिच सन् १९६० मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा तत्कालीन उपराष्ट्रपति रिचर्ड निक्सनलाई हराउँदै जोन एफ केनेडी विजयी भए ।
उनी अमेरिकी राष्ट्रपति बन्ने पहिलो रोमन क्याथोलिक थिए । यसअघि अमेरिकी राज्य म्यासेचुएट्सको तर्फबाट सिनेट सदस्य रहिसकेका उनी अमेरिकी इतिहासमै पहिलो पटक भएको टेलिभिजन बहसमार्फत लोकप्रिय उम्मेदवारका रुपमा अगाडि आएका थिए ।
हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेका केनेडीले दोस्रो विश्वयुद्धमा अमेरिकाको तर्फबाट एसिया–प्रशान्त क्षेत्रमा जलसैन्य क्षेत्रमा कमान्डरको रूपमा काम गरेका थिए । उनले कमान्ड गरेको ‘पीटी–१०९’ नाम गरेको त्यस समयको अत्याधुनिक ‘टोर्पेडो बोट’ दुर्घटनामा उनी बाँच्न सफल भएका थिए ।
पछि गरिएको उद्धारमा बाँच्न सफल भएकै कारण अमेरिकाको सबैभन्दा ठुलो पदकमध्ये एक ‘नेभी एन्ड मरिन कप्र्स मेडल’ पाएका थिए उनले । यसले उनलाई युद्धमा बाँच्न सफल नायकको छवि प्रदान गरेको थियो । व्यक्तिगत सम्बन्धमा सहज र मुखर केनेडीले पुस्तकसमेत लेखेका थिए ।
अमेरिकाको राजनीतिमा दलीय सीमा नाघेर साहसी काम गरेका नेताहरूबारे उनले लेखेको पुस्तक ‘प्रोफाइल्स इन करेज’ले प्रतिष्ठित पुलित्जर पुरस्कार हात पारेको थियो । अमेरिकी जनतामाझ लोकप्रिय मानिने केनेडी झिनो मतान्तरसहित ४३ वर्षकै उमेरमा अमेरिकाको ३५औँ राष्ट्रपति भएका थिए ।
राष्ट्रपतिको कार्यकाल सकिनु एक वर्ष अघिबाटै उनी निर्वाचनको अभियानमा थिए । यसैक्रममा २२ नोभेम्बर १९६३ का दिन उनी टेक्सासको डल्लासस्थित डिली प्लाजा हुँदै अघि बढ्दै गर्दा स्नाईपरबाट गोली चल्यो । गोली केनेडीको टाउको चिर्दै अर्कोतर्फबाट निस्कियो ।
केनेडीको छेवैमा उनकी पत्नी ज्याकलिन बसेकी थिइन् । केनेडीको टाउकोबाट उछिट्टिएको रगत श्रीमती ज्याकलिनको निधारसम्म पुग्यो । उनको कारगेडमा टेक्सास राज्यका गभर्नर जोन कोनाली तथा उनकी श्रीमती नेलीसहितका व्यक्तिहरू थिए ।
तर, बन्दुकको नालबाट निस्किएको गोलीले अति सुरक्षित मानिएका अमेरिकी राष्ट्रपतिको इतिहासलाई उल्ट्याइदिएको थियो । सडकमा उभिएका दर्शक, केनेडीको सुरक्षामा खटिएका सुरक्षाकर्मी हुँदै सिङ्गो मुलुक स्तब्ध थियो । केनेडीलाई तत्काल पार्कल्यान्ड मेमोरियल अस्पताल लगियो । अस्पतालमा डाक्टरहरूले उनको मृत्युको घोषणा गरे ।
त्यसको केहीबेरमै उपराष्ट्रपति लिन्डन बी. जोनसनले राष्ट्रपतिको कार्यभार ग्रहण गरे । उता हत्यामा संलग्न व्यक्ति त्यहाँबाट भागेर आफ्नो घर पुगे । घरमा पुगेर आफूसँग भएको पेस्तोल लिएर उनले थप एक जना टेक्सास प्रहरीको हत्या गरे ।
पक्राउ परेपछि बल्ल थाहा भयो, गोली चलाउने व्यक्ति अमेरिकी जलसेनाका पूर्वसिपाही २४ वर्षे ली हार्वे ओस्वाल्ड थिए । ओस्वाल्डमाथि प्रहरीले अनुसन्धान गरिरहँदा अचानक एक दिन ओस्वाल्डको पनि हत्या भयो । त्यसपछि प्रहरीले ओस्वाल्डको हत्या गर्ने व्यक्ति रुबीको अनुसन्धान गरिरहेको थियो । सन् १९६७ मा उनको पनि मृत्यु भयो ।
हत्यामा संलग्न मुख्य व्यक्तिहरू नै एकपछि अर्कोगरी मारिन थालेपछि केनेडी हत्याको अनुसन्धान अन्योलमा पर्यो । त्यसपछि केनेडी हत्याबारेका अनेकौँ अडकलबाजी अमेरिकी समाज हुँदै संसासरभर सनसनीका रूपमा फैलिन थाले ।
यसमा घिउ थप्ने काम गरे भर्खरै नियुक्त भएका राष्ट्रपति लिन्डन बी जोन्सनले । उनैको प्रशासनले २९ नोभेम्बरका दिन पूर्वप्रधानन्यायाधीश अर्ल वारेनको नेतृत्वमा अनुसन्धान आयोग गठन गर्यो । करिब एक वर्ष लामो अध्ययन–अनुसन्धानपछि वारेन आयोगले केनेडी हत्यामा ओस्वाल्डमात्रै संलग्न रहेको तथा अन्य कुनै षड्यन्त्रको प्रमाण नभेटिएको निष्कर्ष निकाल्यो ।
पछि भएका केही अनुसन्धानहरू जस्तै, रकफेलर आयोग, चर्च कमिटीले पनि वारेन आयोगकै निष्कर्ष सही भएको निचोड दिए । यसले संसारभर विविध प्रकारका प्रतिक्रिया सिर्जना गर्यो । केनेडी हत्याको अनुसन्धानको प्रतिवेदनलाई अधिकांश अमेरिकीले सहज मानेनन् । आजसम्म पनि यस हत्याकाण्डबारे विविध कथाहरू चलिरहेका छन् ।
धेरै अध्ययनका अनुसार अधिकांश अमेरिकी नागरिक वारेन आयोगको निष्कर्ष जस्तै ओस्वाल्ड एक्लै यो घटनाको दोषी भएको मान्न तयार छैनन् । केनेडीको हत्यालाई आजका दिन पनि ‘सबैभन्दा ठुलो षडयन्त्र’का रूपमा लिइन्छ अमेरिकी समाजमा ।
- इजरायलतर्फ शङ्का किन ?
राष्ट्रपति केनेडी भर्खरै स्थापना भएको इजरायल र त्यसले सिर्जना गरेको समस्याको समाधान गर्ने सन्दर्भमा प्यालेष्टिनी नागरिकको आवाज पनि सुनिनुपर्ने मत राख्थे । साथै उनलाई इजरायलको सम्भावित आणविक कार्यक्रमको पनि विरोधी मानिन्थ्यो ।
इजरायलको डिमोनामा बन्न लागेको भनिएको आणविक प्रशोधन केन्द्र बन्द गर्न दबाब दिएकै कारण देखाउँदै इजरायलका प्रधानमन्त्री बेल गुरियनले राजीनामा गर्नुपरेको थियो । संयोगवश केनेडीको हत्या बेन गुरियनको राजीनामाको केही दिनमै भएको थियो ।
केनेडीको हत्या लगत्तै कार्यवाहक राष्ट्रपति बनेका जोन्सनले अमेरिकी नीतिलाई इजरायलको नीतिसँग प्रस्ट रूपमा जोडेको बताइन्छ । यी सबै सन्दर्भ जोडेर केनेडी हत्यामा इजरायल र त्यहाँका उग्र जायोनिष्टहरूको हात रहेको हुनसक्ने विविध आशङ्का र यससँग जोडिएर आउने षड्यन्त्रका कथाहरू व्यापक रूपमा चलेका भेटिन्छन् ।
गत सोमबार सार्वजनिक भएको दस्ताबेजमा धेरै ठाउँमा रहस्यमय रूपमा अक्षरहरू मेटाइएको भेटिएको छ । यसअघि पनि इजरायलको उल्लेख भएका पृष्ठहरू मेटिएको वा अक्षर नबुझिने बनाइएको आरोप लाग्ने गरेको थियो । हाल प्रारम्भिक अध्ययनमा केही पत्रकारले अझै पनि मुख्य सूचना सार्वजनिक नगरेर कतै ‘आँखामा छारो हाल्ने’ खालको काम भएको हो कि भन्ने आशङ्का गरेका छन् ।
दस्ताबेजको आधारमा अहिलेसम्म भएका विश्लेषणहरूले हत्याको योजना बनाउने वा हत्यामा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा इजरायलको संलग्नता भएको प्रमाणित गरेका भने छैनन् । यद्यपि दस्ताबेजहरूमा भएको सम्पादनले अझै प्रश्न गर्ने ठाउँ भने कायमै राखिदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘इन्टरमोडल यातायात विकास समिति अब छिट्टै प्राधिकरण बन्छ’
-
मुख्यमन्त्री कँडेलले मन्त्री र सचिवलाई भने– दिन बिताउने कुराको छुट छैन
-
नदीमा बेपत्ता भएका भारतीय नागरिक पाँच दिनपछि मृत भेटिए
-
सेयर बजारमा ५३ अंकको ‘पहिरो’, बढेको कारोबारले देखायो आशा
-
प्रेस चौतारी नेपालको १० औँ महाधिवेशन विराटनगरमा सुरु
-
नाबालिग पिताको सन्तानको आमा बनेको खुलासापछि आइसल्याण्डकी शिक्षा मन्त्रीले दिइन् राजीनामा